Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

कोरियाको सहयोगमा डाटा सेन्टरको निर्माण कार्य सुरु

कार्तिक २३, २०७२- सरकारी तथा निजी क्षेत्रका सूचना र व्यावसायिक विवरण सुरक्षित राख्न करिब ४०  लाख डलरको लागतमा हेटौँडामा डाटा सेन्टरको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ  ।
सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअपको रुपमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो । डाटा सेन्टरको भवन निर्माणको ठेक्का पाएको नेपाल आर्दश कम्पनीले भवन निर्माण गर्न जमिनहरु सम्याउन थालेको छ । हेटौँडा नगरपालिका–४ स्थित लोकतान्त्रिक चौर नजिक रहेको नगर विकास समितीको जग्गामा सो निर्माण हुन लागेको हो । 
नगर विकास समितीले उपलब्ध गराएको ८ कठठ ८ धुर जमिनमा कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)ले डाटा सेन्टर निर्माण गर्न लागेको हो । कोइकाले भवन निर्माण गर्न नेपाल आदर्श कम्पनीलाई १८ करोड रुपैयामा ठेक्का दिएको छ । काम सुरु गरेको १८ महिनामा भवन निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
‘भवन निर्माणसँगसँगै सबै पूर्वाधारहरुका काम सकेपछि कोइकाले राष्ट्रिय सुचना केन्द्रलाई हस्तान्तरण गर्ने छ,’ राष्ट्रिय सूचना केन्द्रकी कार्यकारी निर्देशक पुनिता उपाध्यायले भनिन्, ‘डाटा सेन्टर भवनको काम सुरु भएको जानकारी पाएका छौं ।’
भूकम्पका कारणले कोरियन प्राविधीकहरु त्यतिबेला सबै आफ्नो मुलुक फर्केको र सरकारले नक्सा पास नगर्ने नीति घोषणा गरेकाले पनि निर्माण कार्य ढिलाई भएको डाटा सेन्टरका प्राविधीकले बताए । सन् २०१६ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने कोइकाले जनाएको छ । कोइकाले निर्माण गरेर २०१६ को डिसेम्बरसम्ममा सूचना केन्द्रलाई हस्तान्तरण गरिसक्ने सम्झौता गरिएको छ । भुकम्पको कारणले गर्दा हस्तान्तरण गर्न केही महिना ढिलाई हुनसक्छ कोइकाका एक प्राविधीकले भने, ‘सकेसम्म सम्झौता गरेको समयमा नै सम्पन्न गर्ने प्रयास गर्ने छौ ।’         
सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहुँदा राष्ट्रिय सुचना प्रविधि केन्द्र अन्तर्गतको सरकारी एकिकृत डाटा केन्द्र प्रभावकारी ढंगले संचालनमा आउन सकेको छैन । डाटा सेन्टरलाई प्रभावकारी संचालनको निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोरियाको सहयोगमा हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागिएको हो  । ७ वर्षअघि निर्माण भएर हस्तान्तरण गरिएको सिंहदरबारस्थित डाटा सेन्टर पनि कोरियाको सहयोगमा निर्माण गरिएको हो । ‘एउटैमात्र डाटा सेन्टर हुँदा प्राकृतिक प्रकोपललगायत कुनै कारणले सूचनाहरु नष्ट भएमा मुलुकको ठुलो क्षति हुन्छ,’ केन्द्रकी निर्देशक उपाध्यायले भनिन्, ‘काठमाडांैको भन्दा फरक भौगोलिक अवस्था, राजनीतिक रुपमा शान्त र विद्युतलगायत अन्य सुविधा पनि भएकाले हेटौँडामा डाटा सेन्टर निर्माण गर्न लागेको हो ।’ हेटौँडामा डाटा सेन्टर बनेपछि सरकारी, अर्धसरकारी, कर्पोरेट क्षेत्र, बैंक र नीजि क्षेत्रसमेत लाभान्वित हुने जनाएको छ ।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/