Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

उदयपुरमा १६ गतेसम्म सुरक्षा संयन्त्र 'हाई एलर्ट'

उदयपुर–आइतबार विहान गाईघाटको सुरक्षा व्यवस्था अन्य दिनको तुलनामा फरक देखियो । चोकचोकमा कम्व्याक्ट र सुरक्षा कवज (ढाल) सहित नेपाल प्रहरी र सशस्त्रको टुकडी तैनाथ थिए भने बजारका चारैतिरका सडकमा उस्तै बाक्लो सुरक्षा तैनाथी।

झट्ट हेर्दा कर्फ्यु लागेजस्तो देखिए पनि कर्फ्यु आदेश भने थिएन त्यो । थारुहट संघर्ष समिति तथा थारु कल्याणकारीणी सभाको पूर्व घोषित कार्यक्रम अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन आन्दोलनकारी समूह जिल्ला प्रशासन कार्यालय जाने कार्यक्रम भएकाले सुरक्षा व्यवस्था कडाई गरिएको हो।
त्रियुगा नगरपालिका र अन्य विभिन्न ठाउँबाट आएका आन्दोलनकारी गाईघाटको अमूर्त एफएम नजिकै पिपलचोकमा जम्मा भएर ज्ञापनपत्र बुझाउन प्रशासन जान लाग्दा झण्डै आन्दोलनकारीकै संख्याको हाराहारी सुरक्षाकर्मी तैनाथ थिए । कैलालीमा गत ७ गते अञ्चल प्रहरी प्रमुखसहित आठ सुरक्षाकर्मी र एक बालकको अकल्पनीय र हिंसक हत्यापछि निकै चनाखो बन्न पुगेको जिल्ला सुरक्षा समितिले सम्भावित खतराबाट टाढै रहेर शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालनलाई व्यापक बनाएको जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले पुष्टि गरे।
उनका अनुसार गाईघाटमा आइतबार विहानैदेखि लगभग पाँचसय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । तीनसय ६० बढी जनपथ र एकसय ६० सशस्त्र प्रहरी बजारमा परिचालन गरिएको एसपी गुरुङले बताए । जनपथतर्फ डिएसपी सुरेन्द्र गुरुङ तथा इन्स्पेक्टरद्वय डिल्ली चौहान र कमल भट्टराईको छुट्टा छुट्टै कमाण्ड रहेको छ भने सशस्त्रतर्फ इन्सपेक्टरहरुको कमाण्ड रहेको छ । 'आन्दोलनकारी उत्तेजित हुनसक्ने खतराप्रति सचेत हुदै हामीले सुरक्षा परिचालनलाई बढी प्राथमिक्ता दिएका हौं,' कैलाली काण्ड अनपेक्षित र दुःखद् घट्ना भएको भन्दै एसपी गुरुङले भने 'आन्दोलनकारीको मनोविज्ञान कमजोर बनाउन सके उछृङ्खल गतिविधि आफैं नियन्त्रण हुन्छ भन्ठानेर यति गरिएको हो ।'

सुरक्षा समितिले सतर्कता अपनाएजस्तै आन्दोलनकारीको समूह शान्तिपूर्वक आफ्ना विभिन्न मागका नारासहित गाईघाटदेखि पौने किलोमिटर माथि बोक्सेस्थित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र प्रजिअलाई बुझाई गाईघाटस्थित लोकतान्त्रिक चोक झरेर कोणसभामा परिणत भयो । कार्यक्रम अवधिभर कतै उछृङ्खल र अवाञ्छित गतिविधि हुन नपाएको प्रहरीले जनाएको छ ।

सुरक्षा समितिले आउँदो १६ गतेसम्म सुरक्षाकर्मीलाई यस्तै हाई एलर्टमा परिचालन गर्ने जनाएको छ । पूर्व घोषित कार्यक्रम अनुसार १६ गते आन्दोलनकारीको 'बृहत जनप्रदर्शन' गाईघाटमा हुदैछ । त्यसैलाई मध्येनजर गर्दै जिल्लाको सुरक्षा संयन्त्रलाई 'हाई एलर्ट' मा राखिने तयारी भएको सुरक्षा समितिको भनाइ छ । १६ गते गर्ने भनिएको बृहत जनप्रदर्शनको समय नजिकिएकाले जिल्ला सुरक्षा समितिले गाईघाटलाई 'उच्च सतर्कता क्षेत्र' मा राख्ने र्निाय गरेको सुरक्षा समितिका सदस्य समेत रहेका एसपी गुरुङ बताउँछन् ।
देशका बिभिन्न भागमा भईरहेका आन्दोलनमा धेरैतिर अवाञ्छित क्रियाकलाप भएको सार्वजनिक भईरहेका बेला आन्दोलनकारीको 'साईको ट्रिटमेन्ट' का लागि पनि सुरक्षा संयन्त्रलाई एलर्टमा राख्नुपर्ने अवस्था आएको गुरुङले बताए ।
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/