Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अखण्ड मोरङ माग्दै धर्ना र प्रदर्शन

जनमतसंग्रह माग
संघीयतामा मोरङ जिल्लालाई टुक्र्याउन नदिन आन्दोलन सुरू गरेको बृहत् नागरिक समाजले बिहीबार पनि धर्ना र प्रदर्शन गरेको छ । सुनसरी र मोरङलाई टुक्¥याउन उच्चस्तरीय राजनीतिक संयन्त्रका केही नेताहरूले षडयन्त्र थालेको भन्दै समाजले बुधबार आन्दोलन घोषणा गरेको थियो । 
 
अखण्ड मोरङ कायम हुनुपर्ने भन्दै बिहीबार समाजले र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको छ । वीरेन्द्र सभागृहबाट सुरू भएको प्रदर्शन प्रशासन पुगेर धर्नामा परिणत भएको थियो । 
धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने नागरिक अगुवाहरूले मोरङ जिल्लालाई एक नम्बर प्रदेशबाट कुनै हालतमा छुट्टिन नदिने बताए । मोरङ छुट्याउने विषयमा छलफल गर्ने हो भने जनमत संग्रह गर्न राजनीतिक दल तयार हुनुपर्ने वक्ताहरूले बताए ।
 
‘संविधान संशोधनमार्फत एक नम्बर प्रदेशबाट मोरङ छुट्याउने हो भने जनमत संग्रह गरिनुपर्छ,’ नेपाल बार एशोसिएसन मोरङका अध्यक्ष विनयराज पाण्डेले भने, ‘हामी अहिले शान्त छौं, यदि मोरङलाई टुक्र्याउने खेल भयो भने हामी सशक्त आन्दोलनमा उत्रिने छौं ।’
 
अर्का वक्ता उद्योगपति दिनबन्धु गोयलले विराटनगरको छुट्टै इतिहास र पहिचान भएकाले यसको अस्तित्व रक्षाका निम्ति आम नागरिकले चासो राख्नुपर्ने बताए । ‘विराटनगर आफ्नो हैसियत आफैं बनाउने सामथ्र्य बोकेको क्षेत्र हो,’ उनले भने, ‘त्यसकारण यसलाई छुट्याएर अर्को प्रदेशमा लैजाने कुरा हामीलाई मान्य हुने छैन ।’ 
 
समाजको सक्रियतामा सुरू भएको एक नम्बर प्रदेश बचाउ अभियानमा ६४ वटा संघ–संस्था छन् । यी संघ संस्थाले थालेको आन्दोलनलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायत आठ राजनीतिक दलको समर्थन छ । बुधबार प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीमार्फत प्रधानमन्त्री केपी बोलीलाई ज्ञापन बुझाउँदै नागरिक समाजले आन्दोलन थालेको थियो । 
 
समाजले शुक्रबार महेन्द्र चोकमा आमसभा गर्ने तयारी थालेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबारैदेखि निर्णायक आन्दोलन गर्ने पूर्वनिर्धारित कार्यक्रमबीच यो सभा हुन लागेको छ । 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/