Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

ओइरिए दर्शक

भाद्र १४, २०७२- वैशाख दोस्रो साता गएको विनाशकारी भूकम्पको नमिठो धक्का महसुस गरेको स्वदेशी फिल्म उद्योगले त्यसको चार महिनापछि बल्ल राहतको सास फेरेको छ। यतिबेला हलमा प्रदर्शनरत तीन फिल्म ‘होस्टेल रिटन्र्स’, ‘रेशम फिलिली’ र ‘भैरव’ ले उल्लेख्य मात्रामा दर्शक पाएका छन्।
सप्ताहान्तसम्म ‘भैरव’ ले एक करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ भने पुन: प्रदर्शन थालेको ‘रेशम फिलिली’ ले पनि झन्डै ६५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक/निर्माताको दाबी छ। 
‘तीन वटै फिल्ममा दर्शक आएका छन्’ ‘रेशम फिलिली’ का निर्माता माधव वाग्लेले कान्तिपुरसँग भने, ‘हाम्रा लागि यो सुखद अनुभूति हो।’ त्यसो त वैशाख ११ मा रिलिज भएको ‘रेशम फिलिली’ ले प्रदर्शनको दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकेको थियो। ‘दोस्रो पटक रिलिज गर्दा मैले ५० प्रतिशत मात्रै व्यापार गरे पनि सन्तोष मान्ने थिएँ। अहिले त्योभन्दा राम्रो व्यापार पाएको छु,’ माधवले भने। उनका अनुसार काठमाडौंमा १४ र मोफसलमा २० स्क्रिनमा लागिरहेको ‘रेशम फिलिली’ ले शनिबार र आइतबार मात्रै झन्डै २५–२५ लाख रुपैयाँको व्यापार गरेको हो। फिल्मले शुक्रबार देशव्यापी रूपमा १५ लाख रुपैयाँको ओपनिङ कलेक्सन गरेको थियो।

मुम्बई संघर्षपछि ‘भैरव’ मार्फत् स्वदेशी दर्शकमाझ कमब्याक जनाएका नायक निखिल उप्रेती यतिबेला सिंगल स्क्रिन हलमा दर्शक घुइँचोमा हाइहाइ बनेका छन्। ‘खासगरी पहिलेका फिल्म दर्शक अधिक पाएको छु,’ निखिलले भने, ‘मेरा पुराना दर्शकहरू फेरि आएको पाएँ। त्यसबाहेक नयाँ दर्शक पनि उत्तिकै आएका छन्।’ उनले विदेशी फिल्मको टेस्टलाई ‘भैरव’ मार्फत् स्वदेशी दर्शकमा पस्केकैले चलेको हुनसक्ने अनुमान लगाए। भने, ‘मैले प्रस्तुति मात्रै साउथ इन्डियन फिल्मको दिएको हुँ तर कथा त हाम्रो आफ्नै हो।’ दर्शकको फिडब्याकबाट आफू उत्साहित बनेको उनले सुनाए। मधेस आन्दोलन चर्किरहेका बेला मधेस सेरोफेरोकै कथामा बनाइएको ‘भैरव’ मा खासगरी नेतालाई गाली गरिएका कुरा र देशभक्तिको भावनालाई दर्शकले बढि रुचाएको निखिलको अनुभव रहेछ। ‘भैरव’ उपत्यकाबाहिर पोखरा, नारायणगढ, बुटबल र हेटौंडामा रिलिज भए पनि तराई क्षेत्रमा भने भएको छैन। ‘तर ‘भैरव’ को व्यापार राम्रो मात्रै हैन, अति राम्रो छ,’ ‘रेशम फिलिली’ निर्माता माधवले नै भने, ‘‘रेशम फिलिली’ पनि हाउसफुल चलिरहेको छ र ‘भैरव’ पनि। तर ‘भैरव’ हजार सिट क्षमताकोमा हाउसफुल छ भने हाम्रो फिल्म छ सय सिट क्षमताको हलमा।’

दोस्रो सातामा चलिरहेको ‘होस्टेल रिटन्र्स’ ले पनि राम्रो दर्शक बटुलिरहेको छ। भूकम्पपछि सुस्ताएको बजारलाई तताउने जस भने ‘होस्टेल रिटन्र्स’ ले नै पाएको हो। भूकम्पपछि मल्टिप्लेक्समा पनि यतिबेला ‘रेशम फिलिली’ र ‘होस्टेल रिटन्र्स’ ले राम्रो शोज पाएका छन्। यी दुई फिल्मले यतिबेला विदेशी फिल्मलाई झन्डै रिप्लेस गरिदिएका छन् भने ‘भैरव’ सिंगलस्क्रिन हल र राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता हलमा बलियो देखिएको छ।

News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/