Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

फेसबुक चलाउँदा होसियार

काठमाडौं-
घटना १ 'याहु' म घरमा आज एक्लै छु। बुबा–ममी सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।'
केही दिनअघि राजधानीको एक उच्च माविमा प्लस–टु पढिरहेकी एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो 'स्टाटस' लेखिन्। ती किशोरीलाई 'फलो' गरिरहेका केही केटाहरु मौकाको फाइदा उठाउन सकिने देखेर तुरुन्तै उनको घरतिर दौडिए। एक्लै रहेकी ती किशोरीलाई उनीहरुले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप कसे।



घटना २

कतिपय किशोर–किशोरीमा आफ्नो मिल्ने साथीलाई फेसबुक पासवर्ड आदानप्रदान गर्ने बानी छ। यही बानीका कारण राजधानीकै एउटी उच्च घरानाकी किशोरी नराम्ररी फसिन्। ती किशोरले गर्लफ्रेन्डको फोटो, नाम र फोन नम्बर राखेर फेसबुक पेजमार्फत 'सेक्स वर्कर' बनाइदिए। घटना ३ उपत्यकाकै एक नामी प्लसटुमा पढ्ने एक युवकले सूचना प्रविधिको दुरुपयोग गर्दै एक ग्राहकको बैंक एकाउन्ट ह्याक गरेर सबै रकम झिके। महानगरीय प्रहरी अपराध महाशाखा, साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपतिकुमार राय सूचना प्रविधिको दुरुपयोगले बढ्दो साइबर क्राइमका फेहरिस्त सुनाउँदै थिए, माइतीघरस्थित सेन्टजेभियर्स कलेजका विद्यार्थीलाई एसेम्ब्ली समयमा। घटना विवरण सुनेर विद्यार्थीहरु जिब्रो टोकिरहेका थिए। फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेख्ने, जिस्किने, नजिकका साथीलाई पासवर्ड आदानप्रदान गर्नेजस्ता आफ्नै प्रवृत्ति सम्झेर उनीहरु झसंग भए– कसो फसिएन। सूचना प्रविधिको अत्यधिक प्रयोग गर्ने वर्ग टिनएजरमा साइबर क्राइमसम्बन्धी चेतना बाँड्न अहिले प्रहरीले अभियान नै चलाएको छ। अभियानको केन्द्रबिन्दु प्लस–टु र कलेज अध्ययनरत विद्यार्थीलाई बनाइएको छ। २१औं शताब्दीको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्षमा युवा नै बढी संलग्न भएकाले सेल उनीहरुमा केन्द्रित भएर साइबर क्राइम, यसबाट बच्ने उपाय र यससम्बन्धी कानुनी अवस्थाबारे जानकारी गराउन जुटेको हो। 'सामाजिक सञ्जाल प्रयोगकर्ता अन्जानमै अपराधमा फस्ने गरेका छन्,' रायले भने, 'नजिकिएकै भरमा पासवर्डजस्तो व्यक्तिगत सूचना बाँड्दा कतिपय किशोरी समस्यामा परेका घटना प्रहरीमा आइरहेका छन्।' फेसबुकमा टिनएजरको पहुँच बढिरहेको र यही माध्यमबाट विभिन्न थरीका आपराधिक क्रियाकलाप भइरहेको सेलको अनुसन्धानले देखाएको उनले बताए। 'टिनएजरलाई पत्रिका पढ्ने, टिभी हेर्ने फुर्सद नै छैन,' रायले नागरिकसँग भने, 'दिनरात फेसबुक चलाउँछन्, अनि अनेक अपराधमा फस्न पुग्छन्।' प्रहरीले स्कुल–कलेज पुगेरै साइबर अपराधका घटना सुनाउँदै यसका कानुनी पक्ष र सचेत रहने उपायबारे चेतना बाँडिरहेको उनले सुनाए। 'युवाहरुलाई साइबर अपराधबाट बचाउन हामीले 'स्टप, थिंक एन्ड कनेक्ट' अर्थात् कुनै पनि कुरा स्टाटसमा राख्नुपूर्व पहिले राम्ररी सोचेर मात्र लेख्नुपर्ने सन्देश दियौं,' रायले भने, 'यत्ति तीन कुरामा विचार पुर्यामए ९० प्रतिशत युवा साइबर अपराधबाट जोगिन्छन्।' महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी भुपालकुमार भण्डारी सामाजिक सञ्जालका पीडित र पीडक दुवैथरी युवा नै भएकाले अनुसन्धान सेल स्कुल र कलेजका विद्यार्थीमाझ पुगेको बताउँछन्। उनका अनुसार सेलले स्कुल (कक्षा ८ देखि माथि) र कलेजहरुसम्म पुगेर सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षबारे निरन्तर जानकारी गराउने योजना अघि बढाएको छ। यस क्रममा राजधानीकै टेक्सास कलेजमा पनि साइबर क्राइम सचेतना अभियान पुर्याढइसकेको उनले जानकारी दिए। फेसबुकमा केटाहरुले केटीको नाममा नक्कली (फेक आइडी) परिचय दिएर केटीहरुको फोटो नकारात्मक कार्यमा दुरुपयोग गरी 'ब्यालेक मेल' गरिरहेका घटना प्रहरीमा आउने क्रम बढेको उनले जनाए। बढी 'लाइक' पाउने चाहनाले जो पायो, त्यसैलाई फेसबुकमा साथी बनाउने प्रवृत्तिले अपराध बढेको प्रहरी अनुसन्धान निष्कर्ष छ। 'नाम, थर, उमेर र ठाउँ मिल्ने भए फेक आइडी भए पनि फेसबुकमा साथी बनाइहाल्ने प्रवृत्ति बढिरहेको छ,' एसपी भण्डारीले नागरिकसँग भने, 'फेक आइडीवालाले अर्को साथीको फोन नम्बर, फोटो र ठेगाना फेसबुकमा राखेर सेक्स गर्न चाहनेले यो नम्बरमा सम्पर्क गर्नू भन्ने विवरण राखेर फसाएका तीनवटा घटना प्रहरीमा आएका छन्।' साथी–साथीबीच पासवर्ड सेयर गरेका कारण पनि समस्यामा फस्ने गरेको प्रहरी अनुभव छ। 'एउटा साथीले अर्को साथीसँग मेलमार्फत ६ हजार रुपैयाँ मागेर बार्गेनिङ गरेको केस हेरिरहेका छौं,' उनले भने। प्रहरीले विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा पासवर्ड बलियो राख्नुपर्ने, जथाभावी स्टाटस राख्न नहुने, पासवर्ड कसैलाई सेयर गर्न नहुनेबारे सचेत गराइरहेका छन्। 'अपराध गरेपछि कानुन जान्दिनँ भन्न मिल्दैन, सजाय भोग्नैपर्छ,' एसपी भण्डारीले भने, 'त्यसैले साइबर अपराधका कानुनी पाटाबारे युवा विद्यार्थी माझ बाँडिरहेका छौं।' प्रहरीको यो अभियानमा उच्च मावि र कलेजहरुले पनि चासो राख्न थालेका छन्। 'कतिपय स्कुल र कलेजले सेलमै आएर यस्ता सूचना सेयर गर्न निवेदन गरेका छन्,' एसपी भण्डारीले भने, 'पर्याप्त जनशक्ति र स्रोतसाधन अभावका कारण हामी सबै स्कुल तथा कलेजमा पुग्न सकेका छैनौं।' अभियानलाई देशभरिका स्कुल तथा कलेजका किशोर–युवामाझ लैजाने प्रहरी योजना छ। 'अनुरोध गर्ने स्कुलमा पनि पुगिरहेका छौं,' उनले भने। यस्तो अभियानबारे प्रहरीको अपराध अनुसन्धान सेलका पदाधिकारी र विद्यालय सञ्चालकहरुका संगठन प्याब्सन, एनप्याब्सन तथा हिसानका पदाधिकारीबीच थप छलफल गरी नयाँ तरिकाले अघि बढ्ने योजना बनाइरहेको पनि भण्डारीले खुलाए। सेन्टजेभियर्सका प्रिन्सिपल फादर अगस्टिन थोमस एसजेले सामाजिक सञ्जाल फेसबुक टिनएजरको पकडमा रहेको र त्यसको दुरुपयोग बढिरहेको बताए। किशोरकिशोरीमा सदुपयोगभन्दा बढी दुरुपयोग भइरहेकाले गाइडलाइन दिन प्रहरीको सहयोग आवश्यक रहेको उनले सुनाए। 'टिनएजरमा फेसबुकको एडिक्सन नै भइरहेको मैले महसुस गरेको छु,' अगस्टिनले नागरिकसँग भने, 'सदुपयोगभन्दा पनि नकारात्मक कमेन्ट लेख्ने, अरूको जीवनमा के भइरहेको छ, चासो राख्ने प्रवृत्तिले विद्यार्थीको मानसिकतामै नकारात्मक असर परिरहेको छ।' यसले पठनपाठनसमेत खस्किरहेको उनको अनुभव छ। विद्यार्थीमा शिक्षकले भन्दा पनि प्रहरी नै कक्षामा गएर सुनाएको विषयवस्तु प्रभावकारी हुने गरेको अनुभव उनले बाँडे। विद्यार्थीलाई सामाजिक सञ्जालको कुलतबाट छुटाउनु ठूलो चुनौती रहेको उच्च माध्यमिक विद्यालय सञ्चालक संघ (हिसान) का अध्यक्ष एवं सभासद उमेश श्रेष्ठ सुनाउँछन्। 'सूचना–प्रविधिको दु्रत गतिमा विकास भइरहेको अवस्थामा हाम्रा युवा सामाजिक सञ्जाललाई सदुपयोगभन्दा दुरुपयोग बढी गरिरहेको मैले अनुभव गरेको छु,' श्रेष्ठले नागरिकसँग भने, 'त्यही भएर प्रहरी नै स्कुल–कलेजमा पुगेर यसका विभिन्न पक्षबारे जानकारी गराउँदा सबैमा सकारात्मक सन्देश जान्छ।'
Ą
https://www.flickr.com/photos/spklg/15211044551/