Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बैंकले खाइदियो ग्राहकको पाँच करोड

काठमाडौं-राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगाबाट खसेझैं भए, जब एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब भएको थाहा पाए।

२०७० पुसको घटना हो यो।
खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै बैंकले तुरुन्तै दिने गर्छन्। एचएन्डबी कुलेश्वर शाखा पुगेर खाताको वित्तीय विवरण (स्टेटमेन्ट) मागेका उनलाई बैंकले आलटाल गर्योु। दुई–चार पटक धाउँदा पनि दिएन। उनी बाध्य भएर बैंकको कमलादीस्थित केन्द्रीय कार्यालय पुगे। त्यहाँ पनि 'कहिले अध्यक्ष छैनन् त कहिले सिइओ छैनन्' भन्दै थप १५ दिन झुलाइयो।
'स्टेटमेन्ट लिन अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किन चाहियो?' उनले आक्रोश पोखे।
त्यसपछि बल्लतल्ल माघ १९ मा उनको हातमा स्टेटमेन्ट पर्योइ।
'स्टेटमेन्ट हात परेपछि त म झन्डै बेहोस भएँ,' अग्रवालले त्यसबेलाको घटना सम्झँदै शनिबार नागरिकसँग भने, 'बैंकले बिनाजानकारी मेरो खाताबाट पटक–पटक गरी २ करोड ७८ लाख रुपैयाँ झिकेको रहेछ।'
त्यति मात्र होइन, यहीबीचमा उनले आफ्नो खातामा जम्मा गरेको २ करोड रुपैयाँ पनि खातामा थिएन। त्यसको भौचर भने उनीसँग सुरक्षित थियो।
अग्रवालका अनुसार स्टेटमेन्टमा 'सेल्फ' (आफैं) नामका चेकबाट २०६९ असोज २८ (२०१२ अक्टोबर १४) मा एकै दिन ९ पटक गरी २ करोड २८ लाख रुपैयाँ झिकिएको देखियो। त्यसपछि कात्तिक १७ (नोभेम्बर २) मा दुईपटक छोरा प्रशान्तका नामबाट ५० लाख रुपैयाँ झिकिएको स्टेटमेन्टमा देखियो।
'हामीले २०६९ कात्तिक ३ (२०१२ अक्टोबर १९) मा एक करोड र कात्तिक २७ (नोभेम्बर १२) मा फेरि एक करोड रुपैयाँ जम्मा गरेका थियौं,' अग्रवालले भने, 'बैंकले नगद बुझेर भौचर पनि दियो, पछि स्टेटमेन्ट हेर्दा त्यो दुई करोड हाम्रो खातामा जम्मा नै गरिएको देखिएन।'
स्टेटमेन्ट हेर्दै जाँदा अग्रवाल अझ तीनचित खाए, जब उनको फर्मलाई एचएन्डबी बैंकले बिनाजानकारी १ करोड ५० लाख रुपैयाँ ऋण दिएको देखियो। 'हामीलाई सुइँको समेत नदिई डेढ करोड ऋण दिइएको रहेछ, र त्यसलगत्तै त्यो रकम झिकिसकिएको रहेछ,' उनले भने, 'जब कि हामीले ऋणका लागि निवेदनै दिएका थिएनौं।' उनले बैंकबाट २ करोड ५ लाख रुपैयाँ ऋण मात्र लिएको बताए।
यही आधारमा अग्रवालले सेल्फ र प्रशान्तका नाममा काटिएको चेकको प्रतिलिपि उपलब्ध गराइदिन एचएन्डबीको कुलेश्वर शाखामा गई निवेदन दिन खोजे। बैंक व्यवस्थापनले निवेदन लिनै मानेन। केही सीप नलागेपछि उनी पुगे, नेपाल राष्ट्र बैंक। त्यहाँ पनि उनलाई दुई साता झुलाइयो।
'बल्ल राष्ट्र बैंकको विकास बैंक शाखामा उजुरी दर्ता गरेँ,' अग्रवालले भने, 'त्यहाँ पनि तीन महिना झुलाए।'
यहीबीच राष्ट्र बैंकले एचएन्डबीमा 'गुड फर पेमेन्ट' चेकमार्फत ८४ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भन्दै बैंकको व्यवस्थापन जिम्मा लियो। एचएन्डबीको नयाँ व्यवस्थापनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष अग्रवालको समस्या एक साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको थियो।
तर, समस्या सुल्झनु त परै जाओस्, उल्टो अग्रवालको फर्मलाई कालोसूचीमा राखेको थियो।
'योभन्दा ठूलो अनियमितता के हुन्छ? यसमा एचएन्डबी र राष्ट्र बैंकका अधिकारी दुवैको मिलेमतो रहेको स्पष्ट छ,' अग्रवालले भने, 'कम्पनी कालोसूचीमा परेयता हामीले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्न पाएका छैनौं। हामीलाई नै ठग्ने अनि हामीलाई नै कालोसूचीमा राख्ने? यसमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।'
ठूलो परिमाणको घोटाला भएको सार्वजनिक भएपछि राष्ट्र बैंकले एचएन्डबीको लेखापरीक्षण गरेको थियो। तर, त्यसमा पनि आफूहरूको खाताबाट बेपत्ता बनाइएको रकम र बिनाजानकारी दिइएको ऋणबारे कतै उल्लेख नभएको अग्रवालले बताए।
बिनाजानकारी दिइएको ऋण बैंक व्यवस्थापनले २०६९ कात्तिक ३ (अक्टोबर १९, २०१२) मा दुईपटक गरी प्रशान्तका नाममा १ करोड तथा मंसिर १ (नोभेम्बर १६) मा एकपटक सेल्फ र एकपटक प्रशान्तकै नामबाट ५० लाख चुक्ता गरिएको स्टेटमेन्टमा उल्लेख छ।
त्यसपछि गत जेठमा अग्रवालका छोरा प्रशान्तले एचएन्डबीले ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा, हनुमानढोकामा जाहेरी दिएका थिए। जाहेरीमा एचएन्डबीका अध्यक्ष श्रवणकुमार अग्रवाल, सिइओ जशोदा सैंजु, सञ्चालकहरू रमेश कर्माचार्य, विजयकुमार सरावगी, पुष्पज्योति ढुंगाना, दीपककुमार श्रेष्ठ र राजेशकुमार सरावगीको नाम उल्लेख छ।
लगत्तै प्रहरीले अनुसन्धान सुरु गर्योक। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एचएन्डबी घोटालामा परेको जाहेरीमा उल्लेख भएका मध्ये तीनजनाको मात्र संलग्नता खुलेको छ। तीमध्ये सिइओ सैंजु र सञ्चालक ढुंगाना केही दिनअघि पक्राउ परेका थिए भने एक जना फरार छन्। उजुरीमा उल्लेख भएका बाँकी सबैका बारेमा पनि अनुसन्धान भइरहेको महाशाखाका एक अधिकृतले जानकारी दिए।
एचएन्डबी बैंकको कुलेश्वर शाखामा रहेको अग्रवालको फर्मको खाताबाट २ करोड ७८ लाख झिकिएको र २ करोड लिएर भौचरसमेत दिई खातामा उक्त रकम जम्मा नगरिएको घटना राष्ट्र बैंकले पनि स्विकारेको छ।
'अग्रवालको खाताबाट २ करोड ७८ लाख रुपैयाँ झिकिएको रहेछ। यसमा शाखा प्रबन्धक नीरज नेपाललगायतको संलग्नता देखिएको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले यो प्रकरण छानबिनमै रहेकाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'त्यस्तै २ करोड रुपैयाँ लिएर एचएन्डबीले भौचर दिए पनि अग्रवालको खातामा रकम जम्मा नगरिएको पनि पुष्टि भयो।'
नेपाल अहिले बैंकिङ कसुरमै जेलसजाय काटिरहेका छन्।
ती अधिकारीका अनुसार राष्ट्र बैंकले गरेको एचएन्डबीको लेखापरीक्षणमा अग्रवालको खाताबाट रकम झिकिएको र उनलाई थप ऋण दिइएको उल्लेख छ। 'लेखापरीक्षणमा भए पनि अग्रवालको खातामा पैसा छैन,' उनले भने, 'यो घटनामा एचएन्डबीको व्यवस्थापन चुकेको हो। शाखा प्रबन्धक नेपाल लगायतले चलखेल गर्दा बैंकको आन्तरिक नियन्त्रण प्रणाली 'फेल' हुन पुगेको देखियो।'
ती अधिकारीका अनुसार अग्रवालको खातामा रकम शून्य भएको र एचएन्डबीबाट उनले २ करोड ५ लाख रुपैयाँ ऋण लिएर नतिरेको देखिएपछि उनको फर्मलाई कालोसूचीमा राखिएको हो।
राम्रो ब्याज पाउने र रकम सुरक्षित हुने आशामा जुन बैंकमा रकम जम्मा गरियो, त्यही बैंकले खातावाललाई पत्तै नदिई खाता रित्याइदिन थालेपछि सर्वसाधारणले कसमाथि विश्वास गर्ने?,' अग्रवालले भने, 'बैंक तथा वित्तीय संस्थामा खाता खोलेर रकम जम्मा गर्ने ग्राहक छिनछिनमा सचेत हुनुपर्ने भएको छ।'
More here
Ą
https://www.flickr.com/photos/spklg/15211044551/