Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दाहालको प्रस्तावमा सकारात्मक मोर्चा

  • नयाँ शिराबाट विकल्प अघि सारेकाले सहमतिको सम्भावना : ठाकुर
बसन्त बस्नेत, काठमाडौं
मंसिर १, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार–मधेसी मोर्चा र विपक्षी कांग्रेसबीच ‘निर्णायक वार्ता’ तयारीका लागि संवाद थालेका छन् । आइतबारको शीर्ष नेतास्तरीय वार्ताले ठोस गति नलिएपछि उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले अनौपचारिक भेट तीव्र पारेका हुन् ।

सोमबार बिहानदेखि साँझसम्म दाहालले प्रधानमन्त्री केपी ओली, प्रमुख विपक्षी दल कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्र राय यादवलाई छुट्टाछुट्टै भेटे । सत्ता–विपक्षी–आन्दोलनकारीसँगको अनौपचारिक कुराकानीपछि दाहालले बुधबार अपराह्न ४ बजेका लागि ‘निर्णायक वार्ता’ बोलाएका छन् । उच्च स्रोतका अनुसार अबको वार्ताले सीमांकन हेरफेर टुंग्याउने, त्यसका लागि संविधान जारीकर्ता तीन ठूला दल र आन्दोलनकारी मोर्चा दुवै पक्षले लचकता देखाउने जनाइएको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग सोमबार ललितपुरको गोप्य स्थानमा भेटेका दाहालले सीमांकनसम्बन्धी सहमति खोज्ने गरी नयाँ मिलनविन्दु अघि सारेका थिए । दाहालको प्रस्तावअनुसार, हालको प्रदेश नं. २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारू बहुल बस्ती छुटयाएर बाँकीलाई पहाडसँग मिलाउने, झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी दाहाल नेतृत्वकै राजनीतिक समितिमार्फत टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने उल्लेख छ । कान्तिपुरसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले विगतका भेटभन्दा दाहालले सोमबार नयाँ शिराबाट विकल्प अघि सारेकाले सहमतिको सम्भावना रहेको संकेत दिए । ‘मलाई त छठ मनाउन मधेस जानु थियो, तर प्रचण्डजीले मिलनविन्दु खोज्ने प्रयास गर्नुुभएको छ, अब काठमाडौंमै रहनुपर्ला,’ ठाकुरले भने, ‘उहाँको प्रस्ताव हामीसँग निकै नजिक छ । मोर्चाभित्र यसबारे हामी छलफल गर्छौं ।’
विगतको आफ्नै अडानबाट एमाओवादी पछि हटेकाले समस्या थपिएको भन्दै ठाकुरले आलोचना गरेपछि दाहालले अब त्यस्तो नहुने वचन दिएका थिए । प्रधानमन्त्री ओली सीमांकनबारे अहिले पनि पुरानै अडानमा कायम रहेको खुलाउँदै दाहालले जसरी भए पनि सम्झाएर छाड्ने आश्वासनसमेत दिएको ठाकुरले सुनाए । ‘म प्रधानमन्त्रीजीलाई मनाउँछु, अब तपाईं पनि यसमा चाहिँ मानिदिनुस् भन्नुभयो,’ ठाकुरले दाहाल भेट सुनाए, ‘मैले पनि उहाँलाई भनिदिएँ, ‘पहिल्यै यस्तो लचकता देखाएको भए देशमा यत्रो क्षति हुने थिएन । अब आफ्नो प्रस्ट खाकामा अड्नुस् । म त मानिहाल्छु नि ।’
ठाकुरको भनाइबाट मोर्चा मधेसमा दुई प्रदेशको पुरानो अडानबाट केही पछि हट्ने संकेत मिलेको छ । दाहाल प्रस्तावमा तमलोपा र तमसपाले सकारात्मक छनक दिए पनि मोर्चाका अरू दुई दल समाजवादी फोरम र सद्भावनाले आफूहरूलाई मान्य नहुने बताएका छन् । फोरम अध्यक्ष यादवले आफ्नो पुरानो माग मधेसमा एउटै स्वायत्त प्रदेश रहेकामा लचकता देखाएरै दुई प्रदेशको माग राखेको, अब त्यसभन्दा अन्यत्र सम्झौता गर्न नसकिने बताए ।
सद्भावना स्रोतले अरू मुद्दामा लचकता देखाए पनि दुई प्रदेशको अडान यथावत् रहने बताएको छ । दाहालको प्रस्तावलाई शंकास्पद रूपमा लिएको एक पदाधिकारीले बताए । दाहालका स्वकीय सचिव चूडामणि खडकाका अनुसार प्रधानमन्त्री ओली, विपक्षी कांग्रेसदेखि आन्दोलनकारी मोर्चा नेतासम्मका सबै भेटमा सीमांकनसहित प्याकेजमै टुंग्याउने समझदारी निर्माण भएको छ ।
मोर्चा नेताहरूलाई भेटिसकेपछि विपक्षी कांग्रेस नेता पौडेलसँग अपराह्न साढे ४ बजे लाजिम्पाट निवासमै भेटेका दाहालले सहमतिबाट संविधान संशोधन प्रक्रियामा अघि बढिसकेका दुई विषयसहित सीमांकनसमेत टुंग्याउन छलफल गरेका थिए । कांग्रेसले सकारात्मक संकेत दिए पनि सात प्रदेशको सीमांकन तत्कालै हेरफेर भए नयाँ प्रकारको समस्या सिर्जना हुनेमा सचेत गराएको बताइएको छ ।
दाहालले सात प्रदेशभित्रै समझदारी हुने, प्रदेश संख्या घटबढ नहुनेमा कांग्रेसलाई आश्वस्त तुल्याएका छन् । दाहालले सोमबार साँझ सवा ५ बजे मधेसी बुद्धिजीवीसँग समेत भेटेका थिए । साउन ३१ गतेयता जारी मधेस आन्दोलनका कारण अस्तव्यस्त जनजीवन र नाकाबन्दी खोल्नेबारे दाहालसँग छलफल भएको भेटमा सहभागीले जानकारी दिए ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/