Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बिहार चुनाव : मोदीको ‘फ्लप शो’को नेपाललाई पाठ

कार्तिक २४, २०७२- पछिल्लो लोकसभा चुनावमा अरु पार्टीहरुलाई बिहारलगायत भारतभरबाटै झण्डै बढारेको भारतीय जनता पार्टी त्यसको डेढ वर्ष नबित्दै बिहारबाट झण्डै बढारिन पुगेको छ । चुनावी परिणामका तत्काल विश्लेषणहरुमध्ये भारतको एक अनलाइन पोर्टल 'फस्पोस्ट'मा विक्रम बोहराले गरेको टिप्पणी मलाई सबैभन्दा घत पर्‍यो । ‘बिहारमा बीजेपीको हार भारतका लागि जीत होः यसकारण नरेन्द्र मोदी अब झन् बलियो र कडा भएर निस्कनेछन्’ शीर्षक टिप्पणीमा उनी लेख्छन्- पहिलो कुरा त नरेन्द्र मोदीले अब महसुस गर्नेछन् कि सबै कुरा ठीकठाक छैन र अब राजनीतिको साम्प्रदायीक रंगरोगन फिक्का भएर जानेछ । सुखद रुपमा । त्यो हुनै पर्ने थियो । धर्म चुनाव प्रचारको मुद्दा बन्न सक्दैन ।
र अर्को कुरा, भारतीय जनता त्रसित हुन चाहँदैनन् । अब हामीसँग त्यस्ता प्रधानमन्त्री हुनेछन् जो फेरि मानिस बन्ने छन् र अपराजेय रहनेछैनन् । देशका लागि त्यो राम्रो हुनेछ र प्रम मोदीले अतिवादीहरुको होहल्लाकारी भारबाट मुक्त भएर अघि बढ्नु पर्नेछ । मोदी-पूजाका कारण अहिलेसम्म कोलाहलमा हराएका सद्दे आवाजहरु सुन्न अब मोदीलाई कर लाग्नेछ । अब मोदीले प्रश्न गर्नै नमिल्ने ‘आइकन’ भएर हैन कि अगाडि लाग्ने नेता भएर नेतृत्व गर्नेछन् । भारतभर अरु धेरै कोणहरुबाट यो मत परिणामको विश्लेषण भइरहेको छ । खास गरी नरेन्द्र मोदी-अमित शाह जोडीको लिट्मस टेस्ट मानिएका दिल्ली र बिहार प्रदेश सभामा एकपछि अर्को हार व्यहोरेको भाजपाले अबचाहिँ हालसम्मको विभाजन र ध्रुवीकरणको राजनीतिबाट एक कदम पछि हट्ने धेरैको अपेक्षा छ । यो मत परिणामले नेपालका लागि चाहिँ के अर्थ राख्छ त ? नाकाबन्दीबाट रुष्ट धेरै नेपालीहरु अहिले मोदीको हारबाट पुलकित भएका छन् । तर यो मत परिणामलाई नेपाल–भारत सम्बन्धको तत्कालीन उतार–चढावसँग मात्र जोडेर हेर्‍यो भनेचाहिँ यसले दिने अरु महत्वपूर्ण पाठहरु ओझेलमा पर्छन् । त्यसैले भारतीय चुनावको परिणामलाई त्यहींको पृष्ठभूमिसहित विश्लेषण गरेर त्यसबाट सार्थक निश्कर्ष निकाल्नु आवश्यक छ । त्यस्ता निश्कर्षचाहिँ भारतबाहिरका लोकतान्त्रिक मूलुकहरुमा पनि लागू हुन सक्छन् किनकि तिनले मतदाताहरुको मनोविज्ञानबारे धेरै हदसम्म बोल्छन् । विहार चुनावको पहिलो निर्विवाद सन्देश के हो भने लोकतान्त्रिक व्यवस्था जति परिपक्व हुँदै गए पनि चुनाव अघिसम्म अनिर्णित रहने ‘स्वीङ भोटर’हरुको संख्या बढ्दो छ र अक्सरतः मतदाताको यही हिस्सा चुनावी परिणामका लागि निर्णायक हुने गर्छ । यो कुरा नेपाल र पाकिस्तानजस्ता अन्य दक्षिण एशियाली मुलूकका चुनावहरुमा पनि देखिने गरेको छ । जब कुनै राजनीतिक शक्तिले अब मलाई कसैले डग्मगाउन सक्दैन भन्ने दम्भ पाल्छ, मतदाताले त्यसपछिको पहिलो चुनावमै उसलाई ठेगान लगाइदिन्छन् । दोस्रो, कम्तीमा भारतमा पहिचान र जातको राजनीतिलाई विकास र प्रगतिको राजनीतिले विस्थापित गरेको भन्ने निश्कर्ष अपरिपक्व थियो । नरेन्द्र मोदीको उदयसँगै भारतव्यापी रुपमा आएको भनिएको विकास–पक्षीय उभार मिथ्या पक्कै थिएन तर त्यो सदीयौंदेखि कायम जातीय संरचना र दशकौं पुरानो जाति–केन्द्रित राजनीतिलाई चुनौती दिने हदसम्म विकसित भइसकेको थिएन । यो यथार्थचाहिँ चुनावी परिणामपछि मात्र बाहिर आएको हैन । विकासको नारामा लोक सभा चुनाव लडेको बीजेपीको गठबन्धनसमेत बिहारमा अहिलेको चुनाव लड्दा विगतका चुनावहरुमा झैं जातीय भोट ब्यांकहरुलाई लक्षित गरेर लडेको थियो । अर्कोतिर, नीतिश–लालू गठबन्धनको प्रचण्ड बहुमतचाहिँ उनीहरुको जातीय समीकरण ठीक भएका कारण मात्र सम्भव भएको पक्कै थिएन । उक्त गठबन्धनले नीतिश कुमारलाई मुख्यमन्त्रीको दाबेदार बनाएको अवस्थामा विगतका लगातार दुईवटा कार्यकालमा नीतिश कुमारले बिहारको विकासलाई दिएको गति यो जीतको एउटा महत्वपूर्ण आधार थियो । तर नीतिशको भन्दा लालू्को दल ठूलो हुनुले चाहिँ विकासको नारा र जातीय समीकरणको जटिल अन्तर्सम्बन्ध देखाउँछ । सम्बन्धित तेस्रो सन्देशः विभाजन–विग्रह, ध्रुवीकरण र आरोप–प्रत्यारोपलाई चुनावी रणनीतिको रुपमा प्रयोग गर्न सस्तो र सुविधाजनक त हुन्छ तर तिनको प्रतिफल चाहिँ राम्रो हुँदैन । खास गरी मत सर्वेक्षणहरुले पछि परेको देखाएपछि बीजेपीले हार टार्ने प्रयासमा बिहार चुनावमा चलाएको ‘नेगेटिभ क्याम्पेनिङ’ शरीरमा काँडा उमार्ने खालको थियो । दिल्ली नजिकै उत्तर प्रदेशको दादरीमा घरमा गाइको मासू राखेको आरोपमा मोहम्मद इखलाकलाई कुटीकुटी मारिएपछि त भारतभर नै सामाजिक वातावरण विषाक्त बनेको थियो । त्यस्तो अवस्थामा चुलिंदै गरेको ध्रुवीकरणलाई रोक्न मोदी उदासीन हुनुले उनको विकासवादी छविमा नमेटिने धब्बा त लाग्यो नै, हिंसा र असहिष्णुताको पूरै तरंग कतै बीजेपीको चुनावी फाइदाका लागि अपनाइएको रणनीति त हैन भन्ने प्रश्न उठायो । गौहत्यालगायतका विषयमा खूला बहससमेत नहुने र धार्मिक अतिवादीहरुको सामान्य विरोध गर्नेहरु पनि घृणामिश्रित र हिंस्रक प्रतिवादको शिकार हुने त्यस्तो अवस्थामा नागरिकहरुले निसास्सिएको महसुस गर्नु स्वभाविक नै थियो । दशकौंको इतिहास भएका ओजपूर्ण शैक्षिक प्रतिष्ठानहरुमा नेपालमा झैं पार्टीप्रति वफादार अयोग्य मानिसहरु भर्ना गर्ने अभियानले कतै ‘स्याफ्रोनाइजेशन’ भनिने प्रक्रिया सदाका लागि भारतीय जीवनको हिस्सा बन्ने त हैन भन्ने भय सिर्जना गर्‍यो । यही वातावरणमा गोविन्द पान्सरे र एमएम कालबर्गीजस्ता अन्धविश्वास र धार्मिक अतिवादका विरोधीहरु मारिनु, तिनका हत्यारा पत्ता लगाउन राज्य उदासीन हुनु, फरक मत राख्नेहरुलाई हिंसाको धम्की दिने र विरोधीहरुलाई पाकिस्तान जान हाँक दिनेहरुको सुचीमा बीजेपीका वरिष्ठ नेताहरुसमेत थपिंदै जानु, हुँदाहुँदा एक मुख्यमन्त्रीलाई समेत बिफ खाएमा घाँटी रेटेर हत्या गर्ने धम्की कुनै बीजेपी नेताले दिने अवस्था आएपछि भारतमा विग्रह र ध्रुवीकरणको राजनीति चरम सीमामा पुगेको थियो । यो अवस्थामा उक्त पार्टीका कट्टर समर्थक र कार्यकताबाहेक भारतभरका नागरिकहरु बिहारको चुनावमा कुनै पार्टी वा गठबन्धनको जीत भन्दा पनि बीजेपी गठबन्धनको हारका लागि अधीर हुने अवस्था सिर्जना भयो । ठूल्ठूला भ्रष्टाचार काण्डमा रुमल्लिएको काँग्रेसको शासनबाट आजित भएर लोक सभा चुनावमा मोदीको पक्षमा मतदान गरेको ठूलो समुदाय अब उनीबाट टाढिइसकेको छ । भन्नेहरुले यसो भन्न थालेको लामो समय भयो तर दिल्ली र विहारको प्रादेशिक चुनावले यो कुराको पुष्टि गरेको छ । बिहारमा मोदीको हारबाट नेपालका राजनीतिज्ञले के सिक्ने त? एक, गत चुनावमा जित हात परेका ठाउँहरुलाई आफ्नो किल्ला ठान्ने भुल नगर्नु । दुई, होहल्ला र प्रचारवाजीले चुनावमा पक्कै भुमिका खेल्छन् तर तिनको काम गर्ने एउटा सीमा हुन्छ । त्यो सीमा काटेपछि तिनले उल्टो भूमिका खेल्न थाल्छन् । तेस्रो र नेपालका लागि निकै महत्वपूर्ण पाठः विभाजन, विग्रह र ध्रुवीकरणको राजनीति धेरै टिक्दैन । भावनाहरु चुलिएको बेला खास प्रकृतिको ध्रुवीकरणकै कारण मानिसहरु यो वा त्यो कित्तामा लाग्लान् तर त्यस्तो ध्रुवीकरणले दीर्घकालमा पार्ने दुष्प्रभाव देखेपछि मानिसहरु आफैं त्यसबाट पछि हट्न थाल्छन् । त्यसबाहेक यो मत परिणामपछि के आशा गर्न सकिन्छ भने, विक्रम बोहराले आँकलन गरेझैं अब अतिवाद र साम्प्रदायिकताको बाघबाट नरेन्द्र मोदी ओर्लनेछन् । दीर्घकालमा नेपालका लागि सबैभन्दा फाइदा यही कुरामा हुनेछ । दक्षिणको विशाल छिमेकमा सहिष्णुता र सद्भाव कायम हुनुसँग हाम्रो हित पनि जोडिएको छ । यससँगै २०१९ मा हुने आम चुनावका लागि नरेन्द्र मोदीको सबल प्रतिस्पर्धीका रुपमा नीतिश कुमार उदाए भने एक पक्षीय जस्तो देखिएको भारतीय राजनीतिक खेल अब रोमाञ्चक बन्दै जाने देखिन्छ । साम्प्रदायिकताको कार्ड काम नलागेपछि मोदी अब विकासको असली मुद्दामा प्रवेश गर्ने अनि उनी र नीतिशबीच विकासका एजेण्डामा प्रतिस्पर्धा हुने विश्लेषण पनि कतिले गर्न थालेका छन् । तत्काल चाहिँ भारतीय संसदको उपल्लो सभामा बहुमत पुर्‍याउने बीजेपीको प्रयास असफल भएसँगै आर्थिक सुधारका कति एजेण्डा अलपत्र पर्लान् कि भन्ने धेरैको चिन्ता छ । समग्रमा चाहिँ भारतमा मोदी नेतृत्वको बीजेपीले गरेको असहिष्णु र साम्प्रदायीकताको राजनीतिको एक किस्ता प्रष्ट रुपमा असफल भएको छ । धेरैले यसलाई मोदीको ‘फ्लप शो’ पनि भनेका छन् । तर भारतभरका बहुलतावादी नागरिकहरुका लागि चाहिँ यो उल्लेख्य विजय हो । Twitter: @jkshetry जीवन क्षेत्री  South Asia and Beyond नामक ब्लगमा नियमित लेख्छन्।  
News Published on Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/