Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतबाट आएका धेरै अफर नारायणगोपालले कसरी ठुक्राएका थिए ? पत्नी पेमला गुरूवाचार्यको अन्तर्वार्ता

नारायणगोपालकी जीवनसाथीको नाताले उहाँलाई कसरी सघाउनुहुन्थ्यो ?
कुनै पनि साधकलाई आफू अघि बढ्न साधन र साध्यमात्र भएर पुग्दैन, प्रोत्साहन, हौसला र प्रेरणा पनि चाहिन्छ । स्वर–संगीतको उहाँ साधक हुनुहुन्थ्यो । त्यसैले उहाँलाई अविरल लागिरहन मैले प्रेरणामात्रै दिन सकेँ ।
तपाईंहरूको पहिलो भेट कहाँ र कहिले भएको थियो ? लोकप्रिय गायकलाई पाउँदा कस्तो अनुभव भएको थियो ?
हाम्रो पहिलो भेट दार्जिलिङको सुकिया पोखरीमा १४ अक्टोबर १९६५ को दिन भएको थियो । उहाँको गीतबाट म निक्कै प्रभावित थिएँ । भेट्नुअघि नै हामीबीच सुमधुर पत्रमित्रता भैसकेको थियो । त्यतिखेर उहाँलाई भेट्दा म अत्यन्तै खुशी थिएँ । त्यतिखेरको सुखद अनुभूति अभिव्यक्त गर्न मसँग अहिले मात्र सम्झना छन्, श्पर्श छैन ।
उहाँ स्वर–संगीत साधनामा कति व्यस्त हुनुहुन्थ्यो ? त्यो व्यवस्ताले तपाईंलाई उहाँसाथ बस्ने समय कत्तिको अभाव हुन्थ्यो ?
बिहान सबेरै उठ्ने बानी थियो उहाँको । बिहानै उठेर करिब २ घन्टा रियाज गरेर मर्निङ वाकमा निस्कनुहुन्थ्यो । मूड चलेको दिन त ४/५ घन्टा पनि रियाज गर्नुहुन्थ्यो । उहाँ घरमै संगीत साधना गर्नुहुन्थ्यो । त्यसैले मलाई उहाँसँग बस्ने समय अभावको प्रतीत भएन ।
संगीत र स्वरको गहिराइमा डुब्ने मानिस स्वभावैले कोमल हुन्छ भन्छन् । उहाँ पारिवारिक जीवनमा कत्तिको भिज्नुभएको थियो ?
हाम्रो पारिवारिक जीवन सुखमय थियो । प्रेम र सहानुभूतिबाट हामी कहिल्यै अलग रहन सकेनौं । बाँच्नका लागि मान्छेलाई प्रेम र सहानुभूति नै पर्याप्त छ । त्यसैले उहाँ पारिवारिक जीवनमा भिज्नुभएको थियो ।
उहाँ कसरी गीत गाउनुहुन्थ्यो ? तयारी कसरी गर्नुहुन्थ्यो ?
आफ्नै संगीतको गीत भए त्यसलाई केही दिन रियाज गर्नुहुन्थ्यो, अरू संगीतकारको संगीतमा गाउनुपर्यो भने क्यासेटबाट सुनेर रियाज गर्नुहुन्थ्यो । कहिले संगीतकारहरूलाई घरमा नै डाक्नुहुन्थ्यो । सल्लाह गरेर कसरी संगीत दिने, कुन स्टायल अपनाउँदा गीत र संगीत दुवै राम्रो विन्दुमा पुग्छन् भनेर निर्णय गरेरमात्र गीत रेकर्ड गर्नुहुन्थ्यो ।

असल प्रेमी नारायणगोपाल यसरी परे मदिराको लतमा


उहाँसँगको सहयात्रमा तपाईंलाई चाहिँ गाउन मन लागेन ?
कुनै काम आफूले गर्छु भनेरमात्र हुँदैन । त्यसको लागि आफूमा क्षमता, सहजता र स्वाभाविकता पनि हुनुपर्दोरहेछ । गीत गाउन मसँग त्यस्तो विशेष स्वर थिएन । स्वर नभएपछि उहाँले ‘तिमी गाऊ’ भनेर भनेको भए पनि म असमर्थ थिएँ, म गीत गाउन होइन, सुन्न जान्दछु ।
उहाँको लोकप्रियता, साधना र निरन्तरता देख्दा निकै सम्पन्न हुनुपर्ने, कमाइबाट उहाँ सन्तुष्ट हुनुहुन्थ्यो ?
यहाँ गीत गाएर कति कलाकार सम्पन्न भएका छन् र ? सम्पन्न नभए पनि हाम्रो आर्थिक अवस्था सन्तोषप्रद नै छ । गीतलाई नै हामीले अर्थोपार्जनको साधन सम्झेनौं । गीत गाउने उहाँको ‘हबी’ हो, पेशा होइन । पेशाकै रूपमा लिन खोज्नुभएको भए इन्डियाबाट धेरै अफर आएका थिए । तर उहाँले मातृभूमि छाड्न चाहनुभएन । नेपाल र नेपालीको अगाध श्रद्धामा नै आफ्ना दिनहरू बिताउनुभयो । फेरि पैसा नै मान्छेको सम्पूर्ण पनि त होइन । यसलाई साधनको रूपमा लिऔं, साध्यको रूपमा होइन ।
उहाँलाई पथपरहेजमा किन राख्न सक्नुभएन ?
उहाँलाई १० बर्षअघि नै डाइबिटिज भएको हो । तर शरीरमा बल भएर होला, गम्भीर रूपमा लिनुभएन । जहान परिवारले जति भने पनि उहाँको अडानमा हामी झुक्यौं । औषधी र पथपरहेजमा पनि नराखेको होइन, तर कति दिन मुख बार्ने भनेर आफ्नो हठी स्वभावले गर्दा दिक्क मान्यौं । फेरि, मन लागेको कुरा घरमा खान नदिए बाहिरै खाइदिनुहुन्थ्यो । उहाँलाई कन्ट्रोल गर्नु भनेको त हाम्रो क्षमताभन्दा बाहिरकै कुराजस्तो हुन लाग्यो, उहाँको हठको अगाडि हाम्रोशिर झुक्थ्यो ।
कम उमेरमै दुवै मिर्गौला ड्यामेज हुनुको कारण के थियो ?
डाक्टरका अनुसार मूल कारण डाइबिटिज नै हो ।
उहाँलाई रेडियो नेपालले उपेक्षा गरेको थियो रे हो ?
उहाँ भन्नुहुन्थ्यो कि रेडियो नेपालले विज्ञापन सेवामा बजाउने गीतहरूको गायक–गायिकालाई रोयल्टी दिनुपर्छ, त्यो जत्ति नै किन नहोस् । तर । रेडियो नेपालले कसैलाई रोयल्टी दिएन । आजसम्म पनि उहाँ त्यस सुविधाबाट बञ्चित नै हुनुहन्छ । मूल कारण यही थियो, दोष उहाँको थिएन, रेडियो नेपालकै थियो ।
नेपाली संगीतको विकासबारे तपाईंहरूबीच कुरा हुन्थ्यो ?
नेपाली संगीतको विकास भएन भनेर सधैं भन्नुहुन्थ्यो । यसका विकृति र विकासबारे समयसापेक्ष योजना बनाएर शिक्षा तथा संस्कृति मन्त्रालयमा सुझाव पनि पेश गर्नुभएको थियो । तर कार्यान्वायन हुन सकने । हाम्रो देशको अर्केष्ट्राको स्थिति शिशु अवस्थाको छ, यसको विकास कसरी गर्न सकिन्छ भनेर पिरोलिइ रहनुहुन्थ्यो । वाद्यवादनको स्कुल खोली नव–प्रतिभाहरूलाई सक्षम र सबल तुल्याई नेपाली संगीतको भविष्य उज्ज्वल तुल्याउनुपर्छ भन्नुहुन्थ्यो । जुन देशमा गतिलो अर्केष्ट्रा हुँदैन, त्यस देशको संगीत कहिल्यै माथि उठ्दैन भन्नुहुन्थ्यो । उहाँको सपना साकार गर्न हामीले अहिले नारायणगोपाल संगीत कोष खडा गरेका छौं । यस कोषको मूल उद्देश्य नै अर्केष्ट्राको विकास र उठान नै हो । यस बिषयमा लाग्ने नव–प्रतिभाहरूलाई यस कोषले छात्रवृत्ति प्रदान गर्नेछ ।
उहाँको अवसानपछि नितान्त एक्लो रहँदा कस्तो प्रतीत भइरहेको छ ?
सायद ज्यूँनुको अर्थ नै भुलिसकेकी छु मैले ।
(लक्ष्मण सिटौलाले नारायणगोपालको निधन भएको केही महिनापछि लिएको अन्तरवार्ताको सम्पादित अंश । सिटौलाले ‘स्वर सम्राट नारायणगोपाल’ शिर्षकमा जीवनी प्रकाशित गरेका छन् । त्यस्तै उनले नारायणगोपाल र गोपाल योञ्जनबारे अनुसन्धान गरी लेखेको पुस्तक ‘मितज्यू’ प्रकाशित छ । उपन्यास, निबन्ध र गीत लेखनमा सक्रिय उनका दर्जनौं पुस्तक र एल्बम सार्वजनिक भइसकेको छ ।)
From ratopati.com

Ą
https://www.flickr.com/photos/spklg/15211044551/