Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

औषधिको हाहाकार

भगवती तिमल्सिना⁄सुरेश तामाङ, काठमाडौं, पुष्कर बुढाथोकी, भक्तपुर⁄विमल विष्ट, डोटी
भा रतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण राजधानीसमेत देशका विभिन्न भागमा औषधिको हाहाकारको अवस्था सिर्जना भएको छ।
ललितपुर जिल्लाको दक्षिणी भेगमा औषधिको अभावले चरम रूप लिएको छ। इन्धन अभावले औषधि आपूर्तिमा असहज र केही दिनयता बढेको जाडोले गर्दा बालबालिकामा संक्रमण देखेकाले गर्दा रूघाखोकी, ज्वरो र निमोनियालगायतका औषधिको अभाव भएको हो।
‘इकुडोल उपस्वास्थ्य चौकीका अनमी ज्ञानी सन्जेलका अनुसार अहिले लगभग औषधि रित्तिएको अवस्था छ। अहिले जाडो बढेकाले गर्दा रुघाखोकी, ज्वरो, निमोनियालगायत संक्रमितलाई चाहिने अति आवश्यक औषधिको अभाव रहेको छ’ –अनमी सन्जेलले बताउनुभयो। ‘हामीले माग फाराम भरेर जिल्ला पठाइसकेका छौं, तर आएको छैन’ –उहाँले भन्नुभयो।
त्यस्तै ठूला दुर्लुङ स्वास्थ्य चौकीका अहेव विनोद चौलागाईंले एक हप्ताका लागि मात्रै औषधि स्टक रहेको बताउनुभयो। जिल्लाको अन्तिम र विकट भौगोलिक अवस्थामा रहेको ठूूला दुर्लुङमा दूध ढुवानीमा प्रयोग हुने निसान गाडी मात्रै चलेकामा इन्धन अभावका कारण त्यो पनि बन्द रहेकाले औषधि ढुवानी गर्न समेत कठिनाइ भएको उहाँले दुःखेसो पोख्नुभयो।
औषधि एम्बुलेन्समा लाने प्रयास पनि भएको थियो तर तेल अभाव र टाढा भएको भन्दै चालकहरू जान नमानेको बताउनुभयो। चौघरे स्वास्थ्य चौकीका अहेव पालसिङ लामाले बच्चाका लागि चाहिने झोलमा पाइने औषधि अभाव रहेको बताउनुभयो।

मंसिर दोस्रो सातासम्मका लागि मात्रै पुग्ने औषधि स्टोरमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। कार्यालय प्रमुख केदारराज पराजुलीका अनुसार अहिलेसम्म स्वास्थ्य विभागले दिइरहेकाले गर्दा लगभग मंसिर दोस्रो सातासम्मका लागि अति आवश्यक औषधि स्टोरमा छ। ‘हामी स्वास्थ्य चौकीको मागअनुसार अति आवश्यक औषधि पुर्याउने जमर्कोमा छौं’ –कार्यालय प्रमुख पराजुलीले भन्नुभयो।
‘जिल्लाको स्टोरमा रहेको औषधिले मागअनुसार मंसिरपछि पुर्याउन नसक्ने देखिन्छ’ –स्टोर किपर नेत्रराज भण्डारीले बताउनुभयो। वर्षमा चारपटक तीन महिनाको अन्तरालमा औषधि जिल्लाको प्रत्येक स्वास्थ्य चौकीमा पुर्याउने उहाँले बताउनुभयो।
‘त्यसमा ७० प्रकारका औषधि तथा औषधिजन्य सामग्रीहरू पर्दछन्’ –उहाँले बताउनुभयो। जनस्वास्थ्य कार्यालयका अनुसार हाल मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर, पथलैया र आपूर्ति व्यवस्थापन महाशाखा टेकुबाट औषधि र औषधिजन्य सामग्रीहरू आपूर्ति गर्दै आइरहेको छ। इन्धन अभावले भक्तपुर जिल्लाका भक्तपुर अस्पताल, मृगौला प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताललगायतमा सेवा प्रभावित भएको हो। मृगौला प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले इन्धन अभावले बिरामीलाई प्रयोग गर्ने औषधिजन्य सामानहरूको स्टक सकिएपछि प्रयोग भइसकेका सामानलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो।
उहाँले इन्धन अभावकै कारण चिकित्सक समयमा आउन नसक्ने, औषधिजन्य सामग्री आयात हुन नसकेको र बिरामीसमेत समयमा आउन नसकेपछि केन्द्रले सेवाको समयसमेत कटौती गरेको बताउनुभयो। उहाँले डाइलोसिस सेवा एक बिरामीलाई सातामा तीनपटक चार घण्टाका दरले दिनुपर्ने हो तर अहिले कटौती गरेर ३ घण्टा मात्रै दिने गरेको बताउनुभयो।
यता भक्तपुर अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले इन्धन अभाव भएपछि नियमित काम समय तालिका मिलाएर सञ्चालन भए पनि इन्धन अभावको समस्या समाधान नभए अस्पतालसम्म डाक्टर आउन नसक्ने अवस्था आउने बताउनुभयो। इन्धन अभावमा जेनेरेटर सञ्चालनमा समेत समस्या उहाँले बताउनुभयो।
इन्धन अभावले रगतको समेत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा सभापति मनोजकुमार थापाले ताजा रगत दिनेहरूको अभाव भएपछि रगत संकलनमा समस्या आएको बताउनुभयो।
अहिले सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा पनि अत्यावश्यक औषधिको चरम अभाव सिर्जना भएको छ।
नाकाबन्दीका कारण स्लाइन, शल्यक्रिया गर्ने सामग्रीदेखि उच्च स्तरका एन्टिहाइपर टेनफ्रम, सुगरका बिरामीको औषधि साथै इमेरजेन्सीमा चाहिने औषधिहरू इन्जेक्सन एडिनालिन, एप्रोटिन र दमरोगीका औषधिहरू पाइन छाडेको दिपायलस्थित शैलेश्वरी पोलिक्लिनिकका फर्मासिस्ट आइजंग कुँवरले बताउनुभयो।
भारतबाट आउने ९० प्रतिशत औषधि पाइन छोडेको बताउदै उहाँले भन्नुभयो– ‘अब त इमेरजेन्सीमा बिरामी आए पनि औषधि नहुँदा त्यत्तिकै रिफर गर्नुपर्ने भएको छ।’ कुँवरले नेपालमा उत्पादित औषधिसमेत ५० प्रतिशत मात्र पाइरहेको बताउनुभयो।
अबको केही हप्ताभित्र औषधिको कुनै व्यवस्था हुन नसके यहाँका अधिकांश औषधि पसल नै बन्द गर्नुपर्ने अवस्था आएको मुकेश मेडिकल हलका मुकेश झाले बताउनुभयो।
यहाँका पहाडी जिल्लामा आउने सबै औषधि कैलाली, कञ्चनपुरलगायतका अन्य विभिन्न भारतीय नाकाबाट आउने गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले देशमा इन्धन अभाव भए पनि औषधिको अभाव नहुने केही दिनअघि एउटा कार्यक्रममा भन्नुभए पनि उहाँको दाबी हावादारी देखिएको छ। नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ३१औं जिल्ला सभा एवम् क्षयरोग निवारण अभियान पुरस्कार २०७२ वितरण कार्यक्रममा पत्रकारलाई सम्मान गर्दै सचिवले सो दाबी गर्नुभएको थियो।
यसैबीच झन्डै तीन महिनादेखि तराई⁄मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक तथा जीवनरक्षक औषधि अभाव देखिएको भन्दै नेपाल औषधि व्यवसायी संघले अब केही दिनभित्रै औषधिको चरम अभाव हुने जनाएको छ। पछिल्लो घटनाक्रमले जीवन रक्षक औषधिसमेत कम हुँदै गएको भन्दै संघले सरकार र आन्दोलनरत पक्षले आपूर्ति सहज बनाउन तथा मौज्दात ढुवानीको वातावरण बनाउन र आपूर्तिका अन्य विकल्पहरूमा तत्कालै ठोस योजना बनाउने अग्रसरता लिन आग्रह पनि गरेको छ। संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सोमबार अपिल जारी गर्दै औषधिको चरम अभाव सिर्जना हुँदासमेत सरोकारवालाहरूको चासो पर्याप्त मात्रामा नदेखिएको बताउनुभएको छ।
सरकारले औषधि वितरणका लागि विक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि पनि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको भन्दै नेपाल औषधि व्यवसायी संघले इन्धन वितरणमा सहजता अपनाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।
त्यस्तै, तराईका विभिन्न भागमा भइरहेको आन्दोलन एवम् भारतको अघोषित नाकाबन्दीबाट उत्पन्न पेट्रोलियम अभावले अस्पतालजस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा समेत कठिनाइ उत्पन्न भएकोमा नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्र पूर्ण रूपमा प्रभावित हुन पुगेको र यसको समाधानका लागि यथाशीघ्र सार्थक र परिणाममुखी वार्तामार्फत् उत्पन्न परिस्थितिलाई आपसी सहमतिमा सुल्झाउन संघले नेपाल सरकार तथा आन्दोलनरत पक्षहरूलाई अपिलसमेत गरेको छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/