ब्याक अफ- इन्डिया
वी वान्ट- पीस
रिमूभ- ब्लकेज
रेस्पेक्ट आवर- सोभरेण्टी
डेनमार्कस्थतित भारतीय दूतावास अगाडि शुक्रबार (२० नोभेम्बर) अपरान्ह यस्तो नारा घन्कियो।
देश छिमेकीको अघोषित नाकाबन्दीका कारण समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको बेला विदेशमा बस्ने नेपालीहरुका छाती पनि भत्भति पोलेको छ भन्ने शुक्रबार कोपन्हेगनमा देखियो। भारतीय दूतावास अगाडि भेला भएर नेपालीहरुले नाका खोलिदिन, नेपाली सार्बभौमिकताको सम्मान गर्न, अन्तर्राष्ट्रिय नीति एवम् मानवीय सीमाको ख्याल गर्न भारत सरकारलाई खबरदारी गरे।
नेपाली झन्डा र नाराहरु लेखिएका प्लेकार्ड बोकेर स्थानीय समय अनुसार अपरान्ह १ बजे भारतीय दूतावासको मुलढोका अगाडि पुगेको नेपाली समुदायले पूर्व निर्धारित कार्यक्रम बमोजिम भारतीय अधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्न भने पाएन।
नेपालीहरू भेला भै खबरदारीपूर्ण नाराहरु लगाउन थालेपछि दूतावासको ढोका ढप्काइदिएर दूताबासका कर्मचारी बाहिरै निस्किएनन्।
नेपाली दूतावास, स्थानीय प्रहरी एवम् नगर प्रशाशनबाट समेत सहमति लिएर सो शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र हस्तान्तरणको कार्यक्रम तय भएको थियो।
३ दिन अगाडि नै ज्ञापनपत्र बुझाउने बारे जानकारी दिएको र सोका लागि दूताबास अधिकारीले अधिकारिक रूपमै २ बजेको समय तोकेको भएपनि तोकिएको समयभन्दा केहिबेर ढिलोसम्म कुर्दा पनि ढोका नखोलेको र सम्पर्क पनि हुन नसकेकोमा एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल चकित परे, भने- ‘एपोइण्टमेन्ट लिएर आउँदा पनि हामीलाई गेट बाहिरै कुराए तर हामी हाम्रो आवाज अझै चर्को पार्नेछौं।’ भेट्ने समय दिएर परिसरको ढोका समेत नखोल्ने भारतीय दूतावासको नियत नै नेपाली समुदायद्वारा हस्तान्तरण गर्न लागिएको ज्ञापनपत्र बुझ्न नचाहेको सहभागीहरुले अड्कल लगाए।
‘डेढ घण्टाभन्दा लामो समय गेटबाहिर धर्ना दिएर बिरोध प्रदर्शन गरियो। भारतीय दूतावासले ज्ञापनपत्र बुझ्न अटेर गरेकै छनक देखायो। अन्तत: दूतावासको पत्रमन्जुसामा ज्ञापनपत्रको एक प्रति खसालेर इमेल मार्फत समेत पुन: पठाउने निर्णय गरियो, ’ एक सहभागीले भने ।
भारतीय दूतावास मार्फत भारतीय सरकारलाई दबाब दिन गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आह्वान बमोजिम गैरआवासीय नेपाली संघ, डेनमार्कको अगुवाईमा डेनमार्कमा अवस्थित सम्पूर्ण नेपाली राजनीतिक तथा समाजिक संघसंस्थाको संयुक्त पहलमा भएको सो धर्ना एबम प्रदर्शनमा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति थियो।