Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

फुटवलमा ‘थापा’ विरासतको समाप्ति


‘म भिमसेन थापाको खलक र कमल थापाको भाई हु । अन्तर्राष्ट्रिय जगत्मा मलाई नचिन्ने कमै छन् । तपाइहरुको के हैसियत छ मसँग बयान लिने ? बोलाई हाल्नुभयो त्यसैले भेटघाटका लागि मात्रै आएको हु“ । तर याद गर्नुस् कुनै दिन यही समितिमा सदस्य बनेर म पनि आउन सक्छु ।’– गणेश थापा (मिति  : ११ भदौ २०७१)
सार्वजनिक लेखा समितिमा सुरुआती दिन जवाफ दिने क्रममा यसरी गर्जिएका गणेश थापाका लागी त्यसयताका बर्षदिन निकै उत्तारचढावपुर्ण रह्यो । थापाले एन्फामा लामो समयदेखी मनोमानी गर्दै आएको भन्दै एन्फा उपाध्यक्षहरु कर्माछिरीङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राइ लगायतका पदाधिकारीले आन्दोलनको बाटो रोजेका थिए ।

केही क्लवहरु पहिल्यैदेखी आन्दोलनमा थिए । आफ्नोविरुद्ध आवाज बुलन्द गर्नेहरुलाई ठिक लगाउन थापा जस्तासुकै हत्कण्डा अपनाउन तयार भइरहे । आफ्नो स्तुतिगान गाउनेलाई काखा र पारदर्शिताको कुरा उठाउनेलाई पाखा लगाइरने उनको शैलीले पछिल्लो समय नेपाली फुटबल क्षेत्र थिलथिलो बन्दै गयो । अहिले नेपाल फिफाको र्याकिङ्गमा १ सय ९२ औं स्थानमा पुगेको छ ।
०५२ सालमा एन्फाको अध्यक्ष बनेका थापाले त्यसयता नेपाली फुटवललाई आफ्नो औंलाको भरमा नचाए । थापा अध्यक्ष बनेपछि फुटबलको संरचनात्मक छिटपुट सुधार भएपनि उल्लेख्य नतिजा आउन सकेन ।
उनकै दाई कमल थापा एन्फा अध्यक्ष हुँदा दशरथ रंगशालाको एक कुनामा सिमित फुटबलसंघको कार्यालयलाई थापाले सातदोवाटोको भब्य भवनमा सारेका थिए । उनकै पहल प्रयत्नका कारण राष्ट्रिय लिग जित्ने टिमले एक करोड पुरस्कार पाउने अवस्था सिर्जना भयो । फुटवलमा लगानी बढ्दै गयो । बैंक तथा वित्तीय संस्थाहरुले फुटवल क्लव र एन्फालाई बार्षिक लाखौं लगानी गर्ने वातावरण बन्यो । काठमाडौं, धरान र वुटवलमा एकेडेमी स्थापनाको श्रेय थापालाइनै जान्छ । तर विडम्वना, फिफा र एएफसी लगायतका निकायहरुमा अभावको डकुमेन्ट पेश गरेर आएको रकमलाई थोरै मात्र फुटवल विकासमा लगाएका थापाले धेरै रकम दुरुपयोग गर्नमै ध्यान दिए । यसरी फुटवलको नाममा आउने अनुदानका बारे जान्न खोज्ने एन्फा पदाधिकारी र संचारमाध्यमलाई धम्क्याएरै तह लगाउन खोज्ने थापाले कहिल्यै सोचेनन् कि, ‘फिफाले कुनैदिन ममाथि एक्सन लिनेछ ।’
सोमबार फुटवलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचार गरेको आरोपमा थापालाई १० बर्षका लागी फुटवल गतिवीधीमा संलग्न हुन नपाउने गरी प्रतिवन्धीत गरेसँगै नेपाली फुटवलमा थापा युग सकिएको छ ।
आखिर फिफाले किन यत्ति ठुलो एक्सन लियो थापामाथि ? उनीमाथी नेपालभित्र तथा बाहिर लागेका भ्रष्टाचार आरोप यस्ता छन् ।
नेपालभित्र लागेको आरोप
आरोप नं १.
गणेश थापाका छोरा गौरव थापाको बैंक खातामा दुईपटक गरी एएफसीका पुर्व अध्यक्ष बिन हमामले एक लाख डलर डिपोजिट गरिदीएका थिए । पिडब्लुसी को रिपोर्टमा उल्लेखित यो घटनाबारे एन्फा अध्यक्ष गणेश थापाले व्यक्तिगत ऋण लिएको भनेर पन्छिए । तर एएफसीका पूर्वअध्यक्ष बिन हमामले भने सो रकम नेपालका असामायिक निधन भएका बाल खेलाडीहरू, पुरानो राष्ट्रिय टीमका खेलाडीहरु र नेपाली एक पत्रकारलाई छात्रावृत्ति र सहयोग वापत उपलब्ध गराएको बताए । गणेश थापालाई आफुले ऋण नदिएको भन्दै थापाको भनाई हमाम स्वयमले खण्डन गरिसकेका छन् । पछि हमामलाई आफुले लिएको सापटी फिर्ता गरेको कुरा सार्वजनिक गरेका थापाले नेपालका खेलाडी र पत्रकारका लागि दिएको भनिएको सो रकम कहा“ लगे ?
आरोप नं २.
यो दोस्रो आरोपमा पनि गणेश थापाले बिन हमाम स“गै लिएको एक लाख पन्ध्रहजार पाउण्डबारे कुरा उठाईएको छ । सन्डे टाईम्समा प्रकाशित समाचार अनुसार थापाले सो रकम हमामको ‘केम्को कन्स्ट्रक्सन’ कम्पनीसँग लिएका थिए । पछि थापाले सो रकम व्यापारिक प्रयोजनका लागि लिएको भन्दै पत्रकार सम्मेलन गरे । हमामको केम्कोबाट ब्यापारीक प्रयोजनका लागी लिएको त्यस्त्रो रकमबाट आखिर कहा“ उद्योग खोले गणेश थापाले र कसरी चुक्ता गरे ?
आरोप नं ३.
फुटबलको जग मजबुद बनाउन भन्दै ‘गोल प्रोजेक्ट’ अन्तर्गत फिफाबाट आएको १८ लाख डलर गणेश थापाले कहिल्यै एन्फाको आधिकारीक खाता मार्फत खर्च गरेनन् । सन् २००१ देखी २०१२ सम्म आएको सो रकम आफ्नो ब्यक्तिगत खाता मार्फत खर्च गरे । एउटा ब्यक्तिको खातावाट काटिएको चेक फुटवल मैदानमा गयो कि घरखर्च टार्न ?
आरोप नं ४.
धरान,बुटवल र ललितपुरको च्यासलमा निर्मीत फुटवल एकेडेमीको निर्माण देखि सञ्चालन सम्म जे–जती काम भए त्यसको आर्थिक पाटो थापा बाहेक कसैलाई थाहा छैन । न कार्यसमितीले निर्णय गरेको छ, नत खर्चको विवरण एन्फाको अडिट रिपोर्टमा देखिन्छ । सन् २००१ मा गसरी काम गर्ने सिलसिलामा भएको लेनदेनको कुरा उठ्दा ‘त्यस वापत प्राप्त पचास लाख कमिशन मैले खेलाडी कल्याण कोषमा जम्मा गरें’ भन्ने सार्वजनिक अभिब्यक्ति दिएका थिए ।
आरोप नं ५.
छोरा गौरवको एक लाख डलरकाण्ड खुलासा भएस“गै ‘मैले फुटवलको विकासका लागी ८ करोड बचाई राखेको छु’ भन्ने अभिब्यक्ती दिएका थिए गणेश थापाले । उनकै भनाईमा त्यो आठ करोड विभिन्न प्रतियोगीताहरुबाट गेट टिकेट बापत बचाईएको थियो । वास्ताबिक गेट टिकेटको आम्दानी भन्दा कम रकमको हिसाव अडिट रिर्पोटमा देखाउ“दै आएका थापाले कता लगे त्यो रकम ?
आरोप नं ६.
नेपालको लीग सञ्चालन गर्नका लागि कतार फुटबल संघले २०११ देखि २०१४ सम्मका लागि हरेक बर्ष दुई लाख डलरका दरले चार वर्षका लागि आठ लाख डलर दिने निर्णय गरेको थियो । एन्फाको अडिट रिपोर्ट अनुसार उक्त रकम मध्ये २ लाख डलर २०६९÷७० मा गरी दुई किस्तामा आएको देखिएपनि बा“की ६ लाखको हिसव–किताव गायव छ ।
आरोप नं ७.
जिल्ला र क्षेत्रिय लेभलका प्रशिक्षकलाई तलव दिन भनेर एएफसीबाट हरेक महिना पन्ध्र हजार डलर आउने गरेको छ । ग्रास रुटमा खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत ६ बर्षदेखि निरन्तर रुपमा सो रकम आईरहेको छ । प्राप्त रकम मध्ये थापाले जिल्लाका प्रशिक्षकलाई मासिक तीन हजारका दरले गत सालसम्म र यस बर्षदेखि पा“च हजारका दरले वितरण गर्न थालेका छन् । यसरी प्राप्त रकम मध्ये मासिक ३ देखि ४ लाख सम्म प्रशिक्षकहरुलाई तलव वापत दिईएपनि मासीक ११ देखि १२ लाख रुपैया“ गायब हुने गरेको छ । एन्फाको अडिट रिपोर्टमा भने उक्त रकम २०६३ सालमा मात्रै आएको देखाईएको छ भने त्यस पछिका वर्षहरुमा प्राप्त उक्त रकमको अडिट गरेको देखिंदैन । सो प्रोजेक्ट अहिले पनि चालु नै रहेको एन्फा स्रोतको भनाई छ ।
आरोप नं ८.
एन्फाको अहिलेको मुख्य आम्दानीको रुपमा देखिएको छ बैंकवाट प्राप्त ब्याज । ब्याज बाट मात्रै एन्फालाई २०६९ सालमा ७२ लाख र २०७० मा ६८ लाख आम्दानी भएको थियो । त्यत्रो ब्याज पाक्ने सा“वा आखिर कुन बैंकमा गुपचुप राखिएको छ ?
आरोप नं ९.
सामाजिक उत्तरदायित्व अन्तर्गत फिफाबाटा प्राप्त ह“दै आएको २५ हजार डलर अनुदान रकम एन्फाको खाताबाट ‘साथी’ भन्ने संस्थाको नाममा निकासा हुने गरेको छ । यो कार्यक्रमका लागि फिफावाट अनुदान आउन थालेको ५ बर्ष भैसकेको छ । एन्फाकै खातावाट ‘साथी’ को नाममा निकाशा भएपनि सो रकमको अडिट गरिएको छैन । अनि त्यो त्यो २५ हजार डलरले के काम ग¥यो भन्नेवार थापा मात्रै जान्दछन्, एन्फा कार्यसमितीका कसैलाई थाहा छैन ।
आरोप नं १०.
एन्फाको १३ औं बार्षिक साधारणसभामा थापाले उद्घोष गरेका थिए ‘हामीले प्लस वान कम्पनीस“ग सम्झौता ग¥यौं’ । सन् २०१२ मा प्लस वान नामक अमेरिकन कम्पनिस“ग भएको सम्झौता अनुसार चार लाख पचासहजार डलर एन्फाले पाउने उल्लेख थियो । राष्ट्रिय टीमको लुगा तथा खेल सामाग्री, मुख्य र सहायक विदेशी प्रशिक्षक ६ वर्षका लागि ंप्लस वानले उपलब्ध गराउ“ने उल्लेख थियो । संझौता एक वर्षमै भंग भएपनि प्लस वानले गौरव थापालाई तलब बापत पन्ध्रहजार डलर,खेल सामग्री खरिद गर्न पचहत्तर हजार डलर र प्रशिक्षकहरुको तलब र भत्ता बापत ६५,००० डलर उपलब्ध गराई सकेको छ । तर एन्फाको अडिट रिपोर्टमा सो रकमबारे कतै उल्लेख छैन ।
आरोप नं ११.
एन्फाको आयोजनामा गरिएको घरेलु तथा अन्तराष्ट्रीय प्रतियोगिताहरुमा गेट टिकेटबाट उठेको भन्दा न्युन रकम अडिटमा देखाइएको छ । अखिल नेपाल फुटबल संघको मुख्य आम्दानीको स्रोत भनेको गेटबाटा उठने रकम हो तर त्यहि मुख्य आम्दानी किन न्युन देखिन्छ ? आखिर थापाले कता लगे त, त्यो पैसा ?
एएफसी र फिफाले लगाएको आरोप
दश बर्ष सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटवल गतिवीधीमा प्रतिवन्ध लगाउँदै फिफाले उनिमाथी लगाएका आरोप यस्ता छन् ः
आरोप नं १ :
सन् २००९ र २०११ को फिफा कार्यसमितीको निर्वाचनमा एएफसी कांग्रेसमा आचारसंहिता विपतीरत गलत क्रियाकलाप गरेको । २०११ को निर्वाचनमा घुस लिएको मुख्य आरोपमा डाक्टर कर्नेल बोर्बेलीको अध्यक्षतामा रहेको फिफा इथिक्स कमिटीले लामो अुनसन्धानपछि थापालाई प्रतिवन्धको सिफारिस गरेको थियो ।
आरोप नं २ :
आफ्नो परिवार र आफ्नो फाइदाका लागी अर्को फुटवल संघका पदाधिकारीलाई प्रलोभनमा पारी रकम लिएको र त्यसका लागी सिफारिस गरेको ।
आरोप नं ३ :
फिफा आचारसंहिताको ब्यवहारसम्वन्धी नियमको धारा १३ विपरीत सामान्य निती नियम अनुसार काम नगरेको, धारा १५ विपरित इमान्दारीता नदेखाएको, धारा १८ विपरीत पारदर्शि, समन्वयकारी र नियमिती रिपोर्टीङ नगरेको र धारा १९ विपरीत आफ्नो स्वार्थमा काम गरेको, धारा २० विपरीत उपहार तथा अन्य फाइदा लिएको, धारा २१ विपरीत भ्रष्टाचार गरेको आरोप थापामाथी लागेको छ ।
फिफाले प्रतिवन्धसँगै थापालाई २० हजार स्विस फ्र्यांक जरिवाना गर्ने निर्णय गरेको छ । यता नेपालको पुनरावेदन अदालत पाटनमा थापाले नियम मिचेर साधारणसभाको मिती घोषणा गरको मुद्धा विचाराधिन छ । त्यस्तै सम्पति शुद्धिकरण विभागले पनि थापाले प्राप्त गरेको विदेशी रुपैयाँबारे अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंक कार्किको आदेशमा थन्किएको थापाको भ्रष्टाचारको फाइल उनी कमजोर भएसँगै फेरी ब्युतने संभावना बढेको छ । यि तमाम लफडा उनैले सल्टाउनुपर्नेछ ।
उनको प्रतिवन्ध फुकुवा हुनेवेलासम्म बाग्मतीमा धेरै पानी बगिसेको हुनेछ । ब्यक्ति प्रतिबन्धित हुँदैमा नेपालको फुटवल रोकिँदैन् । थापा कारवाहीबाट मुक्त हुनुअघिनै एन्फाले अर्को उचाई चुमिसकेको हुनेछ । तसर्थ नेपालको फुटवलमा गणेश थापाको ‘युग’ लगभग समाप्त भएको छ ।

गणेश थापापछि एन्फामा अब को ?

Ą
https://www.flickr.com/photos/spklg/15211044551/