
० फरक ढंगबाट विमोचन ० संगीनीकै व्यापक चर्चा
-----------------------------------------------------
नेपालको प्रतिष्ठित नोबेल कलेज तथा नोबेल अस्पतालका फाउन्डर डाइरेक्टर
समेत रहेका गीतकार उत्तम भौकाजीेले आज शनिवारबाट तेश्रो गीति–एल्बम मनमोहिनी बजारमा ल्याएका छन्। काठमाडौको अनामनगर स्थित मण्डला थियटरमा आयोजित भव्य विमोचन समारोह पश्चात उक्त एल्बमलाई दशैंको शुभकामनाको रुपमा बजारमा ल्याइएको गीतकार भौकाजीले बताएका छन्।
फरक ढंगबाट विमोचित उक्त एल्बमको विमोचन कुनै नेता तथा अभिनेताबाट भएको थिएन । मनमोहिनी एल्बमका पर्दा पछाडिका खेलाडी मानिएका कभर डिजाइनर अनिल स्थापित, रेकर्डिष्ट मित्र लामा र म्युजिक एरेन्जर गोपाल रसाइलीबाट मनमोहिनी विमोचित भएको थियो। एउटा एल्बम तयार पार्न पर्दा पछाडि धेरैको साथ र हात हुने गरेको छ । तर, ती स्रष्टाहरुको खासै सम्मान भएको हुँदैन । तिनै पर्दा पछाडिका स्रष्टाहरुको सम्मान हामीले गर्नुपर्दछ भन्ने सोचले नै स्वरुपजी र मेरो गोप्य सल्लाह बमोजिम उहाँहरुबाट मनमोहिनीको बिमोचन भएको जानकारी गीतकार भौकाजीले दिए ।
मनमोहिनी एल्बम तयार पार्न करिब पाँच बर्ष लागेको तथ्य पनि सोही समारोहमा खुलासा भएको छ । मनमोहिनीका गायक एवम् संगीतकार स्वरुपराज आचार्य तथा गीतकार भौकाजीको व्यस्तताले गर्दा त्यति धेरै बर्ष लागेको यथार्थता दुवैले बताएतापनि एल्बमलाई गुणस्तरीय बनाउन नै दुवै पक्षबाट त्यति धेरे समय लिएको बताइएको छ ।
मनमोहिनीमा एउटा प्रयोगको रुपमा पहिला संगीतको धुन तयार भएपछि मात्र गीत लेखन कार्य भएबाट त्यसो भएको हुनुपर्ने भनिएको छ । अरु एल्वममा पहिला गीत लेखिन्छ र पछि सोही गीतको भावअनुरुप संगीतको धुन तयार पारिने गर्दछ । तर, मनमोहिनीमा पहिला धुन तयार पारेर गीत लेखन भएबाट मनमोहिनी गीतकार भौकाजी र गायक एवम् संगीतकार स्वरुपराज आचार्यको नौलो प्रयोग मानिएको छ।
मनमोहिनी मेरी संगीनी बोलको गीत त एल्बम बजारमा आउनुअघि नै चर्चाको शिखरमा पुगिसकेको छ । सवैको मन–मनमा बस्न सफल भैसकेको छ । त्यसको अलावा ढुकढुकी बढायो, आज मनमा, देख तिमीलाई बाहेक बोनस गीतको रुपमा गीतकार भौकाजीको दोश्रो एल्बम वर्डस्को हिट गीत भन तिम्रो मनमा पनि संग्रहित गरिएको छ । मनमोहिनी एल्वम गीतकार भौकाजी र गायक एवम् संगीतकार स्वरुपराज आचार्य दुवैले आ–आफ्ना जीवन संगीनीहरुलाई नै समर्पित गरेका छन् । त्यसकारण पनि मनमोहिनीमा संगीनीकै बढी चर्चा रहेको छ ।