Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तीन जापानीलाई भौतिकशास्त्रमा नोबेल

स्टकहोम (एएफपी), आश्विन २२ - जापानका तीन अनुसन्धाकर्ताहरूले लिड चिम विकास गरेबापत मंगलबार भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने घोषणा भएको छ। उनीहरूको अनुसन्धानले पृथ्वीको तापक्रम बढ्न नदिने तथा गरिबीमा बाँचेको जनतालाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
उनीहरू इशामु आकासाकी, हिरोसी अमानो तथा हाल अमेरिकी नागरिक तथा क्यालिफोर्नियामा बसोबास गर्ने सुजी नाकामुरा हुन्। नोबेल पुरस्कार समितिले यस वर्षको विजेताले नयाँ ऊर्जा प्रभावकारी तथा वातावरणमैत्री प्रकाशको स्रोत पत्ता लगाएको जनाएको छ। उनीहरूको विकासलाई नीलो प्रकाश प्रदायक डायड -लाइट इमिटिङ डायड (लिड) भनिन्छ।
समितिले उनीहरूको खोज क्रान्तिकारी भएको, २०औं शताब्दीलाई अधिक चम्किलो हलुको चिमले प्रकाश दिएको र २१औं शताब्दीलाई लिड चिमले प्रकाश दिने उल्लेख गरेको छ। ती अनुसन्धानकर्ताहरूले सन् १९९० को दशकमा अर्धसुचालकबाट चम्किलो नीलो किरण उत्पादन गरेको र यसले प्रकाशजन्य प्रविधिलाई परिवर्तन गरिदिएको निर्णायक समितिले जानकारी दिएको छ।
रातो तथा हरियो डायड निकै अगाडि विकास भएको तर नीलो प्रकाश नभईकन सेतो चीन असम्भव भएको बताइएको छ।
नीलो लिडको विकासलाई चुनौती दिइएको र यो तीन दशकसम्म कायम रहेको बताइएको छ। निणर्ायक समितिले अनुसन्धानकर्ताहरूले अरूले असफलता प्राप्त गरेको स्थानमा सफलता प्राप्त गरेको भनेको छ।
समितिले लिड चिमको विकासले प्रकाशको पुरानो स्रोतले भन्दा बढी दीर्घकालीन तथा बढी प्रभावकारी विकल्प प्रदान गरेको उल्लेख गरेको छ। लिड चिमले चम्किलो सेतो प्रकाश प्रदान गर्छ। यो थोमस एडिसनले १९ औं शताब्दीमा पत्ता लगाएको निकै चम्किलो हलुको चिमले खर्च गर्ने ऊर्जाभन्दा निकै कम ऊर्जामा दसौं हजार घन्टा प्रकाश प्रदान गर्छ।
हालसम्म विकास गरिएको लिड चिमले सामान्य हलुका चिमले भन्दा २० गुणा कम विद्युत् खर्च गर्छ। यसको कार्यसम्पादनमा पनि निरन्तर रूपमा सुधार भइरहेको छ। विश्वमा उत्पादन हुने एक चौथाइ विद्युत् प्रकाश उत्पादन गर्न प्रयोग हुन्छ। धेरै मुलुकमा सरकारले जैविक इन्धनबाट अनावश्यक ताप उत्पन्न हुन नदिन लिड चिम प्रयोग गर्न प्रयास गरिरहेका छन्। त्यसो त जैविक इन्धनलाई ऊर्जा उत्पादन गर्न बाल्ने गरिन्छ।
लिड चिमलाई निकै कम विद्युत् आवश्यक पर्ने भएकाले स्थानीय सौर्य शक्तिबाट पनि लिड बाल्न सकिन्छ। यसले विद्युतीय सञ्जालमा नआएका एक अर्ब ५० करोड जनतालाई फाइदा दिन सक्छ। निर्णायक समितिले लिडको विकास भएको २० वर्ष भए पनि यसले नयाँ तरिकाले सेतो प्रकाश उत्पादन गर्न निकै सहयोग गरेको र यसले सबैलाई फाइदा दिएको उल्लेख गरेको छ।
नोबेल पुरस्कारका अन्य विजेताभन्दा फरक रूपमा नाकामुरालाई जापानको एउटा सानो कम्पनी निचिया केमिकल्सले नोकरीमा लगाएको थियो। उनले सोहिसमयमा यो अनुसन्धान गरेका थिए। नोबेल समितिले उनलाई टेलिफोनमा सम्पर्क गर्दा यो विश्वासै गर्न नसकिने घटना भएको धारणा राखे।
यो नयाँ अनुसन्धान गर्दा अकाशाकी अमानोसँगै नागोया विश्वविद्यालयमा काम गर्थे। अकाशाकीको जन्म सन् १९२९ मा भएको हो। उनी हाल नागोयाको मेइजो विश्वविद्यालयमा प्राध्यापक हुन। अमानो सन् १९६० मा जन्मेका हुन्। उनी नागोया विश्वविद्यालयमा प्राध्यापक हुन्।
नाकामुराको जन्म १९५४ मा जापानमा भएको हो। हाल उनी अमेरिकी नागरिक हुन्। उनी सान्ता बारबरास्थित क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन्। विजेताहरूले ८० लाख स्विडिस क्रोनर -११ लाख अमेरिकी डलर वा ८ लाख ८३ हजार युरो) बाँडेर लिनेछन्।
परम्पराअनुसार सन् १८९६ मा यस पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको देहावसान भएको दिन डिसेम्बर १० मा स्टकहोममा एक औपचारिक समारोहमा उनीहरूले यो विशेष पुरस्कार प्राप्त गर्नेछन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/