Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सागर थापा भन्छन्, 'जिन्दगी नै सकिने भो’

म्याच फिक्सिङ प्रकरण

मंसिर २०, २०७२- म्याच फिक्सिङ (खेल मिलेमतो) मा संलग्न भएको अभियोगमा एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिद्वारा आजीवन प्रतिबन्ध लगाइएका खेलाडीहरूले अपिल गर्ने बताएका छन् ।
‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं,’ नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सागर थापाले शनिबार बताए । उनीसहित पूर्व उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई सन् २००८ देखि २०१२ सम्मका थुप्रै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्याच फिक्सिङमा संलग्न भएको अभियोग लगाउँदै एएफसीको अनुशासन समितिले शुक्रबार आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उनीहरूलाई २७ असोजमा प्रहरीले पक्राउ गरेर विशेष अदालतमा राज्यद्रोहको मुद्दा लगाएको थियो । कात्तिक २४ मा धरौटीमा छुटेका उनीहरूविरुद्धको मुद्दा अदालतमा चलिरहेको छ ।

‘आजीवन प्रतिबन्ध हुनु भनेको अन्याय हो । यदि यही हो भने जिन्दगी नै सकिने भयो । भविष्यमा फुटबलमा मिहिनेत र केही गर्ने सपना चकनाचुर भयो,’ २००९ देखि राष्ट्रिय टिमको ‘आर्मब्यान्ड’ लगाएका सागरले भने, ‘शत प्रतिशत हामी फिक्सिङमा संलग्न छैनौं । यो कसैको पूर्वनियोजित षडयन्त्रजस्तो लागेको छ । फुटबल राजनीतिको चपेटामा हामीलाई मोहोरा बनाइयो ।’
सागरले कुनै पनि खेलाडी फिक्सिङमा संलग्न नभएको दाबी पनि गरे । ६४ क्याप जितेका उनले भने, ‘प्रहरीको रिपोर्टमा भर परेर एएफसीले कारबाहीको निर्णय गर्‍यो । प्रहरी र अदालतको बयान फरक थियो । एएफसीले सोधेको स्पष्टीकरणमा हामीलाई २ डिसेम्बरसम्म जवाफ पठाउनुपर्ने भनेको थियो, भोलिपल्ट पठायौं । ४ डिसेम्बरमै अनुशासन समितिको निर्णय आयो । त्यसैले सरकारी वकिललाई दिएको बयानसहित हामीले पठाएको ७०–८० पृष्ठको जवाफ उनीहरूले हेरेजस्तो लाग्दैन । हामी दोषी भएको प्रमाण देखाइदिए जे सजाय पनि भोग्न तयार छौं ।’
उनीसँगै एसियन कप छनोट २००३ बाट राष्ट्रिय टिममा डेब्यु गरेका गोलकिपर रितेश थापाले पनि फुटबल गतिविधिमा एएफसीले लगाएको आजीवन प्रतिबन्धविरुद्ध अपिल गर्ने बताए ।
यसअघि सोधिएको स्पष्टीकरण एएफसीले सन् २०११ को आसियन भ्रमणमा फिलिपिन्ससँग ४–० र मलेसिया यू–२३ सँग २–० ले हारेको खेलमा केन्द्रित भएको उल्लेख गर्दै रितेशले भने, ‘ती दुई खेल मैले खेलेकै छैन । कुन आधारमा मलाई कारबाही गरियो ?’ नेपाल प्रहरीमा आबद्ध उनले थपे, ‘सोचिएकै थिएन, त्यस्तो (आजीवन प्रतिबन्ध) हुन्छ भनेर । यति ठूलो अपराध गरेजस्तो लाग्दैन । यसविरुद्ध अपिल गर्नेछौं ।’ अपिलपछि पनि एएफसीले त्यस कारबाहीलाई सदर गरेमा उनीहरू ज्युरिच (स्विट्जरल्यान्ड) स्थित तटस्थ अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट) मा जान पाउनेछन् ।
प्रहरीले आठ खेलमा फिक्सिङ गरिएको आरोपसहित अदालतमा मुद्दा दायर गरेको थियो । अफगानिस्तानसँग २–२ को बराबरी (मर्डेका कप २००८), अफगानिस्तानमाथि ३–० को जित (साफ २००९), क्यामरुनसँग ५–० को हार (नेहरू कप २०१२), कुवेतसँग ५–० को हार (एसियन गेम्स २०१४) र इराकसँग ४–० ले असफल (एसियन गेम्स २०१४) भएको खेलमा पनि उनीहरूले फिक्सिङ गरेको आशंका गरिएको छ ।
विशेषगरी निश्चित अन्तरको हार, त्यो पनि अन्त्यतिर धेरै गाल बेहोर्नुपर्ने गरी नेपाली फुटबलरले विश्वका कुख्यात ‘म्याच फिक्सर’सँग मोटो रकम लिएको प्रहरीको आरोप छ । यसबारे एएफसी, स्पोट्र्स राडार (एएफसीसँग सहकार्य गरिरहेको कम्पनी) र यूएईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स) को इन्टिग्रिटी युनिटले एक वर्ष अनुसन्धान गरेपछि उनीहरूलाई आजीवन प्रतिबन्ध लगाइएको एसियाली फुटबलको सर्वोच्च संस्थाले जनाएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरेलगत्तै एएफसीले निलम्बन गरेको
थियो । अपिल अस्वीकार गरिए प्रतिबन्धित खेलाडी फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन पाउने छैनन् ।
For news source Click HERE
Ą
https://www.flickr.com/photos/spklg/15211044551/