Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मिस वर्ल्ड यात्रामा इभाना

मंसिर ३, २०७२- मिस नेपाल इभाना मानन्धरको नेपाल कमब्याक साह्रै व्यस्त रह्यो । अमेरिकामा ६ वर्ष अध्ययन गरी उनी गत वर्षको अन्त्यमा मिस नेपालमा भाग लिन आइन् । पेन्सेल्भेनिया स्टेटमा मार्केटिङमा स्नातक गरी आएकी २३ वर्षीया उनी मिस नेपालको क्राउन हासिल गर्न व्यस्त रहिन् । उनी मिस नेपाल भएको सातौं दिनमा वैशाख १२ गते देशमा महाभूकम्प गर्‍यो ।

‘त्यसपछि भूकम्प प्रभावित विभिन्न जिल्लामा गएर महिला, बालबालिका लगायतका पीडितलाई सहयोग गर्न थालें,’ काठमाडौंस्थित भोटेबहालमा स्थायी घर भएकी इभानाले भनिन्, ‘उनीहरूलाई साइकोलजिकल काउन्सिलिङ लगायतका अन्य सहयोग पनि गरें ।’ भूकम्पपछि मुलुकका विभिन्न क्षेत्रमा आन्दोलन र भारतीय नाकाबन्दीका कारण दैनिक जीवन प्रभावित भएको छ ।
संकटका बाबजुत इभाना भने अर्को ठूलो तयारीमा जुटेकी छन् । यही डिसेम्बर १९ (पुस २) मा उत्तर छिमेकी चीनको दक्षिणपूर्व क्षेत्रमा रहेको हेनान प्रान्तको पर्यटकीय नगरी सान्यामा ६५ औं मिस वर्ल्डको फाइनल हुँदै छ । इभाना नेपालमा मिस वर्ल्ड फाइनल तयारी पूरा गर्दै शनिबार चीनमा गएर अर्को फाइनल टच दिने तयारीमा छिन् ।
सान्याको क्राउन अफ ब्युटी थ्रिएटरमा मिस वर्ल्ड हुँदै छ । यो त्यही सेभेन स्टार ब्युटी क्राउन होटल कम्प्लेक्स हो, जसलाई कला र मनोरञ्जन प्रदर्शनका लागि सबैभन्दा ठूलो ठाउँको रूपमा चिनिन्छ । सन् २००३ मा निर्माण गरिएको यो होटलमा २००३, २००४, २००५, २००७ र २०१० गरी ५ पटक मिस वर्ल्ड र २००७ मा मिस्टर वर्ल्डको आयोजना भइसकेका छन् ।
१९९७ मा झरना बज्राचार्यले मिस वर्ल्डमा भाग लिएपछि लगातार नेपालबाट यो प्रतियोगितामा भाग लिन जाने इभाना १६ औं प्रतियोगी हुन् । अन्य प्रतियोगी र आफू मिस वर्ल्डमा सहभागिता जनाउँदा जाँदाको परिस्थिति फरक रहेको बताइन्, इभानाले । ‘भूकम्पपछि मुलुक संकटमा छ । अर्थतन्त्र खराब भएको छ । जनताले दु:ख पाएका छन् । पर्यटकको आगमन घटेको छ,’ उनले भनिन् ।
मिस वर्ल्डको ठूलो मञ्चमा संसारसामु इभानाबाट हामीले के अपेक्षा गर्न सक्छौं ? प्रश्न खस्न नपाउँदै जवाफ आइहाल्यो, ‘मिस वर्ल्डमा सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धाको रूपमा ब्युटी विथ पर्पोसलाई ।
मैले यस पटक ‘ट्राभल फर रिलिफ आफ्टर अर्थ क्वेक’ भिडियो बनाएकी छु । यसमा हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेटेर निर्माण गरेको छु । यो सहित नेपाल घुम्नका लागि खतरा छैन भन्ने सन्देश दिने छु ।’ उनले भिडियो पोखरा, मनाङ, सौराहासम्म पुगेर खिचिएको बताइन् । उनले नेपालप्रति साहनुभूमिभन्दा पनि आफ्नै बुद्ध जन्मेको शान्ति भूमिमा यात्रा गरी आनन्द लिन सहयोग गर्ने बताइन् ।
‘त्यति ठूलो मञ्चबाट मैले भन्दा नेपालको पर्यटन क्षेत्रमा पक्कै सहयोग पुग्छ,’ आत्मविश्वासका साथ उनी प्रस्तुत भइन् ।
अघिल्ला मिस नेपालसँगको अन्तरक्रियाबाट धेरै कुरा सकेको बताउँदै इभानाले भनिन्, ‘मैले पछिल्लो एक महिना यता डान्स, ग्रुमिङ, अन्य सेसन लगायत कुरामा अभ्यास गरिरहेकी छु ।’ डान्स अफ द वर्ल्ड प्रतिस्पर्धामा नेपालको परम्परा झल्काउने उनले बताइन् । ‘अन्य धेरै कुरामा नेपाल र नेपालीको झल्को दिने कुरा प्रस्तुत गर्छु,’ उनले भनिन्, ‘अहिले नै सबै एक्सपोज नगरौं । सरप्राइज दिनुपर्छ ।’
इभानालाई एउटा चिन्ता रहेछ । भनिहालिन्, ‘मिस वर्ल्डमा मल्टी मिडिया कम्पिटिसन छ । चीनमा फेसबुक, ट्वीटर चल्दैन । त्यसैले मैले विच्याट खोलेकी छु । मेरा शुभचिन्तकहरूलाई मेरो एकाउन्ट इभाना अन्डरस्कोर मिसनेपाल २०१५ मा फलो गर्न अनुरोध गर्छु ।’ अन्त्यमा, इभानाले मुस्कुराउँदै भनिन्, ‘मिस वर्ल्ड इज वान जर्नी टु लर्न एभ्रिथिङ ।’
प्रकाशित: मंसिर ३, २०७२


Published in kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/