काठमाडौं – क्रिष्ट्रियानो रोनाल्डोले आफ्नो जीवनी समेटिएको चलचित्रमा बोलेको संवाद अहिले निकै चर्चामा छ । उक्त चलचित्रमा उनले विश्वकै उत्कृष्ट खेलाडी को हो भनेर उनले साथीभाईलाई प्रश्न राख्छन् । साथीभाईको उत्तर नआउँदै उनी आफैँले भन्छन् –‘मैँ हु कम्तिमा पनि जनवरीसम्म ।’
आगामी जनवरी एघारमा स्विट्जरल्याण्डको ज्यूरिचमा भव्य समारोहबीच फिफा वर्ष खेलाडीको घोषणा हुनेछ । यसपटक रोनाल्डोको प्रत्यासीका रुपमा लियोनल मेसीसँगै नेइमारको नाम थपिएको छ । अवार्ड जित्न सके नेइमार सन् २००७ पछि फिफा वर्ष खेलाडीको अवार्ड जित्ने पहिलो ब्राजिली बन्नेछन् ।
यस अवार्डमा ब्राजिली खेलाडीको दबदबा नियाल्ने हो भने सन् २००७ मै फर्कनुपर्ने हुन्छ । सन् २००७ मा ब्राजिली स्टार काकाले विश्व वर्ष खेलाडीको पुरस्कार हात पार्दा मेसी दोस्रो र रोनाल्डो तेस्रो स्थानमा समेटिएका थिए । त्यसअघि ब्राजिलियन स्टाइकर रोनाल्डोले तीनपटक, रोनाल्डिन्होले दुईपटक, रिभाल्डो र रोमारियोले एक एक पटक यो अवार्ड जितेको इतिहास छ । सन् २००७ मा काकाले अवार्ड जितेपछि ७ वर्षसम्म कुनै पनि ब्राजिली खेलाडीले अवार्डका लागि अन्तिम तीनमा दाबेदारी समेत पेश गर्न सकेनन् ।
सन् २००७ देखी सन् २०१४ सम्म सम्पन्न ७ वटा अवार्ड मेसी र रोनाल्डोले मात्रै एकआपसमा बाडेँ । मेसीले ४ पटक यो अवार्ड जिते । उनी सन् २००७ देखी अहिलेसम्म फिफा वर्ष खेलाडीको अन्तिम तीन मनोनयनमा कहिल्यै छुटेका छैनन् । केही समयअघि युरोपेली गोल्डेन बुट जितेका रोनाल्डोले गत वर्ष मेसीलाई पछि पार्दै अवार्ड जितेका थिए, यसपटक उनको आँखा चौथो उपाधीमा केन्द्रित छ । यस्तो हुन सके उनले मेसीसँगै संयुक्त रुपमा चार पटक फिफा वर्ष खेलाडीको उपाधी जित्ने किर्तिमान राख्नेछन् । अहिल्यै किर्तिमान आफ्नो नाममा लेखाएका मेसीलाई रोनाल्डोेले जिते आफ्नो किर्तिमान बराबरी हुने डर छ । तर बार्सिलोनाबाटै खेल्ने नेइमारले जित्दा मेसी नै फिफा बेलोन डि’ओरका सर्वाधिक विजेता कायम रहनेछन् ।
मेसी वा नेइमारमध्ये एकले अवार्ड जिते प्रतिष्ठित अवार्ड १० औँ पटक बार्सिलोना क्लबमा भित्र्ने छ । बार्सीलोना लागि ५ खेलाडीले ९ पटक यो अवार्ड जितेका छन् । मेसीबाहेक उपाधि जित्ने अन्य चार खेलाडी ब्राजिली हुन् । बार्सिलोना क्लबको नाममा अर्को किर्तिमान पनि छ ।
सन् २०१० मा अन्तिम तीन मनोनयनमा बार्सिलोनाका क्लबका तीन खेलाडी मेसी, इनिस्टा र जाभी छानिएका थिए । त्यतिबेला जाभी र इनिस्टाले जित्न नसकेको अवार्ड जित्दै के नेइमार यसपटक बार्सीलोना क्लबका छैटौँ फिफा वर्ष खेलाडी बन्नेछन् ? के उनले सन् २००७ पछि पहिलोपटक मेसी र रोनाल्डोको वचश्र्व तोड्नेछन् ? मेसी या नेइमारमध्ये एकले अवार्ड जित्दै बार्सिलोना क्लबको क्याम्प नोउ रंगशालामा फिफा वर्ष खेलाडीको १० औँ अवार्ड प्रदर्शनमा राख्नेछन् या रोनाल्डोले चौथो पटक अवार्ड जितेर मेसीको किर्तिमान बराबरी गर्नेछन् ? प्रतिक्षा धेरैलाई छ । अवार्डका दाबेदार तीन खेलाडीको गत वर्षको प्रदर्शन यस्तो छ ः
नेइमार किन ?
ब्राजिली स्टार काकाले सन् २०११ मा नेइमारलाई रियाल म्याड्रिड ल्याउन ठूलो कसरत गरेका थिए । तर मेसीको खेलबाट प्रभावित नेइमारले मेसीसँगै खेल्नका लागि रियालको प्रस्ताव लत्याए । पेलेले यसअघि नै नेइमार आफ्नो उत्तराधिकारी रहेको घोषणा गरेपनि बार्सीलोना नआउँदासम्म बाँकी विश्वले नेइमारको वास्तविक खेल–शैली देखेको थिएन । गत सिजन नेइमारको प्रतिभालाई विश्वले राम्रोसँग चिन्यो । सन् २०१४ को विश्वकपमा ब्राजिललाई सेमिफाइनलसम्म लैजान महत्वपूर्ण भूमिका निभाएका नेइमारले विश्वकपपछि बार्सीलोनालाई एकै सिजन तीन उपाधी जिताउन अहम् भूमिका खेले । बार्सीलोनाले दुईपटक एकै सिजन तीन उपाधी जित्ने विश्वकै पहिलो क्लबको किर्तिमान बनाउँदा मेसीसँगै मैदानमा खटिएका दुई प्रमुख सिपाही थिए–‘ नेइमार र लुईस सुआरेज ।’ नेइमारले च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै युभेन्टस्लाई दबाबमा राखे र बार्सीलोनाको उपाधी पक्का गराए । यस सिजन सुरुआती १३ साताभित्र उनले बार्सीलोनाबाट १४ गोल गरे । यस सिजन अहिलेसम्म उनले च्याम्पियन्स लिगमा २ र स्पेनिस लिगमा १५ गोल गरिसकेका छन् ।

मेसी किन ?
सन् २००९ मा बार्सीलोनाले ऐतिहासिक तीन उपाधी जित्दा क्लबका प्रमुख खेलाडी मेसीको उमेर केवल २१ वर्ष थियो । उनले २२ वर्षको उमेरमै फिफा वर्ष खेलाडीको अवार्ड जिते । त्यसपछि विश्व फुटबलमा मेसी यूग सुरु भयो । उनी स्पेनिस ला लिगाका सर्वाधिक गोलकर्ता, बार्सीलोनाका सर्वाधिक गोलकर्ता, सबैभन्दा धेरैपटक फिफा बेलोन डि अर जित्ने खेलाडी समेत हुन् । अनेकन किर्तिमान आफ्नो नाममा लेखाएका मेसी सन् २००९ को जस्तो जर्बजस्त फर्ममा नरहेको आलोचकहरुले बताउँदै आएका थिए । तर गत वर्ष उनले फेरि बार्सीलोनालाई ३ प्रमुख उपाधी जिताए । यसपटक मेसीको भूमिका पनि सन् २००९ को तुलनामा अझै परिपक्व थियो ।

रोनाल्डो किन ?
रोनाल्डोको क्लब रियाल म्याड्रिड गत सिजन खाली हात रह्यो । तर गत वर्षका बेलोन डि अर विजेता रोनाल्डोको प्रदर्शनमा भने खोट लगाउने कुनै ठाँउ छैन् । उनले गत सिजन ला–लिगामा सर्वाधिक ४८ गोल गरे । च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या गत सिजन १० थियो ।
