Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पशुपति मन्दिर २४ घण्टा खुल्ला

काठमाडौं-महाशिवरात्रि पर्वमा पशुपति क्षेत्र विकास कोषले चौबीसै घन्टा दर्शनको व्यवस्था मिलाउने भएको छ। कोषका सदस्यसचिव गोविन्द टण्डनले यस वर्ष भगवानको शृंगार र भोगको समयमा समेत पशुपतिनाथका ढोकाहरु खुलै रहने जनाए।                                                
                                                                                                   मंगलबारको महाशिवरात्रि पर्वमा बिहान सबेरै ३ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म अर्थात चौबीसै घन्टा पशुपतिनाथका ढोकाहरु खुला रहने जनाए। यसका लागि सदस्यसचिव टण्डनले पशुपतिनाथका भट्ट र भण्डारीहरुको स्वीकृति लिइसकेको जनाए। 'यस वर्ष हामीले पशुपतिनाथको उत्तर, पूर्व र दक्षिण गरी तीनै ढोकामा सिसासहितको फ्रेम राख्दैछौं,' टण्डनले भने, 'मन्दिरभित्र छिरेपछि टाढैबाट सिसामा भगवान शिवको ज्योतिर्लिंग दर्शन गर्न सकिनेछ।' मन्दिरका मूल भण्डारी देवमान राजभण्डारीका अनुसार शिवरात्रि पर्वमा भक्तले दर्शनका लागि धेरै समय कुर्नुपर्ने छैन। अन्य दिनमा दिउसो १२ बजेदेखि १ बजेसम्म शृंगार हुने समयमा दक्षिण, उत्तर र पूर्वको ढोका बन्द हुन्छ। शृंगार १ बजे सकेपछि १५ मिनेटका लागि मात्र चारै ढोका खुल्छन्। त्यसपछि साढे १ बजेदेखि २ बजेसम्म भगवान पशुपतिनाथको भोगको समय भएकाले फेरि चारै ढोका बन्द हुन्छ। भोगपछि केहीबेर चारै ढोका खुला गरिन्छ। 'त्यसपछि भट्ट–भण्डारीहरु मन्दिर भित्रबाट निस्कनुहुन्छ र चारै ढोका २ बजेदेखि ५ बजेसम्मका लागि बन्द गरिन्छ,' कोषका सदस्यसचिव तारानाथ सुवेदीले नागरिकसँग भने, 'यही समय भक्तको निकै भीड हुने र चारै ढोका बन्द हुँदा दर्शनका लागि निकै सास्ती खेप्नुपर्ने भएको यस वर्ष चौबीसै घन्टा चारै ढोका खोलिने भएको हो।'

 आइतबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव टण्डनले सःशुल्क दर्शन गर्ने दर्शनार्थीको लाइन व्यवस्थापन र सहज दर्शनका लागि कोषले छुट्टै सुरक्षाकर्मी व्यवस्था गरेको जनाए। पर्व व्यवस्थापनका लागि कोषले ९० लाख रुपैयाँ छुट्याएको उनले खुलाए। आइतबार एकादशीको दिन नागा बाबाहरु मन्दिरभित्र हरहर महादेव भन्दै प्रवेश गरेका थिए। 'यस वर्ष ६ सय नागाबाबा भारतका विभिन्न स्थानबाट आउनुभएको छ,' सदस्यसचिव टण्डनले भने, 'अब उहाँहरु तीन दिन मन्दिरभित्रै बस्नुहुन्छ। तीन दिन मन्दिरभित्र भक्तले चढाएका भेटीप्रसादमा समेत नागाबाबाकै हक हुनेछ।' कोषका कोषाध्यक्ष तारानाथ सुवेदीका अनुसार यस वर्ष स्वदेशी र विदेशी गरी कुल १० लाख भक्त पशुपति क्षेत्र आउनेछन्। पशुपतिनाथको दर्शन भने ५ लाखले गर्ने कोषको अनुमान छ। यसपटक पनि मलेसिया, श्रीलंका, इन्डोनेसिया, भारत, सिंगापुरका हिन्दु भक्त आउने जानकारी कोषलाई प्राप्त भएको उनले जनाए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतबाट ४ हजार सुरक्षाकर्मी दर्शनार्थीको सुरक्षामा खटिनेछन्। मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाई पर्वको ५ दिन अगाडिदेखि नै शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने व्यवस्था मिलाइएको कोषले जनाएको छ। पर्वमा तिलगंगा क्षेत्रको पार्किङ स्थलमा तीर्थयात्री–दर्शनार्थी र पर्यटक(विदेशी)का वाहन राख्ने व्यवस्था मिलाइएको छ। पासवाहक वाहनलाई देवउद्यान र अमालकोटस्थित कोष कार्यालयमा पार्किङको व्यवस्था गरिएको छ। पासवाला र सरकारी वाहन पार्किङको व्यवस्था महानगरीय प्रहरी वृत्त, गौशालामा मिलाइएको छ।

 सःशुल्क टिकटवाहक, पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीको सवारी साधनको पार्किङ भने सिफलमा रहनेछ। यसैगरी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको सवारी पार्किङ गुह्येश्वरी पारि गरिनेछ। नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर छिर्न सकिनेछ। मन्दिर प्रांगणबाहिर जयबागेश्वरी, मित्रपार्क, गौशाला, तिलगंगा गरी ६ ठाउँमा चन्दन वितरणको व्यवस्था कोषले गरेको छ। यसैगरी एक हजारको टिकटसाथ सःशुल्क दर्शन गर्नेका लागि सिफलबाट कोष कार्यालय, देवउद्यानमा सम्पर्क राख्ने गरी कोष कार्यालयबाटै दर्शनको व्यवस्था मिलाइनेछ। मेला अवधिभर कोषले भक्तका लागि आवास, भोजन तथा स्वास्थ्य शिविरको समेत व्यवस्था गरेको छ। टण्डनले भने, '१० लाख भक्तलाई व्यवस्थापन गर्न मन्दिर प्रांगणभित्र १६ र बाहिर १८ र कोर क्षेत्रबाहिरका लाइनमा २२ स्वयंसेवी संस्थाबाट ५ हजार स्वयंसेवक परिचालन गरिनेछ।' उनले एसएमएस सेवामार्फत महाशिवरात्रिको सन्देश दिन नेपाल प्रवेश गर्ने नाका (विराटनगर, वीरगन्ज, सुनौली, भैरहवा, काँकरभिट्टा, महेन्द्रनगर, धनगढी)मा स्वागत तुल ब्यानर राख्ने व्यवस्था मिलाइएको जनाए। तस्बिरहरु : केशव थोकर, प्रतीक रायमाझी - See more at: Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/