Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

इन्धन आयात अध्ययन गर्न सरकारी टोली बंगलादेश जाँदै

  • प्रक्रिया मिले आयल निगमले नै खरिद गर्ने
राजु चौधरी, काठमाडौं

कार्तिक २५, २०७२- भारतले नाकाबन्दी गरी इन्धनको चरम अभावपछि बंगलादेशबाट आयात अध्ययन गर्न नेपाल आयल निगमको दुई सदस्य टोली बंगलादेश जाने भएको छ।

टोलीले इन्धन आयातको सम्भावना र व्यापार सम्बन्धमा अध्ययन गर्ने छ। ‘बंगलादेशबाट पनि इन्धन ल्याउन सकिन्छ कि भनेर थप अध्ययनका लागि दुई जना बंगलादेश जाने तयारी भइरहेको छ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘तिहारलगत्तै उनीहरू बंगलादेश जाने छन्।’ यो पहिलो चरणको अध्ययन हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि सम्भव भए बंगलादेशबाट ल्याउन निर्देशन दिएकाले सोहीअनुसार गृहकार्य निगमले थालेको हो। ‘भारत र चीनपछि बंगलादेश पनि इन्धन आयातका लागि राम्रो गन्तव्य हुन सक्छ,’ घिमिरेले भने, ‘ल्याउन सकिन्छ कि भनेर नै अध्ययन सुरु भएको हो।’ अध्ययन पश्चात थप प्रक्रिया अघि बढाइने निगमले जनाएको छ।
मन्त्रालयका सहसचिव शम्भु घिमिरेले पनि अध्ययनका लागि एक/दुई दिनमै निगमको टोली बंगलादेश प्रस्थान गर्ने बताए।
‘मुलुकमा इन्धनको चरम अभाव छ। आपूर्ति व्यवस्था सहज बनाउनका लागि निगमलाई सम्पूर्ण अधिकार दिइएको छ। सोहीअनुसार अध्ययन टोली बंगलादेश जाने लागेको हो । अध्ययन टोलीले सम्भावित व्यापारलगायत सबै हेर्ने छ,’ उनले भने। निगमसँग पर्याप्त रकम भएकाले बंगादेशबाट आयात गर्न सम्भव भए निगम स्वयंले नै खरिद गर्ने जनाएको छ।
भारतको नाकाबन्दीले पर्याप्त मात्रामा इन्धन आयात हुन सकेको छैन। हालसम्म नेपालमा भारतबाट मात्रै इन्धन ल्याउने गरिएको छ। भारतको एकाधिकार रहेकाले समस्या उत्पन्न भएकाले सरकारले अन्य विकल्पहरूको अध्ययन गरिरहेको छ। चीनबाट पनि इन्धन ल्याउने समझदारी भइसकेको छ।
हाल भारतबाट इन्धन भित्रिने मुख्य नाका रक्सौल ठप्प भएकाले उपत्यकालगायत विभिन्न क्षेत्रमा इन्धनको चरम अभाव छ। निगमका अनुसार पेट्रोल र डिजेल सुरक्षा निकाय र अत्यावश्यक नियकालाई मात्रै वितरण गरिने छ। हवाई इन्धनको मौज्दात पनि दयनीय अवस्थामा रहेको निगमको दाबी छ।
हवाई इन्धन सकिनै लागेकाले आन्तरिक उडानका विमानलाई वितरणमा कटौती गर्ने निगमको जनाएको छ। यसअघि आन्तरिक उडानलाई असर नहोस् भनेर निगमले नेपाल वायु सेवा निगमसँग हवाई इन्धन ढुवानीका लागि सहमति गरेको थियो।
वायुसेवा निगमले कोलकाताबाट दैनिक चारवटा कार्गो उडान गरी इन्धन ल्याउने जनाएको थियो। तर, मागअनुसार आयात गर्न नसकेपछि वैकल्पिक रूपमा पेट्रोम्याक्सलाई अनुमति दिइएको छ।
निगमका अनुसार पेट्रोम्याक्सले बंगलादेशबाट इन्धन (हवाई इन्धन) ल्याउने प्रयास गरिरहेको छ। यसका लागि बैंकिङ प्रक्रिया भइरहेको छ। यसअघि पेट्रोम्याक्सले कोलकाताबाट हवाई इन्धन ल्याउने बताइएको थियो। तर, भारतले रुट अनुमति नदिएपछि बंगलादेशबाट प्रयास भइरहेको जनाएको छ। ती कम्पनीबाट पनि इन्धन आउने/नआउनेमा शंका नै छ। निगमका अनुसार बंगलादेशबाट आयात गर्दा कोलकाताको तुलनामा केही महँगो पर्छ।
निगमका अनुसार आन्तरिक उडानका लागि दैनिक ६० हजार लिटर इन्धन आवश्यक पर्छ। तर, निगमसग मौज्दात न्यून छ। वायुसेवाले एक लटमा २२ हजार लिटर आयात गर्दै आएको छ। अहिलेसम्म ५ लाख २५ हजार लिटर हवाई इन्धन आयात गरेको जनाएको छ।
तर, आयातित हवाई इन्धन पर्याप्त नभएको निगमको दाबी छ। निगमले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि प्रबन्ध निर्देशक गोपाल खड्काले सहमतिअनुसार वायुसेवाबाट पनि पर्याप्त मात्रामा ढुवानी हुन नसकेको बताएका थिए। निगमका अनुसार अहिले समस्या समधान गर्न एउटा मात्रै कम्पनीको आयातले पुग्दैन।
एकै दिन २ लाख ९३ हजार लिटर वितरण
नेपाल आयल निगमले सोमबार इन्धन मौज्दात नभएर सर्वसाधरणलाई लाइन नबस्न आह्वान गरे पनि एकै दिनमा २ लाख ९३ हजार इन्धन (डिजेल/पेट्रोल) वितरण गरेको छ।
निगमले अत्यावश्यकबाहेक अन्यलाई इन्धन नदिने जानकारी दिएको भोलिपल्ट निजीसहित सुरक्षा निकायका पेट्रोल पम्पलाई मंगलबार उत्त परिमाणमा इन्धन वितरण गरेको हो। निगमको तथ्यांकअनुसार बुधबार १० वटा पम्पबाट ६९ हजार लिटर पेट्रोल र ४३ पम्पबाट २ लाख २४ हजार लिटर डिजेल वितरण गरिएको छ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सोमबार पत्रकार सम्मेलन गरी विगत पाँच दिनदेखि एक थोपा तेल नआएको भन्दै सुरक्षा निकायबाहेक सर्वसाधारणलाई तेल दिन नसक्ने जानकारी दिएका थिए। उनले झुटो विवरण दिँदै उपभोक्तालाई झुक्याएका थिए। इन्धन अभाव भन्दै निगमले पहुँचको भरमा वितरणको आरोप लाग्ने गरेको छ।
भन्सार विभागका अनुसार आइतबार र सोमबार फाटफुट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन्। इन्धन पूर्ण रूपमा आयात ठप्प भने भएको छैन। न्यून संख्यामा ट्यांकर भित्रने गरेको विभागले जनाएको छ।
प्रकाशित: कार्तिक २५, २०७२


News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/