Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एमालेलाई राजलक्ष्मीको प्रमाण

महेन्द्र गोल्छा ट्रष्टको नाममा करोडौंको राहत र औषधि
सभासद राजलक्ष्मी गोल्छाले पति स्व. महेन्द्र गोल्छा स्मृति प्रतिष्ठानबाट नेकपा एमालेलाई राम्रै सहयोग गरेको तथ्य फेला परेको छ। महाभूकम्पका बेला राहत तथा औषधि उपचारका निम्ति सभासद् गोल्छाले ७/८ करोड खर्च गरेको बताएकी थिइन्।
सभासद् गोल्छाले महाभूकम्पका बेला विभिन्न मितिमा झन्डै पाँच करोड रुपैयाँको राहत सामग्री र औषधि खरिद गरेको प्रमाण भेटिएको छ। उच्च स्रोतबाट सेतोपाटीलाई प्राप्त प्रमाणमा गोल्छा प्रतिष्ठानले जोगबनी भन्सार नाका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ठूलो परिमाणमा सामग्री र औषधि खरिद गरेको देखिएको छ।
मोरङ प्रशासनले जनाएअनुसार महेन्द्र गोल्छा स्मृति प्रतिष्ठानका नाममा अनुमानित पाँच करोडको सामग्री आएको छ। त्यतिबेला विदेशबाट आएको सामग्रीमा भन्सार छुट दिइएको थियो। राहत, औषधि र पुनःनिर्माणमा जुटेको जनवर्गीय संगठनले ठाउँ–ठाउँका भूकम्पपीडितकहाँ पुग्दा एमालेले नाक फुलाएको तर त्यो सामग्री कहाँबाट पुगेको थियो भन्ने चाहिँ नसोचेकोप्रति राजलक्ष्मीको रोष छ।
एमाले तथा नेताहरूका नाममा करोडौं रुपैयाँ दान तथा खर्च गरेको गोल्छाले बताएपछि नेकपा एमालेको सचिवालयले खण्डन गर्दै २५ हजारभन्दा बढी सहयोग नलिएको दाबी गरेको थियो। एमालेले महाभूकम्पको बेलामा राहत तथा पुनःनिर्माणका लागि गठन गरेको थियो। सरकारी सिफारिसमा नेपाल आइपुगेका सामग्री युवा संघले बुझेको गोल्छाले सेतोपाटीलाई बताइन्।
‘मैले पहिले पनि भनेकी थिएँ, भूकम्पको बेला नै ७/८ करोड सहयोग गरेकी छु भनेर,' गोल्छाले भनिन्, ‘युवा संघका उपाध्यक्ष गोविन्द थापा नेतृत्वको समितिमा आयात भएको राहत सामग्री दिएकी हुँ, डाक्टरहरू पनि आफ्नै खर्चमो पठाएकी थिएँ।'

२०७२ वैशाख १२ र १३ गतेको आएको विनाशकारी महाभूकम्पपछि दोस्रापटक गोल्छा प्रतिष्ठानबाट आइपुगेको सामग्री वितरणका लागि वैशाख १८ गते ट्रष्टको तर्फबाट उनै गोल्छाले मोरङ जिल्ला प्रशासनमा चिठी लेखेकी छिन्। उक्त चिठीमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत कहाँ–कहाँ सामग्री पठाउनुपर्ने आफ्नो प्रतिनिधिको रोहवरमा वितरण गराइदिन अनुरोध गरिएको छ।
उक्त पत्रअनुसार औषधि, खानेकुरा, ब्लाङ्केट, कटन, सेनटरी कटन ब्याण्डेज, इन्जेक्सन, ड्राइफुडलगायत आएको देखिन्छ। उक्त सामग्री गोल्छा ट्रष्टले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्पाइस जेटको फ्लाइटबाट आएको देखिन्छ।
गोल्छा प्रतिष्ठान ट्रष्टले महाभूकम्पपछि पहिलोपटक सहायता अर्गनाइजेशन इन्दौर भारतका डाक्टर अनिल भण्डारीमार्फत रानी भन्सार हुँदै ठूलो परिमाणमा औषधि ल्याएको थियो। उक्त औषधि काठमाडौं र भक्तपुरका घाइतेहरूको औषधि उपचारका लागि प्रमुख जिल्ला अधिकारीमार्फत वितरण गरिएको छ।
त्यसैगरी, वैशाख १७ गते नै काठमाडौं र भक्तपुरका भूकम्पपीडितको उपचारका लागि दुई सय ग्रामको दुई सय डब्बा औषधि पठाउन ट्रष्टले प्रशासनमा अनुमति मागेको भेटिएको छ। उक्त औषधि पनि डा. भण्डारीमार्फतै आइपुगेको पत्रमा खुलेको छ।
यस्तै, मिस पूर्णा पटेल मुम्बईबाट प्रतिष्ठानका नाममा ३० बण्डल त्रिपाल राहत आएको भेटिएको छ। डब्लु बी २३बी ट्रकबाट आएको उक्त सामग्री वितरणका लागि ट्रष्टको तर्फबाट गोल्छाले वैशाख २५ गते मोरङ प्रशासनमा वितरणको सिफारिस मागेकी छिन्।
सोही अनुसारले वैशाख २७ गते भन्सार कार्यालय रानीबाट तीस बण्डल त्रिपाल ल्याएको थियो। त्योमध्ये २७ बण्डल काठमाडौं उपत्याकामा भूकम्पपीडितका लागि वितरण गर्न पठाएको छ।  (तस्बिर हेर्नुहोस्)
त्यस्तै, मिस पूर्णा पटेल मुम्बईबाट ट्रष्टको नाममा जोगबनीको बाटो हुँदै आइपुगको सामग्री काभ्रेका भूकम्पपीडितलाई पठाइएको सिफारिस छ। त्यसबेला डिस्पोजेबल बेड सिट ३०० पिस, अल्कोहल स्वाब ५,००० पिस र फेस मास्क २,००० पिस काभ्रे पठाइएको थियो।
‘भूकम्पका बेला कसले कति सहयोग गरेको छ, त्यो हामीलाई राम्ररी थाहा छ,' गोल्छाले भनिन्, ‘सब विवरण हामीसँग छ नि!' आफूलाई जबरजस्ती राजीनामाको दबाब आउँदा त्यत्रो सहयोग गरेको युवा संघ नबोलेकोप्रति पनि राजलक्ष्मीले चित्त दुःखाएकी छिन्।
‘मैले जे जति सामग्री ल्याएँ, गोविन्द थापामार्फत गएको छ,' उनले भनिन्, ‘युवा संघ चाहिँ एमालेको हैन?'
केही दिनअघि उनले पत्रकार सम्मेलनमा महाभूकम्पको बेला दिनको २५ हजारको दरले औषधिमात्र दिने गरेको बताएकी थिइन्। ‘मेरो अडिट रिपोर्टमा यो सब बुझाउनुपर्छ,' उनले भनिन्, ‘एमालेले मलाई हिसाब–किताब दिँदैन।'
सभासद गोल्छाले युवा संघले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएकी थिइन्। ‘कसले कति लग्यो भन्नु मेरो अधिकार हो,' गोल्छाले भनेकी थिइन्, ‘पैसा पार्टीलाई सहयोग गरेकै हो, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकै हो।'
पत्रकार सम्मेलनमा गोल्छाले एमाले बरिष्ठ नेता झलनाथ खनालले पाँच करोड मागेको आरोप लगाएकी थिइन्। एमाले मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सभासद ऋषि पोखरेलले चुनाव जितेपछि गाडी नै मागेको गोल्छाले आरोप लगाइन्।
‘उहाँले ११ लाखजति त लगिसक्नुभएको थियो, चुनाव जितेपछि पनि कति मोटरसाइकल चढ्नु गाडी दिनुस् भन्नुभयो,' गोल्छाले भनिन्, ‘मेरो पर्सनल गाडी कसरी दिनु भन्दिएँ, संसदीय कोषको बजेट पनि उहाँले नै चलाउनुहुन्थ्यो।'
गुन्डागर्दीमार्फत अकुत कमाएको आरोपमा सम्पत्ति शुद्धिकरणमा मुद्दा खेपिरहेका पर्शुराम बस्नेतले पनि युवा संघको कार्यक्रमको नाममा धेरै चलाएको आरोप गोल्छाले लगाएकी थिइन्। युवा संघको कार्यक्रम तथा हिँडडुलको लागि भन्दै पचास हजारका दरले धेरैपटक पैसा लगेको गोल्छाले बताइन्।
युवा संघका उपाध्यक्ष थापाले राजलक्ष्मीबाट भूकम्पका बेला सामान लिएको यसअघि नै स्वीकारेका थिए। एमालेले राजलक्ष्मीमार्फत सहयोग नलिएको विज्ञप्ति निकालेका सचिवालय सचिव प्रदीप ज्ञवालीसँग संवाददाताले ‘भूकम्पको बेला लिएको सहयोग चाहिँ सहयोग हैन?' भनी सोधेको थियो।
जवाफमा ज्ञवालीले भने, ‘भूकम्पको बेला मानवीय तरिकाले सहयोग गरेको हुनसक्छ, त्यसको सबै रेकर्ड छ। त्यो संस्थागत सहयोग हुनुपर्छ। हामीले व्यक्तिगत सहयोगको कुराको खण्डन गरेका हौं।'
Ą
https://www.flickr.com/photos/spklg/15211044551/