Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

चाहिएजति इन्धन दिन चीन तयार : आपूर्तिमन्त्री

आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत'
मंसिर २, २०७२- नेपालका लागि आवश्यक पुरै इन्धन बिक्रि गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको वताएका हुन् । ‘इन्धन ढुवानीबारे व्यापारिक सम्झैतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन  निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’ 

दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए । ‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भावना छ । मन्त्रालयको योजना पनि छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’ अनौपचारिक भ्रमणको क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताए ।  ‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने । उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती  भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।
मन्त्रालयका अनुसार व्यावसायिक रूपमा इन्धन ढुवानी प्रक्रिया मिलाउन मन्त्रालय र सरकारी टोली सम्भवत: शुक्रबार चीन प्रस्थान गर्ने मन्त्री पुनले बताए । ‘व्यावसायिक सम्झौताका लागि एउटा टिम छिट्टै जाने छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भए टोली शुक्रबार जाने छ । त्यसका लागि गृहकार्य भइरहेको छ ।’  टोलीले नाका, मूल्य, परिमाणलगायत विषयमा सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । 
अनुदानको इन्धन आयात गर्दा बाटो, ट्यांकर र अन्य प्रयोग सकिइसकेकाले अब आयात गर्न कुनै ढिलाइ नहुने जनाएको छ । भारतले नाकाबन्दी गरेर इन्धन आयातमा कडाइ गरेपछि चीनले नेपालका लागि १३ लाख लिटर इन्धन अनुदानमा उपलब्ध गराएको थियो । उक्त इन्धन आयात गरिसके लगत्तै व्यावसायिक कारोबार सुरु गर्ने समझदारी भएकाले अब ढिलाइ नहुने जनाएको छ । निगमले व्यावसायिक इन्धन आयातका लागि गत कात्तिक ११ गते चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) समझदारी गरिसकेको छ । समझदारीमा निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खडका र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका थिए । 
अनुदानको इन्धन अन्तिम लट लोड भएर चीनबाट ट्यांकर हिँडिसकेका निगमले जनाएको छ । चीन स्वामित्वमा पेट्रो चाइनाले निगमलाई सोमबार साँझ इमेलमार्फत पत्राचार गरी सम्झौताका लागि बोलाइसकेको छ । पेट्रो चाइनासँग गरिएको समझदारीअनुसार नेपालको जम्मा खपतको ३३ प्रतिशतसम्म इन्धन आयात गर्न सकिने छ । बाँकी दुई तिहाइ भने भारतबाटै आयात गर्ने निगमको तयारी हो । उक्त आधारमा पेट्रो चाइनाले करिब ३५ देखि ४० अर्ब रुपैयाँ सम्मको कारोबार गर्ने छ । 
मन्त्री पुनका अनुसार अनौपचारिक छलफलका क्रममा चीनको स्थानीय कर मिनाहा गर्न अनुरोध गरेको बताए । कर छुट भए इन्धनको मूल्य भारतसरह हुने उनले बताए । ‘अनौपचारिक रूपमा स्थानीय कर मिनाहा गरिदिन अनुरोध गरेको छु,’ उनले भने, ‘स्थानीय कर मिनाहा भए मूल्य भारतबाटै आयात गरेकै  जस्तो पर्छ । बजार मूल्यसरह नै हुन्छ ।’
यस्तै, अर्को विकल्पको खोजीमा निगमका इन्जिनियर तथा परियोजना विभाग प्रमुख वीरेन्द्र गोइत र आपूर्ति तथा वितरण विभागका प्रमुख मुकुन्दप्रसाद घिमिरे बंगलादेश गएका छन् । इन्धन आयातको अध्ययन गर्न दुई–तीनअघि बंगलादेश गएका हुन् । ‘बंगलादेशमा बंगलादेश पेट्रोलियम कर्पोरेसन्ससँग छलफल भएको जानकारी पाएका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने । 
निगमका अनुसार पछिल्लो समय भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले नेपालका लागि इन्धन लोडिङमा केही खुकुलो गरेको छ । पहिले इन्धन भर्न गएका कन्टेनरहरूमध्ये करिब १० प्रतिशत मात्रै लोडिङ दिने गरेको आईओसीले हिजोआज ३०/३५ प्रतिशतसम्म लोड दिने गरेको निगमले जनाएको छ । 
बंगलादेशबाट ग्यास ल्याउने पहल 
बंगलादेश नेपाललाई इन्धन निर्यात गर्न सकारात्मक देखिएको छ । बंगलादेशबाट इन्धन ल्याउँदा भारतले अवरोध गर्ने सम्भावना भने कायमै छ । बंगलादेशबाट नेपाल आउने छोटो बाटोका नाका काकडभिट्टामा भारतले अवरोध गरिरहेको छ । 
अतिकम बिकसित मुलुकको पारवहन अधिकार दिन भारतलाई आग्रह गर्ने सरकारको तयारी छ । ढुवानी गर्दा भारतले अवरोध गरे हवाइजहाजबाट ल्याउन सकिने मन्त्री पुनले बताए । ‘बंगलादेशबाट आयात गर्दा पनि बाटो भारतकै प्रयोग गर्ने हो । सडकबाट ल्याउन नपाए हवाइजहाजबाट ल्याउछौं,’  मन्त्री पुनले भने, ‘त्यसमा पनि अवरोध गरे पारवाहन अधिकार प्रयोग गर्छौं ।’ पारवाहन अधिकार अनुसार तेस्रो मुलुकबाट ढुवानी गरेको सामान भारतले रोक्न मिल्दैन । ‘सन्धी अनुसार रोक्न मिल्दैन । अवरोध गरे अर्को उपाय खोज्छौं,’ मन्त्री पुनले भने ।  
मन्त्रालयका अनुसार बंगलादेशबाट मुख्यत: खाना पकाउने ग्यास ल्याउने सरकारको योजना छ ।  
मट्टितेल बाँड्ने तयारी
ग्यासको विकल्पमा दुई/तीन दिन भित्रै मट्टितेल बाँडिने मन्त्रालयले जनाएको छ । मन्त्री पुनका अनुसार निगमले आफूसँग भएको मौज्दातको मट्टितेल वितरण गर्नेछ । मन्त्रालयका अनुसार निगमको  विभिन्न डिपोमा करिब १० लाख लिटर मट्टितेल मौज्दात छ । मन्त्रालयका अनुसार  उपत्यकामा रहेका अधिकांश डिपोबाट मट्टितेल वितरण गरिन्छ । नाकाबन्दीका कारण ग्यास बुलेटहरु नेपाल भित्रिन नसक्दा उपत्यका लगायत अन्य क्षेत्रमा ग्यासको चरम अभाव भएको छ । ग्यास  पाउन छाडेपछि उपभोक्ताले दाउरा बालेर दैनिकी  गुजारिरहेका छन् ।
प्रकाशित: मंसिर २, २०७२


From Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/