Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

संसदमा कुस्तीबाजको झल्को

काठमाडौं– ‘ल आइज भिड्न...'
‘के गर्छस्? तँ आइज ...'
‘तैंले के खोजेको? सक्छस् भने आइज...!'
‘भ्रष्टाचारी मन्त्रीसँग भिड्न तयार छौं।'
‘भ्रष्टाचारीले नै मन्त्रीलाई भ्रष्टाचारी भन्ने?'
ng zoom 01
माथिको संवाद कुनै घघडान भिडन्तअघि रिङमा एकअर्कालाई उत्तेजित बनाइरहेका कुस्तीबाजको होइन। यो दृश्य र संवाद हो, नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार सत्तारुढ कांग्रेस/एमाले र राप्रपा नेपालका सांसदबीचको, जो बेल र सिटबाट उठेर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दै थिए।
न्यूनतम मर्यादा र लज्जासम्म ख्याल नगरी उनीहरू एकअर्कामाथि तथानाम बोल्दै थिए। पाखुरा सुर्कंदै, कोटका फेर सार्दै आक्रोशका फोहरा हानिरहेका थिए। मानौं, एकैछिनमा त्यहाँ घमासान भिडन्त हुँदैछ र दुवै पक्षका कुस्तीबाज विपक्षीलाई हराउन अधैर्य छन्।
घटनाको रचनास्रोत थियो– कात्तिक ११ गते राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा भएको प्रहरी ‘धरपकड'। हिन्दुराष्ट्रको माग गर्दै लामो समयदेखि त्यहाँ बसिरहेकाहरूले अनशन नै थालेपछि सरकारले प्रहरी लगाएर हटाइदिएको थियो त्यसै दिन।
राप्रपा नेपाल त्यही घटनालाई मुद्दा बनाएर संसदमा विरोध जनाउँदै थियो। शान्तिपूर्ण विरोध, अनशन गर्न पाउने अधिकारविरुद्ध धरपकड गरेको भन्दै शुक्रबार बिहान संसद सुरु हुनासाथ राप्रपा नेपालका अध्यक्ष कमल थापाले त्यसबारे गृहमन्त्रीको जवाफ मागे।
साढे ११ बजे सुरु भएको बैठकमा थापालाई जवाफ दिन गृहमन्त्री वामदेव गौतम रोस्ट्रममा उभिए। उनले बोल्न मात्र के थालेका थिए, थापाको नेतृत्वमा राप्रपा नेपालका सांसद उत्तेजित हुँदै बेल घेराउ गर्न पुगे। गृहमन्त्रीले जवाफ दिने क्रममा ‘हिन्दुहरूको अनादर हुने किसिमले अभिव्यक्ति दिएको' भन्दै उनीहरू नाराबाजी गर्न थाले।
‘भ्रष्टाचारी मन्त्री तल ओर्ले हामी भिड्न तयार छौं' भन्दै उनीहरूले एकोहोरो नाराबाजी गर्न थालेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सम्झाउन थाले, ‘तपार्इंहरूले प्रयोग गरेका शब्दमा विचार पुर्याङउनुहोस्, बेलमा नआई आफ्नो सिटबाट नियमापत्ति गर्न सक्नुहुन्छ।'
सभामुखको पनि केही सीप लागेन। उनले मध्याह्न १२ बजे बैठक स्थगित गरे, आधा घन्टाका लागि।
दिनभर संसद अवरोध हटाउन र समस्या सुल्झाउन राप्रपा नेपालका नेतासित मन्त्रीहरूले वार्ता गरे, तर सहमति जुटेन।
पाँच घन्टापछि साँझ ५ बजे बैठक पुनः सुरु भयो। राप्रपा नेपालका सांसदले गृहमन्त्रीले आफ्नो अभिव्यक्ति गलत भएको स्विकारेर माफी माग्दै आफूहरूको माग सम्बोधन गर्नुपर्ने अडानमा फेरि बैठक अवरुद्ध पारे। त्यसविरुद्ध कांग्रेस–एमालेका सांसद उत्रिएपछि बैठक १० मिनेट पनि चल्न सकेन। सभामुखले आइतबारसम्मलाई बैठकै स्थगित गरिदिए।
गृहमन्त्री गौतमले रोस्ट्रममा उक्लिएर माइक समाइनसक्दै अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपालका सबै सांसद बेल घेराउ गर्न पुगेका थिए। तत्कालै पार्टी उपाध्यक्षसमेत रहेका गृहमन्त्रीको बचाउ गर्दै एमालेका प्रमुख सचेतक अग्नि खरेल ‘मन्त्रीले बोल्न पाउनुपर्छ' भन्दै उठे।
कांग्रेसका रामहरि खतिवडा पनि ओखलढुंगामा जिप दुर्घटनाका घाइतेबारे आफूहरूले बोल्न पाउनुपर्छ भन्दै आफ्नो स्थानबाट उठेर बेलतर्फ बढे। त्यसपछि थापासहितका सांसद ‘भिड्न आइज' भन्दै कांग्रेस–एमालेका सांसदमाथि ओइरिएका थिए।
उनीहरू कोटका फेर दायाँबायाँ सार्दै ‘आउनुहोस्, हामीलाई कुट्नोस्' भन्दै सत्तारुढ दलका सांसदतिर अघि बढेपछि दुवैतर्फबाट चर्काचर्की भयो। ‘तैंले सक्ने भए आइज' भन्दै दुवैतर्फका सांसद अघि बढे। सुन्नै नसकिने मनपरी गालीगलौज चर्कियो। स्थिति अनियन्त्रितझैं देखियो।
अध्यक्ष थापालाई भाइ गणेश थापासहित अन्य सांसदले साथ दिएका थिए। कांग्रेसका कञ्चनवादे श्रेष्ठ, बहादुरसिंह लामा, वीरबहादुर बलायर, सरिता प्रसाईं, एमालेका राजन भट्टराई, सुशीला नेपाललगायत सांसद पनि राप्रपा नेपालका सांसदमाथि जाइलागेपछि सभामुख नेम्वाङ हैरान देखिए। उनले पटक–पटक आफ्नो कुरा सुन्न आग्रह गरेका थिए। कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र एमालेका प्रमुख सचेतक खरेललाई पनि आफ्ना सांसदलाई रोक्न हम्मे हम्मे परेको थियो।
सत्तारुढ दलका संासदले राप्रपा नेपालका संासदलाई ‘सक्ने भए अघि बढ्न' चुनौती दिइरहँदा गृहमन्त्री भने रोस्ट्रममा उभिएर तमासा हेरिरहेका थिए।
पहिलोपटक संसद बैठक स्थगित भएपछि पनि एकआपसमा चर्काचर्की सकिएन। मन्त्रीहरूसँग भएको वार्तामा राप्रपा नेपालका सांसदले गृहमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए।
गृहमन्त्री गौतमले बिहान जवाफ दिने क्रममा कानुन उल्लंघन गर्ने जोसुकै कारबाहीको दायरामा आउनुपर्ने बताउँदै नेपालमा जुनसुकै धर्म मान्न पाउने छुट सबैलाई भएको धारणा राखेका थिए। गौतमले सार्क सम्मेलनको सरसफाइ र शान्ति सुरक्षाका लागि अनशनस्थल खाली गराउन पटक–पटक महानगरपालिकाले आग्रह गरे पनि नमानेपछि प्रहरीले अनशनकारीलाई हटाएको जवाफ दिएका थिए।
‘प्रहरीले कात्तिक ११ गते बिहान माइकिङसहित उक्त ठाउँ खाली गर्न आग्रह गर्दा पनि नमानेपछि पालसहितका सामग्री सुरक्षित राख्न खोज्दा हातमा खुकुरी र सानो बन्चरोसहित गोरखनाथ साक्षात रूपमा प्रकट भएझैं गरी गाईको बाच्छोसमेत लिएर उत्रिएपछि धरपकड भएको हो,' गृहमन्त्रीले जवाफ दिएका थिए।
गृहमन्त्रीले ‘पटक–पटक आग्रह गर्दा पनि पाँच फिट लामो गोरखनाथको मूर्ति स्थापना गर्दै सडक अतिक्रमण गर्न थालेपछि महानगरले प्रहरीको सहयोग मागेको' प्रस्ट पारेका थिए।
‘कानुन कसैले नमान्ने भए लोकतन्त्र किन चाहियो?' संसदमा गृहमन्त्रीको भनाइ थियो, ‘कानुनबाहिर गएर जसले जे गरे पनि हुने भए राजाकै शासन थियो नि, किन लोकतन्त्रका लागि लडेको? लोकतन्त्रमा प्रधानमन्त्री, मन्त्री, सांसद, सभामुख सबैले नियम र कानुन मान्नुपर्छ।'
गृहमन्त्रीले यस्तो जवाफ दिँदा ‘भगवान र हिन्दुको अनादर गरेको' भन्दै राप्रपा नेपालका सांसद एक्कासि बेल घेराउ गर्न पुगेका थिए।
राप्रपा नेपालका अध्यक्ष थापाले संविधानप्रदत्त नागरिकको हकस्वरुप शान्तिपूर्ण विरोध र अनशन गर्न पाउनुपर्ने, धार्मिक मण्डप तोड्ने काम भविष्यमा नदोहोरिने दृढता सरकारले गर्नुपर्ने माग राखेका थिए।
‘गृहमन्त्रीले जवाफ दिने क्रममा भगवानप्रति अनास्था गरेको र हिन्दुको आस्थामा चोट पुग्ने अभिव्यक्ति दिएकाले फिर्ता लिनुपर्छ भन्ने हाम्रो माग रह्यो,' थापाले पत्रकारसँग भने, ‘सरकार र सत्तापक्षका सांसदले नै अभद्र व्यवहार गर्ने र अपमान गर्ने काम गरेपछि अप्रिय स्थिति सिर्जना भएको हो। यसमा गृहमन्त्री र सत्तापक्षका संासद नै जिम्मेवार छन्।'
थापाले एकीकृत नेकपा माओवादीले ४१ दिनसम्म संसद अवरोध गर्दा पनि बोल्न नसक्ने सत्तापक्षका सांसद आफूहरूमाथि जाइलागेको आरोप लगाएका थिए।
संसदभित्र असंसदीय भाषा प्रयोग गरेको विषयमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष थापाले भने, ‘नाराबाजीका क्रममा कहाँ के भयो भन्ने चिन्ताको विषय होइन, गृहमन्त्रीले रोस्ट्रममा उभिएर भगवानलाई जोक बनाउने काम गर्नुभयो। गृहमन्त्रीले धार्मिक आस्थामा चोट पुर्या्एकाले उहाँले बोलेका शब्द फिर्ता लिनुपर्छ।'
गृहमन्त्री गौतमले आफूले धार्मिक आस्थामा चोट पुग्ने गरी कुन शब्द प्रयोग गरेको भनी पटक–पटक आग्रह गर्दा पनि त्यस्तो नभेटेको प्रतिक्रिया दिए।
‘मैले के विषयमा क्षमायाचना गर्ने भनेर भन्दा उहाँहरू ९४ प्रतिशत हिन्दु रहेकामा तपार्इंले ८० प्रतिशत भन्नुभयो भन्नुहुन्छ,' गौतमले भने, ‘मैले बोलेको कुन शब्दले उहाँहरूमा चोट पुग्यो, त्यो नै भनिदिनुपर्यो । तर उहाँहरूले बाहिर भन्नै नमिल्ने किसिमले गालीगलौज गर्नुभयो।'
कांग्रेस सांसद खतिवडाले भने राप्रपा नेपालका सांसदबाट आफूहरूमाथि लेखा समितिको निर्णयको रिस फेर्ने काम भएको टिप्पणी गरे। लेखा समितिले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) मा अनियमितता भएको भन्दै सांसदसमेत रहेका गणेश थापासहित ४ पदाधिकारीको पद स्थगन गर्न निर्देशन दिएको थियो। खतिवडाको टिप्पणी यसैतर्फ इंगित थियो।
- See more at: http://www.nagariknews.com/main-story/story/26979.html#sthash.kPdgOFz8.dpuf
Ą
https://www.flickr.com/photos/spklg/15211044551/