Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मूलढोका–४ मा एउटा खुसी

मुटुका चार कोठामा नअट्ने ठूलो घाउले भक्कानो त छुटाउँछ, आँखाबाट आँसु भने झर्दैन।
मूलढोका–४, भक्तपुरकी रस्मिला अवाललाई त्यस्तै भइरहेको थियो।
सबै भन्छन् – वैशाख १२ गते ७.६ म्याग्निच्युडको भुइँचालो आयो। त्यो भुइँकम्पन नाप्ने वैज्ञानिक आँकडामात्र थियो। रस्मिलाले त्यस दिन र त्यसपछि जुन कम्पन बेहोर्नुपरेको छ, त्यसलाई कुनै म्याग्निच्युडको आँकडामा गणना गर्न सकिँदैन।
धर्तीले जम्मा ५६ सेकेन्ड आफ्नो गति बिगार्दा रस्मिलाको जिन्दगीभरकै गति बिथोलियो।
त्यो मध्याह्न रस्मिला पसल गएकी थिइन्। उनका पति श्याम पनि काममा हिँडिसकेका थिए।
घरमा जम्मा चार जना नानीहरू थिए– सोनिया, सोनिस, रुबी र लक्ष्मी। दस वर्षीया सोनिया र चार महिनाका सोनिस रस्मिलाका आफ्नै सन्तान हुन् भने रुबी र लक्ष्मी जेठाजुका छोरीहरू।




आमा पसल हिँडेपछि सोनिया टिभी हेर्न थालिन्। छेउमा सोनिस मस्त निदाइरहेका थिए। रुबी र लक्ष्मी पनि आफ्नै तालमा भुलिरहेका थिए। एक्कासि टिभी झल्याकझुलुक हुँदै झिरझिर गर्न थाल्यो। त्यही झिरझिर पनि एकैछिनमा फ्याट्टै निभ्यो। मन पर्ने हिन्दी सिरियल हेर्दाहेर्दै बीचैमा लाइन काटिएपछि सोनिया मुर्मुरिइन्।
त्यतिबेलासम्म धर्ती हल्लिन थालिसकेको थियो। उनी बस्ने माटोको घर किरकिर गर्दै थर्थराइरहेको थियो। तर, न सोनियाले चाल पाइन् न त रुबी र लक्ष्मीले। न सोनिसकै निद्रा टुट्यो।
त्यही बेला बाहिर होहल्ला सुनियो। सोनियाले झ्यालबाट हेरिन्। सबै ‘भुइँचालो आयो' भन्दै भागाभाग गरिरहेका थिए। कक्षा ३ पास भइसकेकी सोनियाले भुइँचालोबारे सुनेकी र पढेकी थिइन्। उनी हड्बडाइन्। उनलाई बल्ल आफ्नो पैतलामुनिको भुइँ सरकसरक सरिरहेजस्तो लाग्न थाल्यो। भित्ताहरू चरकचरक गर्दै फाट्टिन लागेको उनले महसुस गरिन्। काठ कराएको कटटट र दलिन हल्लिएको घटटट आवाजले उनको कानदेखि मुटुसम्मै थर्कायो।
सोनिया मृगझैँ बुर्लुक्क उफ्रिँदै एकैचोटि कोठाबाहिर पुगिन्। काठका साँघुरा भर्याघङ गुर्रर झर्नमात्र आँटेकी थिइन्, उनलाई ‘प्यारो' भाइ सोनिसको ख्याल आयो। पसल जानुअघि आमाले भनेकी थिइन्, – ‘टिभीमा मात्र भुल्ने हैन नि, भाइको पनि ध्यान राख्नू।'
‘हुन्छ ममी,' उनले आश्वस्त पारेकी थिइन्।
भर्‍याङको पहिलो खुट्किलोमा पुगिसकेका उनका पाइला फरक्क पछाडि फर्के। उनले भाइलाई हेरिन्। सोनिस मस्त निदाइरहेकै थिए। शिरको टोपी र पातलो टालोमा लुट्पुटिएका भाइलाई सोनियाले आफ्ना मसिना हातहरूमा जुरुक्क उठाइन्। कोठा झोलुंगाजस्तो हल्लिन थालिसकेको थियो। छेउछाउका दराज घन्डीको रालोजस्तो घरी दायाँ कोल्टे पर्थ्यो घरी बायाँ। इँटा र माटोको भित्ताबाट फुसफुस धुलो झरिरहेको थियो। दलिनबाट पनि बुङबुङ्ती माटोको धुलो उडिरहेको थियो।
भाइ बोकिरहेकी सोनिया यो उथलपुथलमा पाइला चाल्नै सकिरहेकी थिइनन्। उनलाई कसरी हुन्छ आफ्ना भाइलाई धुलोबाट बचाउनु थियो। यही सोचेर उनले भाइलाई छातीमा चपक्क च्यापिन्। धर्ती हल्लाउने सामर्थ्य भएको भुइँचालोलाई एक सानी बालखाले कतिबेर थेग्न सकून्! उनी लड्खडाएर भुइँमा पछारिन खोजिन्। तै जसोतसो अडिरहेकी थिइन्। त्यही बेला अघिदेखि मात लागेजस्तो दायाँबायाँ हल्लिरहेको दराज सोझै सोनियामाथि खप्टिन पुग्यो। यो तोडमा सोनिस दिदीको हातबाट फुस्किए।
अनि कोलाहल। खाली भुइँचालोको आवाज। घटटट, कटटट, चररर।
५६ सेकेन्डको ताण्डवपछि भुइँचालो केही बेर शान्त भयो। पसल गएकी रस्मिला छोराछोरीको चिन्ताले हाँपदाँप गर्दै फर्किन्।
घर माटो भइसकेको थियो।
उनी मौन। निःशब्द।
असीमित पीडामा चीत्कारको पनि आवाज हराउँछ। मुटुका चार कोठामा नअट्ने ठूलो घाउले भक्कानो त छुटाउँछ, आँखाबाट आँसु झर्दैन।

रस्मिला अवाललाई त्यस्तै भयो। उनका गोडा लगलग कामिरहेका थिए। मन अतासिएको थियो। डरले मुटु गाँठो परेर घाँटीसम्म आइपुगेजस्तो भइरहेको थियो। तर, यो अथाह पीडा अभिव्यक्त गर्न शब्द कतै हराएको थियो। आफ्ना छोराछोरीसँगै पुरिएको थियो सायद, त्यहीँ भग्नावशेषभित्र।
छरछिमेकका दाजुभाइ पुरिएका चार बालबालिकाको उद्धार गर्न अघि सरे। माटो मुनिबाट कताकता रोएको मसिनो आवाज सुनिँदै थियो। त्यही आवाज पछ्याउँदै उद्धारमा जुटिरहे सबै। करिब दुई घन्टाको अथक कोसिसपछि माटोमुनि पुरिएको एउटा मानव आकृति भेटियो। सबैले मिलेर खोतलखातल पारे। खुट्टा भेटियो। अझै खोतले। सग्लै जीउ बाहिर आयो।
उनी थिइन्, सोनिया।
टाउको मुनि खुट्टा माथि भएर पुरिएकी उनी दुई घन्टा पछिसम्म होसहवासमै थिइन्। हातगोडामा सामान्य चोटमात्र थिए। उद्धारकर्ताले अलिपछि रुबी र लक्ष्मीलाई पनि फेला पारे। उनीहरूको भने सास थामिइसकेको थियो।
तीन जना फेला परिसक्दा पनि चार महिनाका सोनिसको अत्तोपत्तो थिएन। सबैले माया मारेर रस्मिलालाई सान्त्वना दिन थाले। छोरी सकुशल फेला पर्नु नै ठूलो कुरा हो भन्दै सम्झाए। तर, रस्मिला मौन थिइन्। उनको आँखा सुख्खा थियो। खडेरी परेको जमिनजस्तो कक्रक्क।
राति ९ बजे भुइँचालोले ल्याएको भयानक शून्य चिर्दै मन्द आवाजमा बालक रोएको सुनियो। सबैका कान ठाडा भए। रोएको आवाज त्यही भग्नावशेषबाटै आइरहेको थियो। करोडौं–अर्बौंको भिडमा पनि आफ्नो सन्तानको आवाज खुट्ट्याउने सामर्थ्य हुन्छ आमामा। रस्मिलाले तत्काल चिनिहालिन्, यो आवाज सोनिसकै हो।
राति ७ बजे घटनास्थल आइपुगेको सेनाका उद्धारकर्मीले हौसला बढाउँदै भने – ‘नआत्तिनुस्, बाबुलाई केही भएको छैन। ऊ जहाँ अड्किएको भए पनि ठीक अवस्थामा छ, हामी जसरी पनि निकाल्छौँ।'
यत्ति शब्द मात्रले रस्मिलाको मन बेकाबु भयो। दिउँसोदेखि खडेरी परेका आँखाबाट एक्कासि पानी रसायो।
राति ११ बजेसम्म प्रयास गर्दा पनि उद्धार टोली सोनिस अड्किएको ठाउँसम्म पुग्न सकेन। अँध्यारोले उद्धार जारी राख्न कठिन हुँदै गयो। उनीहरूले भने, ‘अब भोलि ६ बजेबाट फेरि खोज्न थाल्नुपर्छ, अहिले गाह्रो हुन्छ।'
त्यसपछिको एकएक सेकेन्ड एकएक जुगजस्तो बित्यो रस्मिला र श्यामका निम्ति।
भोलिपल्ट सेनाको उद्धार टोली आउनुअघि नै स्थानीय भग्नावशेष हटाउन जुटिसकेका थिए। बच्चा रोएको आवाज सुनिन छाडेको थिएन। त्यो आवाज नै आशाको एउटै त्यान्द्रो थियो जसले त्यहाँ उपस्थित सबै मुटुलाई एउटै गाँठोमा बाँधेको थियो।
उद्धारकर्ताहरू भग्नावशेष जति पन्छाउँदै जान्थे, आवाज उति स्पष्ट हुँदै जान्थ्यो।
भुइँचालो गएको २२ घन्टापछि आइतबार बिहान १० बजेतिर सेनाका कर्णेल दीपक राईले माटोमा पुरिएका सोनिस अवाललाई आफ्ना दुई हातले भग्नावशेषबाट बाहिर निकाले।
सोनियाले आमालाई दिएको बचन खेर गएन। सोनिस ठ्याक्कै त्यस्तै अवस्थामा थिए, जस्तो रस्मिलाले पसल जानुअघि छाडेर गएकी थिइन्। उनको जिउमा टालो बेरिएकै थियो। शिरमा टोपी जस्ताको तस्तै थियो। धुलैधुलोले पुरिएर उनी आँखा झिमझिम गरिरहेका थिए।
कर्णेल राईले सोनिसको टोपी खोलिदिए। जिउको धुलो झारे। ओठमा लागेका माटो हटाइदिए। हल्कासँग फु गरेर आँखाको धुलो उडाइदिए।
सोनिसले पुलुक्क आँखा उघारे। भोक लागेर होला, उनका मसिना औँला मुखतिर बढे।
भुइँचालोको असह्य चोट भोगेको भक्तपुरको मूलढोकामा एउटा खुसी मुसुक्क हाँस्यो।
‘बच्चाको आमा को हो?' कर्णेल राईले भने।
रस्मिला अघि सरिन्।
‘बच्चा एकदमै ठीक छ,' राईले भने, ‘तपाईं दूध खुवाउनुस्, त्यसपछि अस्पताल लैजानुपर्छ जचाउन।'
बाइस घन्टादेखि जमेका रस्मिलाका आँखाबाट साउन–भदौ बर्सन थाले। 
मान्छे दुःखमा रुन्छ, खुसीमा आँसु बगाउँछ!

भुइँचालो गएको दुई सातापछि आइतबार अपराह्न ३:२३ बजे आएको ४.२ म्याग्निच्युडको पराकम्पनलगत्तै म मूलढोका– ४, भक्तपुर पुगेको थिएँ। सूर्यविनायक चोकमा मान्छेको बाक्लो जमघट थियो। भुइँचालोले थर्कमान।
चोकबाट सय मिटर उत्तरपश्चिम भग्नावशेष आडैको पसलमा बसिरहेकी रस्मिलालाई भने त्यो पराकम्पनले छुँदा पनि छोएन। उनी २२ घन्टापछि उद्धार गरिएका चार महिनाका सोनिसलाई काखमा राखेर निश्चिन्त दूध चुसाइरहेकी थिइन्। सोनिस पनि लडीबुडी गर्दै, आमासँग खेल्दै दूध चुस्न मग्न थिए। छेउमा सोनिया आफ्नी आमा र भाइलाई नियालिरहेकी थिइन्।
सोनिसको जन्म २०७१ मंसिर २९ गते भएको हो। आमा रश्मिलाका अनुसार उनको जन्म सामान्य समयभन्दा अगाडि नै भएको थियो। अत्यधिक रक्तस्रावका कारण डाक्टरहरूले नौ महिना पूरा हुनु ३५ दिनअघि नै रस्मिलाको शल्यक्रिया गरेका थिए।
‘निकै ठूलो भाग्य लिएर आएको छ यो,' रस्मिलाले भनिन्, ‘त्यत्रो २२ घन्टा पुरिएर पनि जिउमा अलिअलि घाउ लाग्नेबाहेक केही भएन।'
भूकम्पपछि सयौं पराकम्पन आइसकेका छन् तर रश्मिलाको निम्ति खास पराकम्पन भत्केको घर र छोराछोरीको पढाइको चिन्ता हो। गाडी चलाउने पतिको सामान्य कमाइले कसरी गुजारा गर्ने, कसरी घर बनाउने र छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले उनको मनमा दिनहुँ पराकम्पन ल्याइरहेको छ, जसलाई कुनै म्याग्निच्युडको आँकडाले नाप्न सक्दैन।
यसैपालि चार कक्षा टेकेकी सोनियाको नयाँ किताब, स्कुल ड्रेस र अरू सबै लुगाफाटो त्यही भग्नावशेषमा पुरिएका छन्। स्कुल सुरु भएपछि छोरीलाई कसरी पढ्न पठाउने भन्ने प्रश्नले उनलाई बिथोल्न आइरहन्छ।
‘छोरालाई स्कुल हाल्न त अहिले धेरै समय छ, यो छोरीको पढाइ बर्बाद नहोस्,' रस्मिलाले छेवै बसेकी सोनियाको कपाल मुसार्दै भनिन्, – ‘बस्ने र खाने भनेको जसोतसो चलाइएला, भाडामा बसिएला, मिठोनमिठो खाइएला, यी नानीहरूलाई पढाउनमा कसैले सहयोग गरिदिए ठूलै सहायता हुने थियो।'
चिन्ताको बोझ बोकेर पनि हाँसिरहन्छिन् रस्मिला। भन्छिन्, ‘जे भत्क्यो, ती त फेरि बन्ने चिज न हुन्। नबन्ने चिज त भत्केन नि मेरो।'
उनले काखमा लडीबुडी गरिरहेका सोनिसलाई बेस्कन छातीमा कसिन्। सोनिया लाडिँदै आमालाई अँगाल्न आइन्। रस्मिलाका आँखा रसाइरहेका थिए।
भुइँचालाले आहत भक्तपुरको मूलढोका–४ मा एउटा खुसी मुसुक्क हाँस्यो। 
मुटुका चार कोठामा नअट्ने ठूलो खुसीले घाँटीमा गाँठो पार्छ, आँखाबाट आँसु पनि झार्छ।

nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/