Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

साइकल चढ्नु मेरा लागि राष्ट्रियता होइन, आदत हो

पूर्वमन्त्रीले तिहारपछि पाउदैछन् साइकल उपहार
खुट्टे पलङको छेउमा उनी स्टुलमा बसेका थिए, क्याप लगाएर। फोटो खिच्ने भनेपछि ह्यांगरमा झुन्ड्याएको ढाका टोपी शिरमा पु¥याएर भने, ‘मेकअप पनि गर्नुपर्छ कि!’

 
तिनकुनेको एउटा घरको चिसो भुइँतले कोठामा हामी पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग गफ गरिरहेका थियौं। दिउँसो तीन बजे पनि कोठामा बत्ति बालिएको थियो। ‘मन्त्री भएको खबर पनि यही कोठामा बसेको बेला सुनेको थिएँ,’ उनले भने, ‘अचेल फेरि यही कोठामा फर्किएर आएको छु।’
 
विदेशको स्थायी बसोबास अनुमति (डिभी र पिआर) लिएका निजामति कर्मचारीलाई सरकारी सेवाबाट निष्कासन गर्ने गरी निजामति सेवा ऐन संशोधन गर्न सफल पूर्वमन्त्री पण्डित धेरैका लागि रोलमोडल नै बने। पछिल्लो समय भने उनी आफ्नो साइकल मोहले चर्चामा आएका छन्।
 
केही दिनअघि उनी राष्ट्रिय झन्डा राखेर साइकलमा चढेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हाम्रो मनमा पनि खुलदुली जागेको थियो– पूर्वमन्त्री पनि साइकल चढेर नाकाबन्दी झेलिरहेका होलान् कि!
 
‘त्यो तस्बिर मैले सार्वजनिक गरेको होइन, मन्त्री भएकै बेला केही साथीले मलाई नयाँ साइकल किनिदिन्छु भन्नुभएको थियो,’ उनले प्रस्ट्याए, ‘कत्रो साइकल चाहिन्छ भनेर नाप्न आएका बेला तस्बिर खिचेर राखिदिए छन्।’
 
ती साथीले मोडिफाई गरेर पण्डितलाई ठिक्क हुने साइकल बनाएर तिहारपछि दिने योजना पनि उनलाई सुनाएका छन्। इन्धनको चरम अभाव बेला साइकल उपयोगी त हुने नै भयो तर उनका लागि साइकल एक प्यारो चिज पनि हो। 
 
२०४० सालतिर उनी भूमिगत थिए। त्यही बेला सिकेका हुन् साइकल चलाउन। तराईमा एक ठाउँबाट अर्को ठाउँ जान साइकलका प्याडल धेरै सहयोगी हुन्छन्। तिनै प्याडल मारेर उनी कहिलेकाहीँ एकदिनमा ५० किलोमिटर लामो यात्रा गर्थे। त्यही साइकलले उनलाई मधेसका देहातसम्म पुग्न सघाउँथ्यो। 
 
त्यसो त उनी आफू मात्र साइकल चढ्दैनथे। पार्टीका नेतालाई पनि साइकल चढाउँथेँ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले पनि उनको साइकल चलाएका थिए। ‘मैले उहाँलाई कहिले पछाडि राखेर साइकल चलाइनँ तर उहाँको पछाडि धेरैचोटि बसेँ,’ उनले भने, ‘एकदिन विराटनगरमा अमृत बोहरालाई साइकलको पछाडि राखेर जाँदै थिएँ। उहाँको तौल धेरै भएकाले होला कल्र्भटमा साइकलको अघिल्लो चक्का त यत्ति माथि उठ्यो, खुट्टा लामो भएकाले उहाँले टेक्नुभयो, धन्न चोट लागेन।’
 
साइकल चढ्दाको उनका बिर्सन नसक्ने घटना पनि छन्। एकदिन उनको साइकल पञ्चर भएको थियो। उनले साथीको नयाँ साइकल मागे। त्यही साइकलमा प्याडल मारिरहेका थिए। केही भुस्याहा कुकुर उनलाई झम्टिन आए। उनले साइकलको गति बढाए। भरे रोक्न खोज्दा त साइकलको ब्रेक नै रहेनछ। अनियन्त्रित भएर लड्दा उनको निधारमा चोट लागेर रक्ताम्य भएछ। ‘त्यो दिनदेखि साइकल चलाउँदा सबभन्दा पहिले ब्रेक ठीक छ कि छैन भनेर हेर्छु,’ उनले हाँस्दै भने।
 
काठमाडौंमा उनले साइकल चलाउने अभ्यास गरेका छैनन्। विराटनगरमा भने अहिले पनि उनले साइकल राखेका छन्। अहिले सजिलै साइकलका प्याडल मार्दै देहात पुग्ने अवस्था भने छैन। नयाँ संविधानमा असहमति जनाउँदै दुई महिनाभन्दा बढीदेखि  मधेसमा आन्दोलन जारी छ। सीमामा धर्ना छ, स्कुल उद्योग बन्द भएका छन्। दिनदिनै जनजीवन कष्टकर बन्दैछ। काठमाडौंसँग मधेसको आफ्ना माग सुनुवाइ नभएको ठूलो गुनासो छ।
 
केही दिनअघि उनी पनि विराटनगर पुगेका थिए। त्यहाँ उनले नयाँ संविधानमा समानुपातिक÷समावेशी प्रतिनिधिको सिद्धान्त छुटाएको, मधेसमा जनसंख्याका आधारमा निर्वाचन प्रणाली  बनाउनुपर्ने, नागरिकताका सवालमा केही प्रावधान सच्चाउन र सीमांकन हेरफेर गर्न माग गर्दै आन्दोलन गरिरहेका मानिस भेटे। ‘तर ती माग सम्बोधन गर्न दसगजामा बसेर धर्ना दिनु, विद्यालय, उद्योग बन्द गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘संविधानमा सबैका सबै कुरा समेट्न सकिँदैन। केही कुरा छुटेको भए संशोधन गरेर जान सकिन्छ।’
 
मधेसवादी दल र केही विश्लेषकले भनेजस्तो पहाडिया समुदायले मधेसी समुदायलाई शासन गरेको कुरामा उनलाई विश्वास लाग्दैन। ‘निरपेक्ष समानता दुनियाँको कहीँ ुन सक्दैन, हामीले सापेक्ष समानता खोज्ने हो,’ पण्डितले भने, ‘अहिले न्यायबाहेक सबै क्षेत्रमा समानुपातिक समावेशी सिद्धान्त छ, विवाह गरेर आउने महिलालाई नागरिकता दिन केही कुरामा हेरफेर गर्न सकिन्छ।’
 
मधेसले हल्लाकै भरमा भावनामा बगेर आन्दोलन गरिरहेको आफूले पाएको उनले बताए। ‘नेपाल भौगोलिक विविधता भएको राष्ट्र हो, मधेसीहरूले हाम्रा कुरा सबै सम्बोधन गर्नुपर्छ अरूको हामीलाई वास्ता छैन भन्न पाइन्न,’ पण्डितले भने, ‘कसैले पनि विदेशीका एजेन्डा बोेकेर आफ्ना नागरिकलाई दुःख दिनु हुँदैन।’
 
संसारको कुनै पनि मुलुकमा आन्तरिक कुरालाई लिएर अर्को देशको सीमामा गएर आन्दोलन गर्न नपाइने उल्लेख गर्दै उनले मधेसी मोर्चाले नाकाको आन्दोलन छोड्नुपर्ने बताए। ‘सीमाको आन्दोलन छोडेर, बन्द उद्योग र स्कुल खोलेपछि मात्र सरकारले मोर्चासँग वार्ता गर्नुपर्छ,’ पण्डितले भने, ‘दशगजामा धर्ना बसेर जति वार्ता गरे पनि समाधान निस्कन्न।’
 
आन्दोलनरत मधेसमा राज्यसँग केही अविश्वास छ। अब राज्यले अभिभावक बनेर मधेसलाई अलिकति न्यानो दिनुपर्ने उनको बुझाइ छ।
 
संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिमा उनको नामको पनि चर्चा भएको थियो। तर अन्तिम समयमा उनलाई पार्टीले उम्मेदवार बनाएन। ‘त्यसमा मलाई कुनै गुनासो छैन,’ पण्डितले भने, ‘पार्टीले मलाई जे जे काम दिन्छ, मलाई त्यो बिनासर्त स्वीकार्य छ।’
 
त्यसो त उनले आफूलाई राष्ट्रपति बनाउन कुनै लबिङ पनि गरेनन्। ‘श्रीमतीसँग त भात थप भन्ने मेरो आदत छैन, मलाई यो पद दिनुपर्यो भनेर कसरी भन्नसक्छु,’ उनले भने। अहिले पार्टीले मन्त्रिपरिषदमा पठाएका मानिस उपयुक्त नभएको भान भने उनलाई परेको छ। ‘पार्टीभित्र अरू सक्षम मानिस पनि थिए। प्रधानमन्त्रीज्यूले सन्तुलन मिलाउनुभएको होला,’ उनले भने, ‘हेरौं व्यवहारमा उहाँहरूले कस्तो आउटपुट दिनुहुन्छ।’
 
क्याबिनेटका अरू मन्त्रीभन्दा सामान्य प्रशासन मन्त्रीले कसरी काम गर्लान् भन्ने उनलाई बढी चासो छ। ‘मैले दुई वटा काम गर्न पाएको छैन, आरक्षणमा प्रतिस्पर्धा गर्ने सबैको उमेर हद चालिस वर्ष बनाउने र विभिन्न बहानामा काठमाडौंमा बस्ने कर्मचारीलाई कार्यरत ठाउँमै पठाउने गरी कानुन बनाउने योजना पूरा भएको छैन,’ उनले भने, ‘नयाँ मन्त्रीज्यूले के गर्नुपर्छ भनेर सल्लाह माग्नुभएको छ। मैले सबै भनिदिएको छु। हेरौं के गर्नुहुन्छ?‘ 
 
डेढ घन्टा लामो कुराकानीको बिट मार्न लाग्दा पनि साइकलको प्रसंग आइहाल्यो। ‘अब त उमेर पनि गइसक्यो, जवानीको जस्तो जाँगर छैन, सुगरको बिमारले पनि च्यापेको छ,’ उनले भने, ‘साथीहरूले साइकल दिनुभयो भने हेरौं काठमाडौंमा साइकल चलाउँदा कस्तो हुँदो रैछ।’
 
उनका लागि साइकल चढ्नु राष्ट्रियताको प्रतीक होइन, आदत हो। फारो गर्नुपर्छ, सरल र सहज हुनुपर्छ  भन्ने उनको मान्यताको उपज हो। राष्ट्रिय प्रयोगको उत्पादन गरेर आत्मस्वाभिमान र आत्मगौरवका साथ बाँचे राष्ट्रियता मजबुत हुने उनको विश्वास छ। ‘सबभन्दा पहिला म नेपाली हुँ, त्यसपछि मात्रै हिमाली, पहाडी र मधेसी हुँ भन्ने सोचाई राख्यौं भने हाम्रो एकता अझ मजबुत हुन्छ,’ पण्डितले भने। 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/