Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आईएसविरुद्ध कारबाही घोषणा

न्युयोर्क (बीबीसी), भाद्र २७ - -    इराकमा थप ४ सय ७५ अमेरिकी सैन्य अधिकारी पठाइने
-    सिरियाको राष्ट्रिय गठबन्धनद्वारा ओबामा रणनीतिको स्वागत
-    आईएसको कोषलाई रोक्का गर्ने
-    अमेरिकी संसदसँग ५० करोड अमेरिकी डलर माग
अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बुधबार साँझ राष्ट्रव्यापी टेलिभिजन सम्बोधनमा मुस्लिम कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आईएस) लाई निमिटयान्न पारेर छाड्ने प्रतिवद्धता जनाएका छन् । अमेरिकालाई चुनौती दिने आतंकवादी संगठनले विश्वमा कहीँ पनि संरक्षण नपाउने उनले दृढता व्यक्त गरे ।
उनले इराक र सिरियाको आईएस ठेगानामा आक्रमण गर्ने बताए । परामर्श र तालिम दिन ४ सय ७५ अमेरिकी सैन्य अधिकारी इराक पठाइने ओबामाले जानकारी दिएका छन् । यसपछि इराकमा अमेरिकी सैनिक १ हजार ६ सय पुग्नेछ । सिरियामा आईएसविरुद्ध लडिरहेकेा सेनालाई सहयोग गरिए पनि राष्ट्रपति वसार अल असादको पक्षमा नलाग्ने उनले स्पष्ट पारेका छन् । जनतालाई आतंकित पारेर शासन गर्ने असाद सरकारलाई वैधानिक भन्न नमिल्ने उनले बताए । गत महिना सिरिया सरकारले आईएसविरुद्ध अमेरिकी गठबन्धनलाई सघाउने भनेको थियो । उनले बरु आईएस र असादविरुद्धको सशक्त समूह गठनमा जोड दिएका छन् ।
पश्चिमा समर्थित सिरियाको राष्ट्रिय गठबन्धनले ओबामाको रणनीतिको स्वागत गर्दै यसलाई स्वीकृति दिन तल्लो सदन कंग्रेससँग आग्रह गरेको छ । कुनै पनि हवाई आक्रमण गर्नुअघि अमेरिकाले आफ्नो सरकारसँग समन्वय गर्नुपर्ने सिरिया विदेशमन्त्री वालिद मुअलेमले चेतावनी दिएका छन् । 'यसको उल्लंघनमा भएमा त्यसलाई आक्रमण मानिने छ,' उनले भने । इराक सरकारसँग मिलेर आफ्ना नागरिकलाई बचाउँदै मानवीय अभियानलाई अघि बढाउने ओबामाले भनेका छन् । दू्रत गतिमा सैन्य गतिविधि बढाउँदै आईएसले सिरिया र इराकको ठूलो भूभाग नियन्त्रण गरेको छ । क्रूरता, बलात्कार र हत्याका लागि आईएसका लडाकुहरू कुख्यात भएका छन् । अमेरिकाले उक्त समूहविरुद्ध इराकमा १ सय ५० हवाई आक्रमण गरेको छ । अमेरिकाले इराकी र कुर्दिस सुरक्षा बललाई हतियारसमेत उपलब्ध गराएको छ । अत्यधिक आतंकवादीविरुद्ध प्रयासको क्रममा उक्त समूहको कोष र मध्यपूर्वबाट लडाकुको परवाहलाई कमजोर पार्नु ओबामाको लक्ष्य हो ।
आईएसविरुद्धको युद्धमा अमेरिकाको तल्लो सदन कंग्रेसको स्वीकृतिको स्वागत गरिने उनले बताए । तर, संसदको मञ्जुरीबिना पनि आफूलाई कारबाहीको अधिकार भएको ओबामाले स्पष्ट पारेका छन् । कंग्रेसको विरोधको कारणले गत वर्ष उनले सिरियामा सरकारी बलविरुद्ध हवाई आक्रमणको योजनालाई परित्याग गरेका थिए । सोमालिया र यमनमा जस्तै चालकविहीन विमानबाट आक्रमण गर्ने उनले बताए । उनले अमेरिकी सेना इराक र अफगानिस्तानमा जस्तै गरी थल कारबाहीमा सहभागी नहुने उनले जानकारी दिए । ओबामा नीतिको सार्वजनिकीकरणसँगै आईएसविरुद्ध गठबन्धन तयार गर्न अमेरिकी विदेशमन्त्री जोन केरी साउदी अरबमा इजिप्ट, जोर्डन, इराक, लेबनान र टर्कीका मुख्य नेताहरूसँग भेटै छन् ।
एएफपीका अनुसार ओबामाले संसदलाई सिरियामा लडाकुलाई तालिम दिन तथा हतियार उपलब्ध गराउन तत्कालै अनुमति दिन आग्रह गरेका छन् । उनले सांसदहरूलाई त्यहाँ तालिम अभियान सञ्चालन गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउन पनि अनुरोध गरे । राजनीतिक रूपमा राष्ट्रपति ओबामाले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणको पूर्वसन्ध्यामा उक्त सम्बोधन गरेका हुन् । उनले इराकी राजनीतिज्ञहरूले आईएसलाई नियन्त्रण गर्न एकताको समावेशी सरकार गठन गरेकाले नयाँ रणनीति तयार गर्न सजिलो भएको बताए ।
राष्ट्रपति ओबामाका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले आईएसविरुद्ध नयाँ नीतिलाई स्वागत गरेका छन् । उनीहरूले ओबामाले यस विषयका के गर्ने भनी अनिश्चयमा समय बिताएकोमा आलोचना गरेका छन् । अमेरिकी संसदका सभामुख जोन बोएनरले आफूले इराकी सेना तथा सिरियाली विपक्षीलाई हतियार उपलब्ध गराउने योजनालाई स्वागत गरे पनि यस योजनाको पूर्ण कार्यान्वयनमा वर्षौं लाग्न सक्ने बताए ।
नोभेम्बरमा हुने संसदको कडा निर्वाचनको समयमा केही डेमोक्रयाट सिनेटरहरूले आफूलाई राष्ट्रपति ओबामाको योजनाबाट टाढा राखेका छन् । कोलोराडोको सिनेटर मार्क उडालले अमेरिकी जनतालाई मध्यपूर्वमा अनन्त युद्धमा अमेरिका नजाने भन्नेमा आश्वस्त पार्नुपर्ने बताउँदै यस विषयमा आफूले वर्तमान तथा भविष्यका कुनै पनि राष्ट्रपतिलाई खुला रूपमा समर्थन गर्न नसक्ने बताए ।
अर्कोतिर टर्कीले अमेरिकी नेतृत्वमा रहने गठबन्धनलाई इराक तथा सिरियाका जिहादीमाथि आक्रमण गर्न आफ्नो हवाई केन्द्र उपलब्ध नगराउने र लडाकुविरुद्ध सैनिक कारबाहीमा संलग्न पनि नहुने जानकारी दिएको छ । सरकारका एक अधिकारीले आफ्नो परिचय नदिने सर्तमा टर्की कुनै पनि सैनिक कारबाहीमा संलग्न नभए पनि ऊ मानवीय सहयोगमा भने संलग्न हुने जानकारी दिए । टर्कीले सन् २००३ मा इराकी राष्ट्रपति सद्दाम हुसेनको शासनसँग युद्ध गर्न पनि हवाई केन्द्र उपलब्ध गराउन अस्वीकार गरेको थियो । यसका कारण दुई मुलुकबीच सम्बन्धमा संकट देखा परेको थियो ।
अमेरिकी विमान आक्रमणलाई सहज बनाउन राजधानी जेद्दाहमा केरीले आपसी सहयोग बारेमा छलफल गरिरहेका छन् । तीमध्ये धेरै मुलुकले पहिलादेखि आईएसविरुद्ध कारबाही गरिरहेकै बेला यसलाई अझ प्रभावकारी र केन्दि्रत बनाउन केरीले प्रयास गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । साउदी भूमिका सिरिया विद्रोहीको तालिम र अमेरिकी विमानको क्षमता वृद्धिका लागि ती क्षेत्रका आकाशबाट व्यापक उडान अनुमतिबारे जेद्दाहमा विमर्श हुँदै छ ।
यसैबीच सिरियाली विद्रोही समूह 'द नुस्रा फन्ट' ले नियन्त्रणमा लिएको राष्ट्रसंघका ४५ शान्ति सेनालाई मुक्त गरेको अल जजिराले बिहीबार जनाएको छ । ती शान्ति सेनाहरू फिजीका नागरिक हुन् ।
उनीहरू सिरियाबाट इजरायलको गोलान हाइटतर्फ पुगेको अल जजिरा टेलिभिजन च्यानलले जानकारी दिएको छ । सन् १९७४ मा सिरिया र इजरायलबीच भएको सम्झौता अनुगमनका लागि १ हजार २ सय २३ शान्ति सेना खटिएका थिए । उनीहरू फिजी, भारत, आयरल्यान्ड, नेपाल, नेदरल्यान्ड र फिलिपिन्स गरी ६ मुलुकका छन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/