Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भिभिआइपीसँगको तस्बिर ठगीको अस्त्र

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म उनी सँगै छन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री चित्रलेखा यादव अनि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य सबैसँग उनी उत्तिकै परिचित।
टेकुस्थित सेन्टर इन्भेस्टिगेसन सेक्युरिटी फोर्स प्रालिका सञ्चालक भागचन्द्र महरको कार्यकक्षमा पुग्ने जो कोही कार्यालयको भित्तामा टाँसिएका तस्बिर देखेर छक्कै पर्थे। 
भारतीय प्रधानमन्त्री मोदीसँग रेड कार्पेटमा उनले हात मिलाइरहेको तस्बिरलाई तिनै तस्बिरका लहरमै प्रमुख प्राथमिकता दिएर राखिएको थियो। तस्बिरमा उनी नेपाल भ्रमणमा आएका मोदीलाई विमानस्थलमा स्वागत गरेझैं देखिन्थ्यो।
सुरक्षा गार्ड सेवा दिन खोलिएको उनको कम्पनीको कार्यकक्षसम्म पुग्न आगन्तुकलाई हम्मे हम्मे नै हुन्थ्यो। सुरक्षाकर्मीले माथिल्लो ओहदाकालाई भेट्दा झैं उनको कार्यकक्षमा पुग्ने जो कोहीले पनि तीन पटक खुट्टा बजारेर स्यालुट गर्नुपर्ने उनको कार्यालयको नियमै थियो।

नेपाल प्रहरीका एआइजी राजेन्द्रसिंह भण्डारी, एसएसपी रमेश खरेल, उत्तम कार्की सबैसँग कुममा कुम जोडेका तस्बिरसामु बसेर जब महरले आगन्तुकलाई सहजै अमेरिका र रुस पठाइदिने आश्वासन दिन्थे उनीहरू नपत्याउन् पनि कसरी।

पैसा खर्चिएर जसरी पनि विदेश जाने लालसामा सहयोगी खोज्दै भौतारिएकाहरू जब महरको सम्पर्कमा पुग्थे, कार्यालयको भित्तामा सजिएका तस्बिर देखेर विश्वस्त हुन्थे। आफू बल्ल शक्तिशाली व्यक्तिको सम्पर्कमा पुगेकोमा मक्ख पर्दै उनीहरू सहजै विदेश पुगेको कल्पनामा मग्न भएर महरले मागे अनुसार रकम बुझाएर फर्कन्थे।

तर, वास्तविकता न उनको कार्यकक्षमा देखिएझैं थियो न त उनी कुनै उच्चपदस्थ व्यक्ति नै। ती थिए ठगीमा सक्रिय नटवरलाल जसले विदेश जान रुपैयाँको बिटो बोकेर भेट्न आउनेलाई सहजै विश्वास दिलाउन आफ्नो कार्यकक्ष यस्ता तस्बिरले सजाएका थिए।

चार वर्षदेखि टेकुमा बसेर निर्धक्क ठगीधन्दा चलाएका उनले १५ लाख खर्च गरी एक महिनात्रि सजिलै अमेरिका पठाइदिने भन्दै ४५ लाख असुलेका तीन युवक आफू ठगीएको थाहा पाएपछि जब महानगरीय प्रहरी अपराध महाशाखा पुगे तब महरको ठगीधन्दाको पोल खुल्यो।

महरको प्रलोभनमा परी ४५ लाख रुपैयाँ फसाएका राजेश रोका, थमनबहादुर रोका र दिलिप बुढाथोकीको उजुरीपछि महाशाखाले उनलाई बुधबार टेकुस्थित कार्यालयबाट पक्राउ गरी ठगी मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार ती युवालाई अमेरिका पठाइदिने भन्दै रकम लिए पनि अमेरिका पठाउन चासो नदेखाएपछि उनीहरूले रकम फिर्ता मागे।

महरले पनि सजिलै तीनै जनालाई विभिन्न बैंकको चेक दिए पनि खातामा रकम भने थिएन। उसको व्यवहारमा शंका लागेर तीनै जनाले महाशाखामा उजुरी दिएपछि पक्राउ गरिएको खनालले जानकारी दिए।

'उजुरी आएपछि महरको कार्यालय खानतलासी गर्दा नेपाल र भारतका उच्चपदस्थ व्यक्तिहरुसँग खिचाएका तस्बिरले कोठा भरिएको रहेछ,' खनालले नागरिकसँग भने, 'उसले ती सबै तस्बिरका आधारमा आफू उच्चतहका अधिकारीसँग सम्पर्क रहेको प्रभावशाली व्यक्ति भन्दै प्रभावमा पारी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्यो।'

तस्बिरहरूबारे प्रारम्भिक अनुसन्धानमा महरले रेडकार्पेटमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरिरहेको तस्बिर नक्कली रहेको खुलेको छ। उनले सो तस्बिरमा प्रधानमन्त्री कोइरालाको टाउको हटाएर आफ्नो राखेको खुले पनि अन्य तस्बिर भने सक्कली नै देखिएको एक अधिकारीले जानकारी दिए।

कतै डिटेक्टिभ, कतै सिआइबी अधिकारी

अनुसन्धानस्रोतका अनुसार उनले प्रहरीका उच्चपदस्थ अधिकारीसँग आफ्नो तस्बिर देखाएर प्रहरीमा भएका मुद्दा मिलाइदिने, कसैलाई जोगाइदिने त कसैलाई पक्राउ गरिदिनेसम्मका प्रलोभन दिएर समेत ठगी गर्ने गरेका थिए।

कम्पनी रजिष्टारको कार्यालयमा उनले निजी कम्पनीलाई सुरक्षा गार्ड उपलब्ध गराउने उद्धेश्यले दर्ता गरेको सेन्टर इन्भिेस्टिगेसन सेक्युरिटी फोर्स प्रालिलाई सिआइबीका रुपमा परिचय गराउँथे। उनको साथमा ग्लोबल डिटेक्टिभ ब्युरो नामको भारतीय कार्डसमेत फेला परेको छ। जसमा उनको पद भिजिलेन्स चिफ छ। उनले आफू सुरक्षा संगठनमा समेत काम गर्ने दाबी गर्दा सो कार्ड देखाउने गरेका थिए।

दोहोरो नागरिक

ठगी आरोपमा पक्राउ परेका भागचन्द्रको कार्यालयमा फेला परेको नेपाली नागरिकतामा उनी सुर्खेत,छिन्चु गाविस– २ का स्थायीवासी हुन्। उनको थर महर भए पनि बाबुको नाम भने बलजिते सुनार छ जसको प्रमाण पत्र नम्बर ६८३७४ हो।

उनको कार्यालयमा फेला परेको डिटेक्टिभ ब्युरोको परिचयपत्रमा बाबुको नाम बलबहादुर र ठेगाना चन्डीगढको सेक्टर ३८ डी उल्लेख छ। प्रहरीले उनको साथबाट भारतीय विशिष्ट पहिचान प्राधिकरणको परिचयपत्र समेत फेला पारेको छ। जसमा उनको बाबुको नाम बलबहादुर महर नै उल्लेख छ भने ठेगाना चन्डीगढ, ३८ डी हाउस नम्बर ३४०२ उल्लेख छ।

एसएसपी खनालले उनीबाट ठगिएका र उनको कार्यालयबाट बरामद भएका सबै विषयको अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। 'अहिले हामी उनीबाट ठगिएकाहरूको खोजीमा छौं, उहाँहरू प्रहरीको सम्पर्कमा आए अनुसन्धान सहज हुन्थ्यो,' उनले भने, 'अन्य पाटो पनि अनुसन्धानको दायरामै छ।' 
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/