Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रभुले ग्रान्ड किन्ने समझदारी

काठमाडौं- पछिल्लो पटक राष्ट्रियस्तरको वाणिज्य बैंक बनेको प्रभु बैंकले अर्को वाणिज्य बैंक ग्रान्ड बैंक नेपाल खरिद (एक्विजिसन) गर्ने भएको छ। यसका लागि दुवै बैंकबीच बिहीबार प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। एक्विजिसन गर्दा ग्रान्डको प्रतिसेयर मूल्य ६७ रुपैयाँ कायम गर्ने सहमति भएको छ।
'यसखालको खरिद 'क' वर्गको वाणिज्य बैंक तहमा पहिलोपटक भएको हो,' प्रभु बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बिहीबार नागरिकसँग भने, 'यसबाट वित्तीय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास छ।'


प्रभु बैंक 'क' वर्गकै अर्को वाणिज्य बैंक किस्ट, 'ख' वर्गका विकास बैंकहरू प्रभु विकास बैंक र गौरीशंकर विकास बैंक तथा 'ग' वर्गको फाइनान्स कम्पनी जेनिथ फाइनान्स एकआपसमा गाभिएपछि वाणिज्य बैंक बनेको थियो। प्रभु बैंकले गत भदौ २९ बाट औपचारिक कारोबार सुरु गरेको थियो।
एक्विजिसनको प्रारम्भिक सम्झौतापत्रमा प्रभुका तर्फबाट अध्यक्ष देवीप्रकाश भट्टचन र ग्रान्डका तर्फबाट अध्यक्ष स्वरू गुरुङ कोनेले हस्ताक्षर गरेका छन्। प्रभुको मर्जर/एक्विजिनसन समितिले लामो छलफल र गहन विश्लेषणपछि लिएको यो निर्णयबाट मुलुकको बैंकिङ क्षेत्रमा रहेको आफ्नो छवि र पहुँच थप फराकिलो पार्न उल्लेख्य सहयोग पुग्ने जनाएको छ।
एक्विजिसनपछि प्रभुको चुक्ता पुँजी ५ अर्ब २० करोड ८८ लाख रुपैयाँ पुग्ने छ। त्यसैगरी निक्षेप ४५ अर्ब ९० करोड ५३ लाख पुग्ने छ भने कर्जा लगानी ३९ अर्ब ५ करोड ९३ लाख हुनेछ। त्यसपछि प्रभुको निस्त्रि्कय कर्जा अनुपात १६.१७ प्रतिशत तथा पुँजी कोष अनुपात १०.२० प्रतिशत हुनेछ। अब बैंकको शाखा संख्या १ सय २३ तथा एटिएम संख्या १ सय २४ पुग्ने छ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको ग्रान्ड बैंक भने खराब कर्जा उच्च भएका कारण घाटामा चलिरहेको थियो। आर्थिक वर्ष २०७०/७१ को वित्तीय विवरणअनुसार ग्रान्डको खराब कर्जा १९.०९ प्रतिशत पुगेको थियो भने यसले १ अर्ब ६० करोड रुपैयाँ घाटा बेहोेरेको थियो। पुँजी कोष अनुपात नपुगेपछि ग्रान्डलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरिरहेको छ। केन्द्रीय बैंकले ग्रान्डलाई आगामी फागुन मसान्तभित्र पुँजी कोष अनुपात १० प्रतिशत पुर्यारउन निर्देशन दिएको छ।
प्रभुसम्बद्ध अधिकारीका अनुसार ग्रान्डको सेयर प्रतिकित्ता ६७ रुपैयाँका दरले खरिद गर्न लागिएको हो। ग्रान्ड एक्विजिसनपछि चुक्ता पुँजीका आधारमा प्रभु निजी क्षेत्रका ठूला बैंकमध्ये एक भएको छ। प्रभुले किस्ट मर्ज गरेपछि झन्डै ३ अर्ब रुपैयाँहाराहारी ऋणको नोक्सानी व्यवस्था गरेको थियो। ग्रान्डले पनि लगभग २ अर्बबराबरको ऋणको नोक्सानी व्यवस्था गरेको थियो।
सम्बद्ध अधिकारीहरूका अनुसार दुवै बैंकले हालसम्म उठ्न नसकेको पुराना ऋण उठाउन थालिसकेका छन्। नोक्सानी व्यवस्थापन गरिसकेका ऋण उठाउन सके बैंकलाई अतिरिक्त आम्दानी हुने छ। ग्रान्ड बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदन प्राप्त भएपछि सेयर आदान–प्रदान अनुपात कायम गर्न तथा कर्मचारी सम्बन्धमा प्रभुको सञ्चालक समिति र संयुक्त एक्विजिसन समितिले निर्णय गरेअनुसार हुने सहमति पनि भएको छ।
त्यसैगरी एक्विजिनसपछि पनि ग्रान्डका कर्मचारीहरूको सेवा सुविधा भने यथावत नै रहने सहमति भएको छ। ग्रान्डको अवस्था वित्तीय रूपमा स्वस्थ नभएका कारण प्रभुका सर्त मानेको छ भने प्रभुले पनि कर्मचारी समायोजनलगायत सर्त मानेको छ।
'एक्विजिनसपछि प्रभु बैंक सञ्चालक समितिमा ग्रान्डका तर्फबाट कोही पनि नजनो सहमति पनि भएको छ,' सम्बद्ध एक अधिकारीले भने, 'बैंकको नाम प्रभु बैंक लिमिटेड नै रहने छ। प्रभुको माथिल्लो तहको व्यवस्थापनमा पनि ग्रान्डका कोही नजाने समेत सहमति भएको छ।'
'एक्विजिसनको प्रक्रिया अगाडि बढेकाले प्रभु बैंक थप बलियो भएर आउँछ भन्ने सन्देश गएको छ,' प्रभुका अध्यक्ष भट्टचनले भने, 'यसबाट मुलुकको अर्थतन्त्रमा पनि केही योगदान पुग्ने विश्वास छ।'
यसअघि प्रभु र किस्टबीच २०७० चैत २० गते एकापसमा गाभिने (मर्ज) समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि गौरीशंकर र जेनिथ पनि मर्जका लागि आएका थिए। प्रभु र किस्ट गाभिएपछि बनेको प्रभु बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ पुगेको थियो। ३२ अर्ब निक्षेप संकलन गरेको बैंकले २३ अर्ब ऋण लगानी गरेको थियो। ग्राहक संख्या ६ लाख नाघेको थियो भने १ सय १२ शाखा भएका थिए।
प्रभुले त्यसअघि पनि सफलतापूर्वक मर्जर सम्पन्न गरिसकेको थियो। प्रभु फाइनान्स, समवृद्धि विकास बैंक र वैभव फाइनान्स एकआपसमा गाभिएर प्रभु विकास बैंक बनेको थियो। किस्ट र प्रभु मर्जपछि पनि अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्ज प्रक्रियामा सँगसँगै लैजान वृहत मर्जर खुला राखिएको थियो। त्यसपछि गौरीशंकर र जेनिथ गाभिएका थिए।
Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/