Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

अाजबाट छठ पर्व सुरु, तराईमा रौनक

  • वीरगन्ज पनि उल्लासमय, पहाडी समुदायको पनि सहभागिता
जितेन्द्र साह, बबियाबिर्ता (मोरङ)
कार्तिक २९, २०७२- लक्ष्मीपूजाको भोलिपल्ट सात वर्षीया छोरीसहित लक्ष्मी कार्की छठको व्रतका लागि मोरङको बबियाबिर्ता ४ स्थित माइती आइपुगेकी छन्। पूजाका सम्पूर्ण सामग्री किनिसकेकी उनले आइतबार बिहान चोखिएर शुद्ध शाकाहारी भोजन खाई व्रत सुरु गर्दैछिन्। 

चालीस वर्षीया लक्ष्मीको सुनसरीको इटहरी ६ हलगाडामा घर छ। उनी सप्तरीको कञ्चनपुर नगरपालिकामा खरदारको जागिर गर्छिन्। उनका श्रीमान् महेश कार्की अवकाश प्राप्त सैनिक जमदार हुन्। सन्तान प्राप्तिका लागि गरेको भाकल पूरा भएपछि उनले ६ वर्षदेखि आफैं छठीको व्रत बस्न थालेकी हुन्। 

‘बिहे गरेको एक दशकभन्दा बढीसम्म बच्चा भएन, सन्तान भएमा व्रत बस्छु भनेर छठीसँग प्रार्थना गरेको थिएँ,’ उनले भनिन्, ‘मनोकामना पूरा भयो, छोरी जन्मिइन्।’ स्थानीय भलुवा नहर छेउमा मैथिली परम्पराअनुरूप उनी सूर्यलाई अर्घ दिन्छिन्। माइतीमा परिवारका अन्य सदस्यहरूसहित सामूहिक रूपले मनाउने हुनाले यो पर्व औधी मन परेको उनले बताइन्। ‘खुला एवं शान्त ठाउँ भएको हुनाले माइतीमै मनाउँछु,’ लक्ष्मीले भनिन्, ‘दुई दिदीहरू र भाउजूले पनि पूजा गर्ने हुनाले यहाँ सबैलाई एकअर्काको सहयोग पुग्छ।’ 

उनको काठमाडौं बस्ने ठूलो दिदी ५२ वर्षीया चिनुमाया कार्की, माइली दिदी ५० वर्षीया कल्पना कार्की र माइली भाउजू र २९ वर्षीया दीक्षा खड्का पनि तीनदिने कठिन उपवासका साथ पूजा गर्छिन्। उनकी ठूली दिदी चिनुमायाले सिरहाको लहानमा आमाजूबाट यो व्रत मनाउने विधि सिकेकी हुन्। ‘हाम्रो परिवारले छठ मनाउन थालेको १५ वर्षभन्दा बढी भयो,’ भाउजू दीक्षाले भनिन्। मोरङको दक्षिण पूर्वी यो गाउँमा आफूहरूलाई ‘छठ मनाउने पहाडी परिवार’ भनेर सबैले चिन्ने गरेको लक्ष्मीले बताइन्। 

यसपालि ठूली दिदी चिनुमाया भने शिशु जन्माउन लागेकी छोरीलाई भेट्न तिहारको भोलिपल्ट अस्ट्ेरलियातिर लागेकी हुनाले यो परिवारलाई खल्लो महसुस भइरहेको छ। ‘उहाँले आफ्नो भागको कोनिया हामीलाई नै सुम्पिनुभएको छ,’ लक्ष्मीले भनिन्, ‘उहाँको तर्फबाट पूजा हामीले गरिदिन्छौं।’ अघिल्लो वर्षसम्म यो परिवारकी ठूली दिदी चिनुमाया दसैंमा आएर छठसम्म माइती बसेपछि छठको ठेकुवा र भुसुवा बोकेर राजधानी फर्किन्थिन्। ‘यसपटक हामीले प्रसाद तयार पारेर पठाइदिन्छौं,’ भाउजू दीक्षाले भनिन्। 

परम्पराअनुसार यो पर्वमा सन्तानको संख्याअनुरूप बाँसको कोनिया किन्नुपर्छ। कसैले कुनै कारणले एक वर्ष पूजा छुटाएमा अर्को वर्ष दोब्बर संख्यामा कोनिया राखेर पूजा गर्नुपर्छ। त्यही भएर अर्को वर्ष पूजामा भार नबढुन् भनेर आफ्नो भागको कोनिया अरूलाई सुम्पेर पूजा सम्पन्न गराइन्छ। पहिला सप्तरीको कञ्चनपुर बसोबास भएको हुनाले लक्ष्मीले मधेसको संस्कृति, स्थानीय लवज र भावनालाई राम्ररी बुझेकी रहिछन्। उनी इटहरी बस्न लागेको १२ वर्ष मात्र भएको छ। ‘सप्तरी बस्दा पनि छुट्टी मिलाएर छठका लागि माइती आउँथें,’ उनले भनिन्, ‘सकुन्जेल गर्ने हो।’ 

षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठी माता भनिएको हो। संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवजअनुसार छठी, छठ र छइठ भनिएको हो। यो पर्वमा ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गरिन्छ। 

तराईवासीले कात्तिक महिना सुरु भएदेखि माछा, मासु, लसुन र प्याज खान छाड्छन्। यो चार दिवसीय पर्वको पहिलो दिन आइतबार नुहाएपछि पूर्णतया शाकाहारी भोजन खाएर दिनभरि उपवास बस्छन्। यसलाई ‘नहाखाय (नुहाएर खानु)’ भनिन्छ। सोमबार दिनभरि व्रत बसेर साँझपख कुल देउता भएको कोठा वा घरको कुनै शान्त कोठालाई लिपपोत गरिन्छ। व्रताइनले यसअघि नै परिवारजनको सहयोगले पकाएको खीर, पुरी र केरासहित गोप्य ढंगले देउताको सम्झना गर्छन्। यसलाई स्थानीय भाषामा ‘खरना’ भनिन्छ। 

यस पर्वको मुख्य वा तेस्रो मंगलबार व्रतालु र सहयोगी परिवारजनले मुख्यत: गहुँको पिठो मिश्रित मिष्ठान ठेकुवा तथा भुसुवा भनिने चामलको लड्डु तयार पार्छन्। मौसमी फलफूल एवं तरकारीका साथ बाँसको कोनिया सजाइन्छ। घरमा पूजा गरेपछि ती सामग्रीलाई ढकनीमा राखेर समूहबद्ध भएर जलाशय किनारमा पुग्छन्। 

परिवारजनको सहयोगले ती सामग्रीलाई त्यहाँ फिजाइन्छ। जलाशयमा उभिएका मुख्य व्रतालुको हातमा पालैपालो ती सामग्री राख्दै जल र दूधको अर्घका साथ सूर्यकै नारी रूप छठ परमेश्वरीलाई अर्पण गरिन्छ। यसलाई साँझको अर्घ भनिन्छ। 

भक्ति संगीत गुन्जिरहेको जलाशय किनारमा चौथो दिन बुधबार बिहान यही प्रक्रियाले पूजा गरेपछि छठको समापन हुन्छ। यसलाई ‘भोरका अर्घ’ भनिन्छ। यो पर्वमा नजिकै घाट भएका घरै फर्कन्छन् भन्ने टाढाबाट आएका जाग्राम बसी पूजा गरेर फर्किन्छन्।

Ą
https://www.flickr.com/photos/spklg/15211044551/