अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत यात्रा अमेरिकी सरकारलाई निकै महँगो हुने गरेको तथ्य फेला परेको छ । सन् २०१० मा जब ओबामा भारत भ्रमणमा गएका थिए त्यतिबेला उनको प्रत्येक दिनको खर्च करिब १९,६९,१२,००,००० नेपाली रुपैयाँ पर्न आएको थियो ।
भारतको ६६ औँ गणतन्त्र दिवसमा विशेष अतिथिको रुपमा भारत पुगेका ओबामाको यस पटकको खर्च त्यो भन्दा पनि बढि हुने भारतका न्यूज च्यानलहरुले बताएका छन् । पछिल्लो भारत भ्रमणमा ओबामाले ८०० सुरक्षाकर्मीहरुलाई भारतमा लगेका थिए भने यसपटक उनले त्यसको दोब्बर अर्थात १,६०० सुरक्षाकर्मीहरुलाई आफूसँगै लगेका छन् । पछिल्लो भ्रमणमा ओबामा मुम्बईको ताज होटलमा बसेका थिए जहाँ सन् २००८ मा भएको आतंककारी हमलामा कम्तीमा पनि १७३ मानिसहरुको मृत्यु भएको थियो ।
ओबामाको सुरक्षालाई ध्यानमा राखेर ताज होटलको ५७० वटै कोठाहरु बुक गरिएका थिए । यसका साथै उनको सुरक्षाको लागि हेलिकप्टर, मुम्बई समुन्द्री तटमा अमेरिकी र भारतीय नेवीको जहाज पनि तैनाथ गरिएको थियो ।
सूत्रका अनुसार ओबामाको सुरक्षाका लागि अमेरिकी सरकारले ठूलै रकम खर्च गर्नुपरेको थियो । एक सूत्रका अनुसार अमेरिकी राष्ट्रपतिको सुरक्षा, खाने बस्ने सुविधा र भ्रमणसँग जोडिएका अन्य कुराहरुमा प्रतिदिन लगभग २०० मिलियन डलरको खर्च आएको थियो ।