काठमाडौं, पुस २७ - स्थायी, सुविधालगायतका माग गर्दै पत्रकार आन्दोलित भएपछि मर्कन्टाइल कम्युनिकेसनले सञ्चालन गर्दै आएको नेपालन्यूज डट कम बन्द व्यवस्थापनले बन्द गर्ने घोषणा गरेको छ ।
मर्कन्टाइल कम्युनिकेसनका अध्यक्ष सञ्जीव राज भण्डारीले इमेलमार्फत् नेपालन्यूज डट कम न्यूज पोर्टल घाटामा गएको भन्दै बन्द गर्ने पत्र पठाएका हुन् । उनको पत्र प्रशासन प्रमुख मधु अमात्यले पढेका थिए ।
नेपालन्यूज डट कम बन्द भएसँगै त्यहाँ कार्यरत १८ जना पत्रकार, प्राविधिक र कर्मचारी बेरोजगार भएका छन् ।
• घाटा थेग्न सकेनौं : व्यवस्थापन
मर्कन्टाइल कम्युनिकेसनका अध्यक्ष भण्डारीले अनलाइनमा सूचना जारी गर्दै संस्थाको मुख्य बिजनेस अरु नै रहेको उल्लेख गर्दै बन्द गर्नुपरेको बताएका छन् । उनले अन्य व्यवसायबाट आर्थिक सहायता गर्नुपरेकाले निरन्तरता दिन नसकिएको बताएका छन् ।
मर्कन्टाइल कम्युनिकेसनका अध्यक्ष भण्डारीले नेपालन्यूजबाट समाचार अपलोडको काम बन्द गरेको घोषणा गरे पनि टेलिभिजन, एफएम र साप्ताहिक पत्रिकाको सामाग्री अपलोडलाई निरन्तरता दिने जनाएका छन् । अभिलेख पनि सुरक्षित रहनेछ ।
• चलाख्याईं गरियोः पत्रकार
'पत्रकारलाई छल्न व्यवस्थापनले समाचार अपलोडमात्रै बन्द गर्ने घोषणा गरेको छ,' नेपालन्यूजमा लामो समयदेखि काम गर्दै आएका पत्रकार भन्छन्, 'सञ्चालन भइरहेको वेबसाइट सट डाउन गर्ने भनिएको छैन । व्यवस्थापनले चलाख्याईं गरेर पत्रकार बिदा गर्नेजस्तो देखिएको छ ।'
लामो समय माग पूरा गर्न आलटाल गरेपछि कार्यरत पत्रकारले नेपाल पत्रकार महासंघलाई गुहारेका थिए । महासंघको प्रतिष्ठानतर्फका केन्द्रीय सदस्य सुरज आचार्य, केन्द्रीय सदस्य दीपेन्द्र कुँवरको मध्यस्थतामा व्यवस्थापनसँग वार्ता पनि भएको थियो ।
• संस्था नै बन्द गर्न मिल्दैनः महासंघ
पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले माग राखेकै आधारमा मिडिया नै बन्द गर्न नमिल्ने बताए । 'तर व्यवस्थापनले आधिकारिकरुपमा संस्था बन्द गर्ने भनेको छैन,' उनले भने, 'हामी छलफलकोक्रममा छौं ।' व्यवस्थापनसँगको वार्तामा पटक पटक बसेका महासंघको प्रतिष्ठानतर्फका केन्द्रीय सदस्य सुरज आचार्यले मर्कन्टाइलका अध्यक्ष देशबाहिर रहेकाले स्पष्ट कुरा व्यवस्थापनको तर्फबाट नआएको बताए ।
सन् १९९८ मा डोमेन दर्ता भएको नेपालन्यूज डट कम सन् २००० देखि सञ्चालित छ । नेपालन्यूज नेपालको पहिलो अनलाइन पोर्टल हो । अंग्रेजी भाषामा सञ्चालित नेपालन्यूजले सुरु सुरुमा नेपालका अन्य दैनिक, साप्ताहिक अखबारका समाचार पनि प्रकाशन गर्दै आएको थियो ।
नेपालको 'पायनियर' न्यूज पोर्टल बन्द भएकोमा सामाजिक सञ्चालमा अनलाइन पत्रकाहरुले चासो जनाएका छन् ।