काठमाडौ, आश्विन १६ -
जीवनभरको लामो यात्रापछि, ग्रिक योद्धा युलेसिस आफ्नो घर इथाका पुग्छन् र
धर्मपत्नी पेनोलोपीको सामना गर्छन् । युलेसिस दरबारमा जरा गाडेर बसेका र
पेनोलोपीसित विवाह गर्न इच्छुकहरूलाई मार्छन् । आफूसँग लामो समयदेखि
बिछोडिएका पतिलाई चिनेर पेनोलोपी प्रश्न गर्छिन्- 'संसारभर तपाईं
हिँड्नुभयो । अद्भुत नगर र टापुहरू हेर्नुभयो । यहाँसम्म कि एउटी देवीसित
बस्नुभयो । तर, यस्तो के छ म अधबैंसे पत्नी र सानो नगरमा ? जसले तपाईंलाई
र्फकन बाध्य बनायो ?' युलेसिसको जवाफ निर्भीक र अचम्मको छ । भन्छन्, 'यो
संसारमा एउटा पुरुषले निर्माण गर्ने चीजभन्दा ठूलो र सुन्दर केही पनि छैन
।'
एक दशकदेखि पश्चिमेली जगत्मा गरिरहेको आफ्नै भ्रमण नियाल्दा मलाई लाग्छ म
भीएस नयपालले भनेजस्तै आगमनको एउटा विरोधाभासको कापमा फँसेको छु । 'र्फकन
मात्र तपाईं बिदेसिनुहुन्छ,' दार्शनिक लेभाई स्टाउस भन्छन् । तपाइंर्ं
जानुहुन्छ अरूद्वारा निर्मित सहर हेर्न र र्फकनुहुन्छ आफ्नो संसारतिर, नयाँ
आँखाले नियाल्ने चाहनाले । किनकि, सहरहरू निर्मित हुन्छन् मानिसहरूको
संसारप्रतिको निष्ठा र प्रेमबाट । सहरहरू मानवताका गर्विला निर्माण हुन् ।
मेरो जीवनको सबैभन्दा डरलाग्दो त्रास बाहिरिने र त्यहाँको विशाल खाडलमा
हराउने हो । कसरी हराउन सक्छ कुनै व्यक्ति अर्को दुनियाँमा र बाँच्न सक्छ
श्रापित मानिसझैं कहिले पनि नर्फकने स्थितिमा आफ्नै नगरमा, जहाँ उसले
हिँडेका २५ सहरको गुणगान सुन्न मानिसहरू पर्खिरहेका छन् ।
तराईको सानो धूले बजारमा जन्मेको म जस्तो मानिसका लागि पहाड र सहरहरू
विशिष्ट छन् । यहाँसम्म कि काठमाडौं र पोखराजस्ता पहाडी सहरले मलाई अति
रोमाञ्चित गर्छन् । अमेरिकाका पहाडी सहरहरू एस्पिन, वर्कली, डेनभर र
टेलोरोयाड एउटा स्वैरकल्पना वास्तविकतामा परिणत भएका भन्दा कम छैनन् ।
त्यसैले एउटा महानगरमा बस्नु र काम गर्नुजस्तो सुख मलाई अरू कुनै लाग्दैन ।
मलाई सम्झना छ मेरो त्यो पहिलो सानो यात्रा । मावली हजुरबासित मेरो सानो
बजार नकोदरबाट निस्केर म त्यसबेला महानगरजस्तो लाग्ने जालन्धरतिर लागेको
थिएँ । त्यो कोलाहल, त्यो व्यस्तता, गाडावाल, रिक्सावाल र लाइनका लाइन पसल र
खचाखच भरिएको बजार । हामी रोकिएका थियौं, एउटा मिठाई पसलमा पुरी तरकारी
खानका लागि । त्यो २५ मिनेटको बिस्तारै हिँडिरहेको बस, गहुँको खेतबीचबाट
निस्किँदा मेरो मुटु नाचिरहेको थियो । यो बन्द आकाश भएको कोठाबाट
निस्कनुजस्तो थियो, जहाँ मैले मेरो अधिकांश जीवन बिताएको थिएँ, अद्भुत
अनुभूति थियो ।
त्यस दिनदेखि एक नगरदेखि अर्कातिर लाग्ने चाहनाले मलाई जितेको छ- यो
घुमन्ते बानी मैले मेरो पिताले मान्ने नागा साधुहरूबाट आर्जन गरेको छु ।
मेरा पिता कामका सिलसिलामा मङ्गल टाउनसिप भनिने सानो ताल भएको एउटा
औद्योगिक नगरमा बस्नुहुन्थ्यो । त्यो शिवालिक पर्वत शृङ्खलामा पर्छ । हरेक
साता उहाँले मलाई सतलज किनारस्थित त्यागी साधुहरूको आश्रममा लानुहुन्थ्यो ।
नागाहरू घुमक्कड प्रवृत्तिका मानिस हुन् र तिनको समाजमा तिनीहरू तीन
दिनभन्दा बढी बस्न नियमले नै मिल्दैन । तीमध्ये एउटा महन्तले मेरो नामकरण
रामदास अर्थात् भगवान्को दास भनी गरेका थिए । उनले एक दिन उनको अगाडि
बलिरहेको धुनीबाट एक चिम्टी खरानी मेरो निधारमा लगाइदिएका थिए र भनेका थिए,
'तिमीले ख्याति पाउनेछौ र हिँडिरहनेछौ विश्वभर ।'
मलाई लाग्छ यस आशीर्वादसित म विश्वभरि डुल्न श्रापित छु र श्रापित छु
हेर्न विश्वका अद्भुत महानगरहरू । मेरो प्रथम सहर जहाँ म आएर बसेँ त्यो
काठमाडौं थियो भने पश्चिमेली जगत्मा फ्रयांकर्फट थियो । फ्रयांकर्फट
विमानस्थलमा अवतरण गरेपछि मलाई जमिनको माटो निधारमा लगाऊँ जस्तो लागिरहेको
थियो, किनकि मलाई महन्तले धुनीबाट उठाएको खरानीको सम्झना आइरहेको थियो ।
मलाई थाहा थियो, यो मात्र एउटा सुरुआत थियो मेरो अथक भ्रमणको, विश्वका यी
चर्चित सहरहरूको सेरोफेरोमा ।
किन मलाई जमिनको माटो निधारमा धसौंजस्तै लाग्यो ? किनकि एक जुनीका लागि म
भूपि शेरचनले भनेको 'खरानीको एस्ट्रे' काठमाडौंमा दुई दशकभन्दा बढी बाँच्न
बाध्य भइसकेको थिएँ । दुई दशकसम्म म सङ्घर्षरत थिएँ, एउटा यस्तो महानगरमा
जसको भाग्य निर्माणका लागि भयङ्कर उथलपुथल भइरहेको थियो एक दशकदेखि । यी
वर्षमा धेरैचोटि यही उपत्यकामा निसास्सिएर मेरो अन्त्य निश्चित छ जस्तो
मलाई लाग्यो । आफूले बनाएको संसारमा निसास्सिएर सिद्धिनुको व्यथा अझ बढी
पीडादायक छ । काठमाडौंजस्तो सहरमा कवि भएर बाँच्नुको व्यथा बढी यातनापूर्ण
छ, जहाँ हरेकले कविको गुणगान त गर्छन् तर तपाईंको कामका निम्ति एक सुका
खर्च गर्न तयार छैनन् । तपाईंको पेशा प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने
मानिसहरू निरीह छन्, यो महानगरमा पुरस्कारदाता आफैं माग्ने गर्छन् ।
'इट, प्रे, लभ' नामक किताबमा चर्चित अमेरिकी लेखिका एलिजाबेथ गिल्बर्ट
महानगरहरू शक्तिशाली मानिसहरू झैं सर्वोत्कृष्ट हुने दौडमा रहेको
बताउँछिन्, जस्तै- लन्डन, पेरिस, ब्रसेल्स, म्याडि्रड, मिलान । तर रोमजस्ता
केही महानगर यस होडमा नलागेको र तिनको आफ्नै पृथक् पहिचान भएको उनको भनाइ छ
। र, न्युयोर्क सिटी पनि, किनकि उसको भव्यता विशिष्ट छ । गिल्बर्टका
विचारमा प्रत्येक नगरको मूल चरित्र एक वा दुई शब्दले दर्साउन सकिन्छ जसरी
कि रोमको मूल भावना व्याख्या गर्ने शब्द छ- सेक्स । न्युयोर्कका लागि-
अस्पायर -अकासिने वा सपना प्राप्तिको चाहना) । काठमाडौंका लागि कुनै
जमानामा शब्द थियो साङ्गि्रला- तर धन्यवाद छ हाम्रा राजनीतिक नायकहरूलाई
आजकल यो शब्दको स्थान धूवाँधूलोले लिएको छ ।
के हरेक सहरको चरित्र वा आत्मालाई एक वा दुई शब्दमा उजागर गर्न सकिन्छ ?
मैले पश्चिमेली जगत्मा गरेका प्रथम भ्रमणका सहरहरू मेरा प्रिय महानगरहरू
बने- पहिलो प्रेमजस्तै । फ्रयांकर्फट, डेनहाख, आम्स्टर्डम, ब्रसेल्स,
एन्टवर्पन । मेरा जर्मन प्रकाशकसितको फ्रयांकर्फट पुस्तक मेलामा पुस्तकमा
हस्ताक्षर गरेपछि म बाल्यकालका मित्रसित बस्ने सानो सहर- ब्रेमनहावन
-ब्रेमन र हेमवर्गको बीचमा) मा पुगेँ । कुनै बेला अमेरिका जाने मूलद्वार
भएको यो सहर मलाई मकवानपुरको भीमफेदीजस्तै लाग्यो, अतीतको गौरव र हराएको
सानमा डुबेको । तर अचम्मलाग्दो के छ भने मैले त्यो सहरका अधिकांश मानिसलाई
वृद्धावस्थामा देखे । मैले असी नब्बे वर्षका बूढीआमाहरू, हजुरआमाहरू रातो
स्याउजस्तो अनुहार लिएर साइकल कुदाइरहेको भेटेँ । मलाई लाग्यो मेरी आमा पनि
यस नगरमा जन्मेको भए यसरी नै बाँचेको हुनुहुन्थ्यो कि ?
त्यसपछि म हाइडलवर्गमा गएँ जहाँ पूरा सहरमा बूढीमान्छे खोज्न गाह्रो थियो,
कमसेकम आफ्ना भावनामा । यो विद्यार्थीहरूको एउटा सहर थियो, नेक्कर नदीको
किनारामा, दार्शनिक हाइडैगरको नाममा राखिएको 'फिलोसफर वाक' नाम भएको ।
बारहरू, रेस्टुराहरू, युवा जोडीहरू एकार्काको अँगालोमा, प्रेमक्रीडारत ।
त्यस रेस्टुराँमा विशेष रूपले प्रसिद्ध लेखक गुन्टर ग्रास आउँथे । एक
सुन्दरी वेट्रस पनि थिई, इजिप्टबाट आएकी । मलाई ग्लानि भयो कि किन मैले यति
ढिला गरें यहाँ आउन, कहाँ थिएँ म ती भर्भराउँदा तन्नेरी वर्षहरूमा ?
यात्रीहरू एक किसिमका विचित्र राक्षस हुन् । यातनाको विशाल तराजुमा
तिनीहरू बाँच्छन् । फ्रयांकफ्रट एउटा क्रूर सहर थियो । म वायुयानबाट उत्रें
। विमानस्थल अफ्रिकी मानिसहरूले खचाखच भरिएको थियो किनकि त्यस वर्षको
फ्रयांकर्फट पुस्तक मेलाको अतिथि अफ्रिका थियो । म भूमिगत भएर मेट्रोमा
पसे, मानौं म सात फिटमुनि पातालमा ओर्लेको छु । मेट्रोमा कोही पनि बोलेनन्,
कोही चिच्याएनन्, एकार्कातिर हेराहेर गरेनन् पनि । कुनै यात्रुले 'कहाँ हो
नि घर, के थरी हो ?' जस्ता प्रश्न गरेनन् । कोही पनि हाँसेनन् । कानमा
एयरफोन लगाएका, कालो लुगा लगाएका मानिसहरू, आउँदो हिउँदको सामना गर्ने
तयारीमा थिए । मलाई एक्कासि लाग्यो कि म एउटा लामो चिहानमा उत्रेको छु ।
नेपालका डाँडाकाँडाहरू, साना बसहरू पोखराबाट नयाँपुलतिर गइरहेको, मानिसहरू
कुखुरा च्यापेका, गफ गरिरहेका, एकार्कासित टाँसिएका एउटा आत्मीय भावले ।
मानिसहरूले बाँडिरहेको जीवनका कथा र व्यथाहरू ।
मेरो आतिथेय युवा जर्मन जोडी थियो । गुन्टरग्रास भन्थे, 'यदि कलकत्ता
भगवान्को पातलो दिसा थियो भने फ्रैंकर्फट भगवान्को यस्तो कंक्रिट दिसाको
थुप्रो हो, जो सधैं आकासिँदैछ ।' तर अपर्झट म मुखामुख छु यो रूपको
उत्कृष्ट, प्रथम श्रेणीको संसारसित फ्रयांकर्फट पुस्तक मेलामा । शालीन
मानिस, युरोपेली सभ्यताबाट सुसंस्कृत, बाहिरबाट उदास मेट्रोमा देखेका चिसा
मानिसहरू वास्तवमा ज्ञानी छन् नौलो संसार र दृष्टिकोणको खोजीमा । प्राय:
हरेकसित हिमालमा भ्रमण गरेको सम्झना र अद्भुत कथाहरू छन् ।
मलाई यो सहरमा बानहोफ (सेन्ट्रल ट्रेन स्टेसन) सबभन्दा मन पर्यो । विशाल
ठाउँमा मानिसहरूको सहज र मधुरो स्वर र विदेशी भाषामा गरिएका उद्घोषणहरू । म
ब्रेमिनबाट आएको थिएँ । बिहान सबेरै ४ बजेतिर र स्टेसनमा भएको जर्मन
बेकरीमा बसें एउटी युवतीसित, जो 'लेट नाइट ट्रान्स पार्टी'बाट आएकी थिई र
मजस्तै टाइमपास गरिरहेकी । ऊ थिई ७ बजे डुसलडर्फका लागि रेल समात्ने तरखरमा
। म बाहिर जाने स्थितिमा थिइनँ राति । मसित दुइटा झोला थिए । मलाई कुनै
टर्कीको चक्कुको धारको सामना गर्न मन थिएन र छेउको रेडलाइटबाट आएको
रात्रिकालीन स्टिपरबाट लुटिने मन पनि ।
एम्स्टर्डम एउटा अनौठो यात्रा थियो जहाँ म पहिलोचोटि एउटा बेलायती कविले
मेरा लागि आयोजना गरेको 'ओपन हाउस' मा डच कविहरूसित भेट्न गएको थिएँ । त्यस
पार्टीमा केकमा मिसाइएको गाजाले गर्दा म झन्डै मृत्युद्वारतिर ओर्लिएको
थिए । त्यसपछि डचप्रेमीसित बसेकी एक प्रवासी अमेरिकी कवयित्रीको घरमा बस्दा
उनका दुइटा बिरालो प्रत्येक बिहान मैले आँखा खोल्ने क्रममा मलाई
नियालिरहेका हुन्थे । त्रासले म त्यहाँबाट सरेर रायखोट भनिने डच
कलाकारहरूको गाउँमा बस्न गएको थिए । एमस्टर्डम चित्रकारहरूको स्वर्ग थियो
जसरी कि लन्डन वा डब्लिन कवि-लेखकहरूका लागि स्वर्ग छ । डचहरू व्यापारी
भएकाले तिनको ध्यान बढी कलामा भएको हो र भाषाप्रति सचेतता कम देखिन्छ ।
हल्यान्ड सबैभन्दा बढी अङ्ग्रेजीकरण गरिएको राष्ट्रका रूपमा देखिन्छ ।
प्रत्येक रात रायखोटमा बस्ने साथीहरूले मलाई घुम्नैपर्छ भनी लग्ने गरेका
थिए- एम्स्ट्रर्डमका पर्यटकीयस्थल, सिप अफ फुल्स, मैडम टुसाड, ऐनफ्रेंकको
घर, रेडलाइट एरिया जसप्रति अधिकांश डचहरूले गर्व गर्ने गरेका छन् ।
मलाई डेनहाख ज्यादै मन परेको थियो । नेदरल्यान्ड्सको राजधानी भए पनि यो
सहर बस्दा मलाई सानो सहर बजारमा बसेको अनुभूति भइरहेको थियो । डच महारानी
यसै सहरमा बसेकी थिइन् । मैले पिस प्यालेस नजिकै उत्तरी सागरको किनारमा एक
डच कलाकारका घरमा बस्ने मौका पाएको थिएँ । रातभरि समुद्रको कोलाहलले मेरो
झ्याललाई समेत हल्लाएर मेरो निद्रा बिथोल्थ्यो । मैले पहिलोपल्ट समुद्रको
यो विकराल रूप देखेको थिएँ, समुद्र तट कालो विशाल पर्खालजस्तै देखिन्थ्यो र
छालहरू नजिक आउँदा रिसले उठेका लट्टाजस्तै थिए । म दिनभरि साइकल लिएर
डाउनटाउनतिर जान्थे र त्यहाँका विशाल बारहरूमा बसेर लेख्थे, नयाँ नयाँ साथी
बनाउँथे । एक दिन एउटा मानिसले थाहा पाएछन् कि नेपालबाट आएका कवि द
जवार्टे रुइटर क्याफेमा बेलुका कफी खाएर बस्छ भन्ने कुरा । उनले मलाई उनकी
सानी छोरीको जन्म दिवसका उपलक्ष्यमा भोजका लागि निम्त्याए । जीवनमा
सबैभन्दा ठूलो समुद्री खानाको आनन्द लिने मलाई त्यो प्रथम अवसर थियो । उनी
पनि अन्नपूर्ण जाँदा मानिसहरूले उनलाई आफ्नो घरमा लगेर सत्कार गरेका थिए र
गोवामा उनी बिरामी हुँदा एउटा नेपालीले ज्यान बचाएको थियो ।
हो, महानगरहरूमा डुल्दा रमाइलो यही नै रहेछ । यहाँ तपाईं भेट्नुहुन्छ
घुमन्तेहरू जो कुनै बेला तपाईंजस्तै आफैँ पनि भ्रमण गरेका थिए । यसले गर्दा
उनीहरूमा करुणा, माया र ज्ञान भरिपूर्ण छ । भ्रमण गर्दा तपाईं त्यो
खजानाको खोजीमा हुनुहुन्छ जुन क्रमश: विश्वका यात्रीहरूको सामूहिक बैंकमा
परिणत भएको छ । यसलाई घुमन्तेहरूको सामूहिक करुणा कोषका रूपमा लिन सकिन्छ ।
मैले यसलाई मानवताको बैंक भन्ने गरेको छु ।
महानगरले तपाईंको भाग्य निर्माण गर्छ र तपाईंको पेसागत सपनालाई साकार गर्न
सघाउँछ । त्यसैले जहाँ गए पनि म त्यो सहरको डाउनटाउननिर बस्न मन पराउछु र
महानगरहरूप्रति सदैव कृतज्ञ छु ।
यस सन्दर्भमा कवितामा अन्नपूर्ण, न्युयोर्क र अन्य युरोपेली सहरहरूको
स्तुतिगानले मलाई यी उत्कृष्ट महानगरतिर उडाएर लगेको छ । सिकागो, ओटावा,
सनफ्रान्सिस्को, लसएन्जेल्स, डेनभर, ताउस, लुवलाना, मारिवोर, स्टुटगार्ट,
वेलफास्ट र गोलवे । कविता महोत्सवले मलाई न्युफाउल्यान्ड, टोेरन्टो,
डब्लिन, स्लाइगो, त्वारिभरी, कुवेकसिटी र कोरडोवामा पुर्याएको छ ।
प्रत्येक सहरको विशिष्ट स्वरूप र इतिहासले तपाईंलाई आन्दोलित गर्छ र
तपाईंको चेतनामा नयाँ आयाम थप्छ । त्वारिभरी नगरमा प्रत्येक रेस्टुरेन्टले
कविता पाठको आयोजना गर्दा रहेछन् भने कोरडोवामा इस्लाम, इसाई र यहुदीको
त्रिवेणी आज पनि बगिरहेको देख्न सकिन्छ ।
महानगरहरूले विश्वास दिलाउँछन् कि तपाईं पनि भूगोलको छेउछाउमा पोखिएको विराट मानवताको अभिन्न अंश हुनुहुन्छ ।
वास्तवमा तपाईंमै मानवता छ ।