मंसिर १४, २०७२- नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सले नेपालले अन्य देशबाट आवश्यक ईन्धन र ग्यास ल्याउने भए आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएकी हुन् । राजदूत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिँदै नेपाल सरकारले हवाई ईन्धनको कारोबारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता उनले औल्याइन् । उनले बंगलादेशले छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुबीचको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताईन ।
उनले रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवासमेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट बंगलादेश निर्यात गर्न २०८ वस्तुमा सून्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास ब्यक्त गरिन ।
सन् १९७१को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभूकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधिसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिइन् ।
From ekantipur.com