Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

महिमा र भर्त्सनाबीच पृथ्वीनारायण

काठमाडौं, पुस २७ - 'पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।'
यो पंक्ति कांग्रेस नेता प्रदीप गिरिद्वारा सम्पादित पुस्तक 'विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख' को पृष्ठ १७६ मा उल्लेख छ । शाहलाई राष्ट्रिय एकताका प्रतीक र श्री ५ बडामहाराजाधिराजका रूपमा पुज्नेहरू एकातिर छन् । बाबा गोरखनाथले दही पिलाउन खोज्दा शाहले खुट्टामा पोखाएको कथामा कहाँबाट किंवदन्ती सकिन्छ र इतिहास सुरु हुन्छ, खुट्टयाउन गाह्रो छ ।


'गोरखा साम्राज्यका क्रूर राजा' लाई आधुनिक नेपालमा निषेध गर्नुपर्छ भन्नेहरू अर्कातिर छन् । सामन्ती राज्य विस्तार गर्ने, अरू राज्यको पहिचान निल्ने साम्राज्यवादीका रूपमा उनीहरू शाहलाई बुझ्छन् । बदलिँदो युगसँगै राष्ट्रिय एकताका नयाँ प्रतीकहरू खोजिनुपर्ने उनीहरूको मत छ । अबको नेपालमा एउटा निश्चित शासकमात्रै नायक हुन नसक्ने, बहुनायक खोजिनुपर्ने उनीहरूको माग छ ।
लम्बिँदो संक्रमणकाल र बढदो अन्योलबीच विवादहरू सतहमा छन् । शाहमाथि यतिका सूचना, जानकारी उपलब्ध छन् । एउटा प्रश्न भने थाती नै छ, आखिर को हुन् पृथ्वीनारायण शाह ? यति महत्त्वसाथ आजका मितिसम्म सम्भिmनुपर्ने त्यस्तो के छ उनीभित्र ? बितेर गएको २ सय ४० वर्षपछि पनि समर्थन र विरोधमा सर्वसाधारण बाँडिनुपर्ने त्यस्तो के छ उनीभित्र ?
शाहलाई हेर्नेबारे पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईका धारणा बीपीसँग धेरै हदसम्म मिल्दाजुल्दा भेटिए । बीपी लेख्छन्, '१८१६ सालपछि नेपाल देश त बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा त खडा भयो, तर त्यसमा आत्मा आउन सकेन । फ्रम बनाइयो, तर तस्बिर राखिएन । नेपालको सन्दर्भमा एकतन्त्रीय हुकुमी राज्य राष्ट्रियताको घातक हो ।' (पृष्ठ १७९, उही)
कान्तिपुरसँगको कुराकानीमा भट्टराई भन्छन्, 'इतिहासको त्यो कालखण्डले शाहजस्तो विशिष्ट पात्र माग गथ्र्यो नै । दक्षिण एसियामा अंग्रेज उपनिवेश विस्तार हुँदै गर्दा यहाँका साना राज्य मिलाएर बलियो राज्य बनाउने उनको प्रयास त्यो बेला जस्तो भए पनि नतिजा सही निस्कियो ।'
शाहले गोरखाजस्तो विकट ठाउँको सामान्य आर्थिक हैसियतका राजा हुँदाहुँदै राज्य विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए । काठमाडौंका मल्ल राजाहरू शक्ति र सम्पत्ति दुवैले बलियो अवस्थामा थिए । परस्पर नमिल्ने मल्ल राजाहरूले राज्य विस्तारको पहल गर्ने कुनै छाँट थिएन । अंग्रेजहरू दक्षिण एसियाभरि उपनिवेश फैलाउँदै अघि बढिरहेका बेला शाह साना राज्यहरूको अन्तरविरोध पहिल्याउँदै सीमित सैन्यबल र सामग्रीका भरमा कब्जा गर्दै थिए ।
भट्टराईको भनाइमा छापामार युद्धकलाका माध्यमबाट शाहले त्यत्रो शक्ति आर्जन गर्न सकेका थिए । उनको आक्रमण शैली सैन्यमात्रै थिएन, घेराबन्दी, नाकाबन्दीमा आधारित थियो । 'शाहको चिन्तन यो भूखण्डमा राज्य विस्तार गर्ने नै थियो, तर यतिमात्रै बुझियो भने अपूरो हुन्छ,' उनी थप्छन्, 'यहाँका ससाना राज्यले अंग्रेजसँग अलग-अलग लड्न सम्भवै थिएन । शाहले ठीक यहाँनेर सकारात्मक भूमिका खेले ।'
शाहलाई सामन्त राजा भनी अथ्र्याउँदा त्यस बेलाको समाज कस्तो थियो भनी हेर्नु आवश्यक हुने भट्टराईको धारणा छ । कविला युगको राज्यलाई सामन्ती चरित्र दिन शाहको योगदान रहेको उनी सम्झन्छन् । 'शाहले सामन्ती केन्द्रीकरणको नेतृत्व गरे । विजयका क्रममा कीर्तिपुरका नेवार, तामाङलगायतको राज्य दख्खल गर्दा अत्याचार भएका छन्,' भट्टराई भन्छन्, 'जुनसुकै युद्धमा यस्तो हुन सक्छ । यसलाई सकारात्मक र नकारात्मक परिणामको योगफलबाट मूल्यांकन गर्न सक्नुपर्छ ।'
एमालेको सक्रिय राजनीतिबाट २०६५ मा बिदा लिएका इतिहास र संस्कृति अध्येता मोदनाथ प्रश्रित यतिबेला शाहलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्वीकार गरिनुपर्ने, पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाउन फेरि थाल्नुपर्ने मागका कारण चर्चामा छन् । आफू एमालेमा रहँदा पनि पार्टीभित्र शाहलाई उदार भएर हेर्न सक्नुपर्ने मान्यता राख्ने गरेको उनी सम्झन्छन् । जनताको मन विभाजित हुँदै गएका बेला शाह र राष्ट्रिय एकताको सन्दर्भ उल्लेख्य रहेको उनको भनाइ छ ।  
'नेपाल पृथ्वीनारायणको पालामा मात्रै एकीकृत भएको होइन । जनक राजाले मिथिलामा बसेर हिमालयदेखि गंगासम्म एकीकरण गरे, यलम्बरले किराँत राज्य, मानदेवले लिच्छवि राज्य जोडे, यक्ष मल्लले मल्ल राज्य,' प्रश्रित भन्छन्, 'नेपाल टुक्रिने, जोडिने चलिरहन्थ्यो । काठमाडौंका राजारजौटा लडिरहने, देशविकास भने नहुने भइरह्यो । ललितपुरमा त एक वर्षभित्र छ राजा फेरिएको इतिहास भेटिन्छ । पृथ्वीनारायणको उदय यस्तो सन्दर्भमा भएको छ ।'
पछिल्ला दिनमा केही दल र नेताले शाहको विम्ब आफ्नो राजनीतिक उद्देश्यसँग जोड्न खोजेको प्रश्रितलाई निको लागेको छैन । तर संघीयताजस्ता मुद्दाले राष्ट्रिय एकतालाई राम्रो नगर्नेमा उत्तिकै जोड दिन्छन् । 'हिजो राजासँग बसेका साथीहरूलाई पृथ्वीनारायणको सहारा लिएर फेरि सत्तामा जान पाइएला भन्ने लाग्दो हो, अब राजतन्त्र फर्काउन सम्भव छैन,' प्रश्रित थप्छन्, 'यति हो, हरेक युगको इतिहासमा निश्चित नायकको भूमिका हुन्छ । उसको भूमिका बिस्र्यौं भने उचित हुँदैन ।'
एमाओवादी नेता भट्टराईका अनुसार नेपालको इतिहासमा गौतम बुद्धपछि शाहमात्रै त्यस्तो ऐतिहासिक व्यक्ति हुन पुगे, जसको नाम लिएर नेपालीले गर्व गर्न सक्छन् । नेपालबाहिर चिनाउन सक्छन् । सिन्धुली, बुटवल, नालापानी, मकवानपुरका युद्धमा अंग्रेजको डटेर सामना गर्ने र धपाउनसमेत सक्षम युद्धको नेतृत्व गर्ने शाहको क्षमता असामान्य रहेको उनी स्वीकार्छन् । तर चिहानबाट खोतलेर शाहको देवत्वकरण गर्ने मान्यताको भट्टराई विपक्षमा छन् । उत्पीडित, जनजाति, मधेसी, दलितको विरुद्धमा शाहलाई एकताका प्रतीक भन्दै उभ्याउन खोजिएकामा उनी आपत्तिसमेत प्रकट गर्छन् । 'शाहलाई राष्ट्रिय एकताको प्रतीक बनाउने नाममा अरूलाई अराष्ट्रिय देखाउने प्रयास भइरहेको छ । शासकका नाममा दिवस मनाउने सामन्ती परम्परा आवश्यक छैन,' उनी थप्छन्, 'म शाहको अपमान गर्ने पक्षमा पटक्कै छैन । तर सम्मान गर्ने अरू तरिका अपनाउनुपर्छ ।'
परराष्ट्रनीति र कूटनीतिमाथि शाहले जस्तो विशद् व्याख्या आजसम्म कसैले गर्न नसकेको जिकिर गर्नेहरू पनि छन् । पूर्वसचिव मोहन बञ्जाडे विदेशीले लेखिदिएको इतिहास पत्याएर राष्ट्रिय धरोहरप्रति अपमान गर्ने साहस केही नेपालीमा पलाएको ठान्छन् । 'दिव्योपदेश' मात्रै पढ्न सक्यो भने शाहको योगदान के रहेछ भन्ने थाहा पाउन सकिन्छ,' उनी भन्छन्, '२ सय वर्ष बितिसक्दा पनि शाहलाई त्यसै सम्झनुपर्ने अवस्था आएको होइन ।'
भट्टराई पनि शाहको दिव्योपदेश पढदा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुने बताउँछन् । 'आज पनि उत्तिकै महत्त्वपूर्ण छ,' उनी थप्छन्, 'विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मागनिर्देशन आधारभूत रूपमा आज पनि सही छ ।'
त्यसो त एमाओवादीमाथि शाहको शालिकहरू युद्धकालमा फोडेको, ऐतिहासिक महत्त्वका थुप्रै सामग्री नष्ट गरेको सिकायत छँदै छ । भट्टराई भने पार्टीको त्यस्तो कुनै नीति नरहेको प्रस्टयाउँछन् । कार्यकर्ताले पुरानो सत्ताप्रतिको आवेगमा आएर आक्रमण गरेको हुन सक्ने उनी अथ्र्याउँछन् ।
शाहलाई कुनै निश्चित समूहले बढाईचढाई गर्ने, अर्को पक्षले निषेध गर्ने अवस्था देखिनु विडम्बनापूर्ण रहेको प्रश्रति ठान्छन् । राजावादी कमल थापा र आफूहरू एउटै समूहमा नभएको तर शाहलाई सम्झने कुरामा दलविशेषको भेदभाव राख्न नहुने उनको जोड छ । शुक्रबारदेखि नै शाहमाथि भृकुटीमण्डलमा कार्यक्रम थालेका प्रश्रति र अगुवाहरूले आइतबार जुलुससहित सिंहदरबारअगाडि शालिकमा माल्यार्पण गरेर पृथ्वीनारायणलाई सम्झनेछन् । त्यसो त प्रश्रित आफैं संघीयता, धर्मनिरपेक्षताजस्ता पछिल्ला एजेन्डाप्रति असहमति राख्छन् ।
'हिजो देश बनाउन योगदान दिएकाहरूलाई गाली गर्ने होइन, सम्मान गर्न सिक्यौं भने हामीलाई पनि सन्तानहरूले सम्मान गर्न सिक्छन्,' प्रश्रित भन्छन्, 'अहिले पार्टी होइन गुट-गुटमा विभाजित भएको इतिहास पढ्यो भने आउने पुस्ताले हामीलाई गाली गर्न सक्छ । हामीले पुर्खाको सम्मान गर्न सिक्यौं भने उनीहरूले पनि हाम्रो सम्मान गर्न सिक्छन् ।'
राष्ट्रियताका नयाँ विम्बहरू खोजिनु उचित भएको तर त्यसका लागि शाहलाई गाली गरिरहनु नपर्ने प्रश्रितको ठहर छ । 'बाबुआमालाई वर्षमा एकपल्ट श्राद्ध गरेर सम्झने संस्कार भएको नेपालीले अंग्रेज र बाइसौं, चौबीसौं राज्यको झमेलाबाट मुक्ति दिने शाहलाई सम्झनुमा के समस्या छ ?' प्रश्रित प्रश्न गर्छन् । त्यस बेलाको इतिहास पढ्ने हो भने को अग्रगामी, को पश्चगामी सहजै छुट्टनिे उनको भनाइ छ । जनताले मतदान गरेर राज्य बनाउने चलन शाहको पालामा कहीं नभएकाले आजको लोकतन्त्रसँग शाहको तुलना गरेर नहुने उनको भनाइ छ । इतिहासको विकास प्रक्रियालाई बुझ्न सक्नुपर्ने प्रश्रित बताउँछन् ।
परम्परा र प्रगतिको लडाइँमा शाह प्रशंसा र विरोधका पात्र भइरहेका छन् । उनी जन्मेको मितिलाई आधार मान्दै मनाउँदै आएको पृथ्वी जयन्ती गणतान्त्रिक सरकारले बन्द गरिदिएको छ भने शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्दै राष्ट्रिय एकता दिवस मान्ने परम्परा पनि स्थगित छ । एकथरी राजनीतिक दल, नेता उक्त दिवस फेरि ब्युँताउनुपर्ने माग गर्छन् । गणतन्त्र आइसकेको स्थितिमा शाहको भूमिकाको चर्चा गरेर मुलुकलाई पछाडि फर्काउन लागेको ठान्नेहरू पनि छँदै छन् ।
फेरि पनि बीपीकै कुरा । उनी २०३२ सालमा तरुण पत्रिकाका लागि लेख्छन्, 'राष्ट्रियताको चर्चा पनि राजाको युगको अर्थमा होइन, वर्तमान युगको सन्दर्भमा हुनुपर्छ, जनयुगको अर्थमा हुनुपर्छ । एउटा ऐतिहासिक तथ्य के हो भने हामी जुन कुरालाई राष्ट्रियता भन्छौं, त्यो पनि वर्तमान युगको देन हो । (राजनीतिक अभिलेख, पृष्ठ १८८-१८९) ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/