Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दोब्बर मूल्‍य असुल्‍ने दरबारमार्गका चार स्टोरमा सिलबन्दी



काठमाडौं: खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ। यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा छापा मारी शोरुममा शिलवन्दी गरिएको थियो।
 आपूर्ति विभागमा महानिर्देशक कुमारप्रसाद दाहालकाअनुसार रिवुक ब्राण्डको जुत्ता, टिसर्ट र लिवाइज ब्राण्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्राण्डको टिसर्ट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्राण्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर तथा अर्को घडी स्टोर वाच एण्ड सि भन्ने शोरुममा अनुगमन टोलीले शिलवन्दी गरेको हो।
'खरिद मूल्यभन्दा दुई दोब्बरभन्दा बढी मुनाफा राखेर लत्ताकपडा, जुत्ता र घडी बिक्री गरेकाले शिलवन्दी गरेका छौं,' दाहालले भने, 'सरकारले खरिद मूल्यमा २० प्रतिशत रकम थप गरेर मात्रै मुनाफा लिने व्यवस्था गरेको छ।तर व्यापारीले अन्तर्राष्ट्रिय ब्राण्डको नाममा अढाई दोब्बर मूल्य असुल गरेको पाइयो।'
विभागकाअनुसार भ्याटसहित पाँच हजार २५ रुपैयाँ खरिद मूल्य रहेको लिवाइज ब्राण्डको पाइन्टलाई लेबल्सले नौं हजार सात सय ९० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो। सोही शोरुमले बिक्री गर्ने भ्याटसहितको तीन हजार पाँच सय ७० रुपैयाँ खरिद मूल्य भएको लिवाइज पाइन्टलाई सात हजार ६ सय ९९ मा बिक्री गर्ने गरेको फेला पारिएको छ।
रिबुक ब्राण्डको जुत्ता र टिर्सटको कारोबार गर्ने लेबल्सले नै दसैं तिहारको अवसर ३० प्रतिशत छुटको नाममा एक हजार सात सय ५४ रुपैयाँ बिक्री मूल्य भएको रिबुक ब्राण्डको टिसर्टलाई ३० प्रतिशत छुट दिएर दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।
'तर शोरुम सञ्चालकले उक्त ब्राण्डको टिसर्टको बिक्री मूल्य तीन हजार सात सय ५० रुपैयाँ राखेर ३० प्रतिशत छुट भन्दै दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको पाइयो,' महानिर्देशक दाहालले भने,‘उक्त शोरुमले नियमभन्दा बढी नाफा जोडेर उपभोक्ताबाट रकम असुल गरेको प्रस्ट हुन्छ।'
सोही शोरुमले १६ हजार चार सय ९० रुपैयाँ खरिद मूल्य भएको रिवुक क्रस फिट नाम गरेको जुत्ता सात हजार ६ सय १५ मा बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो। अनुगमन टोलीले उक्त शोरुमबाट रिबुक टिर्सट र सोही ब्राण्डको जुत्ताको नमूना लिएर शोरुममा शिलवन्दी गरेको छ।
अनुगमन टोलीले लाइन्स स्टाइल इन्टरप्राइजेजले नौं सय २५ रुपैयाँ खरिद मूल्य भएको बोसनी ब्राण्डको टिसर्टलाई एकहजार आठ सय ९९ मा र ३० प्रतिशत छुटको नाममा सोही टिसर्ट एक हजार तीन सय ३० मा बिक्री गरेको र खरिद मूल्य एक हजार ६ सय ४५ भएको सर्टलाई तीन हजार ६ सय ९९ मा बिक्री गरेको पनि फेला पारेको छ।
सोही शोरुमले सोही सर्टलाई वाइ वन गेट वान भन्ने स्कीमअन्तर्गत एक हजार आठ सय ९० मा बिक्री गरेको थियो । उक्त शोरुमले पनि उपभोक्तालाई ठगि गरेको भन्दै शिलवन्दी गरिएको छ।
विभागकाअनुसार खरिद मूल्यभन्दा झण्डै तेब्बर मूल्यमा राडो ब्राण्डको घडीसहित अन्य ब्राण्डका घडी बिक्री गरेको अभियोगमा दरबारमार्गकै सुलक्स सेन्टर र वाच एण्ड सि शोरुममा पनि शिलवन्दी गरिएको छ। यसैबीच विभागले सुरु गरेको अनुगमनको बिरोधमा दरबारमार्गका व्यापारीहरुले केही समय अवरोध सिर्जना गरेका थिए।
व्यापारीहरुले सामाग्रीको मूल्य आफुले तोकेर लिन पाउनुपर्ने माग राख्दै अवरोध गरेका थिए। थप सुरक्षाकर्मी परिचालन भएपछि सरकारी टोलीले अनुगमन गरेका थिए।
सोमबार आपूर्ति मन्त्री शिबकुमार मण्डलको नेतृत्वको अनुगमन टोलीले दरबारमार्गको स्टोर वन, बेण्टली, पुमा ब्राण्डको जुत्ता र लुगाफाटो बिक्री गर्ने प्लेटिनम ट्रेड कन्सर्न र नाइक ब्राण्डको जुत्ता र लुगाफाटो बिक्री गर्ने एभिन्यु मार्केटिङ्ग प्राइभेट लिमिटेड र सुवोध रिटेल प्राइभेट लिमिटेडको स्टोरमा शिलवन्दी गरेको थियो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/