Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

घैंटेको सम्पत्ति र सम्पर्क जालो केलाउँदै प्रहरी

काठमाडौं- प्रहरीले कपुरधारास्थित आफ्नै घरअगाडि 'इन्काउन्टर'मा बिहीबार मारिएका कुमार श्रेष्ठ (घैंटे) को हतियार, सहयोगी र सम्पत्तिको खोजी सुरु गरेको छ। घैंटेको कारोबारको जालो र लगानीका क्षेत्रको खोजीमा प्रहरी जुटेको हो।
घैंटेले एक वर्षअगाडि फेसबुकमार्फत सार्वजनिक गरेको पैसाको चाङसहित गलिल प्रकृतिको आधुनिक हतियार र पेस्तोलको तस्बिरलाई आधार बनाएर प्रहरीले घैंटे समूहले प्रयोग गर्ने हतियार खोजी सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा घैंटे समूहले आफ्नो प्रभाव क्षेत्रका विद्यालयमा दबाब दिएर समूहका सदस्यलाई डिसिप्लेन इन्चार्ज राखेको, रकम असुलीका लागि क्षेत्रअनुसार संयोजक तोकेर परिचालन गर्ने गरेको, विद्यालय, निर्माण व्यवसायलगायत क्षेत्रमा लगानी गरेको लगायत सूचना आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

गत असोज २१ मा अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरमा मारिएपछि प्रहरीले उसको सम्पत्ति, लगानी र समूहका अन्य सदस्यबारे अनुसन्धान अगाडि बढाउने बताएको थियो। चरीकी प्रेमिका खुश्बु ओली, एमाले नेता राजेन्द्र पाण्डेलगायतले चरीलाई प्रहरीले जानाजान मारेको भन्दै विरोध गरेपछि महाशाखाका अधिकारीले चरीले अपराधबाट अर्जन गरेको सम्पत्ति र त्यसबाट फाइदा लिइरहेका समूहबारे समेत अनुसन्धान गर्ने दाबी गरेको थियो। तर, सो दाबी कार्यान्वयनमा आएन। प्रारम्भिक अनुसन्धानमा चरीले खरिद गरेको अर्पाटमेन्ट, लगानी रहेको हाइड्रोपावर लगायतको पहिचान भए पनि अनुसन्धानबाट कुनै निचोड निस्किएन।

घैंटे पनि चरीझैँ प्रहरी इन्काउन्टरमा मारिएपछि महाशाखाका अधिकारीले उही शैलीमा आपराधिक गतिविधिबाट जोडेको सम्पत्ति र लगानी क्षेत्रबारे अनुसन्धान गर्ने दाबी गरेका छन्। घैंटे संलग्न रहेको क्षेत्र, समूह, लगानीलगायत सबै पाटोबारे अनुसन्धान सुरु गरिसकेको बताउँदै महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नतिजा नै सार्वजनिक गर्ने दाबी गरे।

'हिजोको घटनासँगै घैँटेसम्बन्धी अनुसन्धान सकिएको छैन,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'टोली नै बनाएर घैंटेको समूहका सदस्य र उनीहरुको संलग्नता, हतियार र सम्पत्तिबारे अनुसन्धान सुरु गरिसकेका छौं, नतिजा ल्याउने गरी काम हुन्छ।'

आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेको सम्पत्ति स्रोतबारे प्रहरीले २०६६ बाटै अनुसन्धान सुरु गर्दा घैंटेको नाममा ५ करोड बढीको सम्पत्ति पहिल्याएको थियो। उनको लगानी रहेको रेस्टुरेन्ट, बालुवाखानी, निर्माण कम्पनीलगायतको पहिचान भएको थियो।

सम्पत्ति शुद्दीकरण विभागको स्थापनासँगै शंकाको घेरामा रहेका १३ जनाको नाम पहिल्याइए पनि गणेश लामा, दीपक गुरुङ (मनाङे), मिलन गुरुङ (चक्रे), कृष्ण बस्नेत (पर्शुराम) र अभिशेक गिरीविरुद्ध मात्रै औपचारिक अनुसन्धान हुँदा घैंटे, चरीसँगै बलराम सापकोटालगायतले अनुसन्धानबाट उन्मुक्ति पाएका थिए।

पछिल्लो समय हङकङ र मलेसियामा लगानीबारे बुझ्न गएका उनले अधिकांश पैसा उतै पुर्यातएको सूचना आएको एक प्रहरी अधिकारी बताउँछन्। हप्ता असुली, गुन्डागर्दीसँगै प्रारम्भमा घैंटे विदेशबाट फोटोकपी मेसिन झिकाएर बिक्री गर्ने काममा समेत सक्रिय थिए। पछिल्लो समय भने गजुरमुखी निर्माण सेवामार्फत निर्माण व्यवसायमा सक्रिय रहेको जानकार स्रोतले बतायो।

'गजुरमुखीमा सेयर रहे पनि प्रहरीले गुन्डाको सम्पत्तिबारे अनुसन्धान सुरु गरेपछि उसले आफ्नो नाम भने राखेको थिएन,' जानकार स्रोतले भन्यो, 'रेस्टुरेन्ट र होटलमा समेत सहयोगीको नाममा लगानी गर्ने गरेको थियो।'

सामाखुसी क्षेत्रको अर्पाटमेन्ट किने पनि घैंटे कपुरधाराको बालकुमारीमार्गको घर नम्बर ९८–२० मा बस्दै आएका थिए। दुईतले टिनको छानाको उक्त घर उनको पुर्ख्यौली सम्पत्ति हो। पछिल्लो समय श्रीमतीसँग डिभोर्स भएपछि उनी छोरीसँग बस्दै आएका थिए।

एसएसपी खनालले घैंटेले दुःख दिएका व्यवसायी प्रहरीको सम्पर्कमा आइरहेको बताए। होटल, निर्माण कम्पनी, वैदेशिक रोजगार सबैतिर उसको प्रभाव देखिएको जानकारी दिँदै उनले सबै पाटोको अनुसन्धान भइरहेको बताए।

'उसको लगानी रहेको क्षेत्र, उसको समुहका सदस्य सबैको पहिचान अहिले हाम्रो प्राथमिकताको विषय हो,' खनालले भने, 'उसको आर्थिक स्रोत र सहयोगी खुलाउन सके अन्यको हकमा समेत अनुसन्धान सहज हुनसक्छ।'

खनालले घैंटेको समाप्तीसँगै उपत्यकाका संगठित अपराध र त्यसका संलग्न हुनसक्नेहरुको निगरानी र अनुगमन नसकिएको दाबीसमेत गरे। विगतको पृष्ठभूमि र व्यवसायीबाट आएको गुनासोका आधारमा महाशाखाले अन्यलाई समेत निगरानीमा राखेको बताए। महाशाखाका एक अधिकारीका अनुसार पृष्ठभूमि र सञ्जालका आधारमा दीपक मनाङे, चक्रे मिलन, गणेश लामा र जेलभित्र रहेका सुजन पौडेल (रमेश बाहुन) र अभिशेक गिरीको गतिविधि नियमित प्रहरी निगरानीमै छन्।

व्यवसायीबाट भक्तपुरका श्यामकृष्ण महर्जन, चक्रपथका तेजेन्द्र गुरुङ, सामाखुसी क्षेत्रका साजन महर्जन र बाघबहादुर लामाबारे गुनासो आएकाले उनीहरुलाई निगरानीमा राखिएको स्रोतले जानकारी दियो।

शव बुझ्न आएन परिवार

प्रहरीले जानजान घैंटेलाई मारेको भन्दै उनका समर्थकले शुक्रबार काठमाडौं क्षेत्र नम्बर ६ बन्द गराए। सो क्षेत्रका सभासद भीमसेनदास प्रधानको सक्रियतामा भएको बन्दमा कांग्रेस सभासद जगदिश्वरनरसिंह केसीसमेत सक्रिय थिए।

बिहीबार उपचारक्रममा शिक्षण अस्पताल महाराजगन्जमा घैंटेको मृत्यु भए पनि शवको पोस्टमार्टम भएको छैन। बिहीबारझैँ नाराबाजी हुने आशंकामा प्रहरी परिचालन बढाइए पनि शुक्रबार अस्पताल क्षेत्रमा उनका समर्थक देखिएनन्।
- See more at: http://nagariknews.com/society/crime/story/43871.html#sthash.RHG3dwyt.dpuf
Ą
https://www.flickr.com/photos/spklg/15211044551/